नारायण भण्डारी
पाल्पा । उता राजा शाहजहाँले रानी मुमताजको शव राख्न ताजमहल बनाए, यता बडाहाकिम खड्ग शमशेरले तेजकुमारीको समर्पणमा रानीमहल बनाए । उता यादगार इमारत, यता पत्नी वियोगको धर्मवास । यता कृष्णगण्डकीको पवित्र स्पर्श, उता जमुनाको जलीय सुन्दरताको लावण्य । यता परब्रह्मशरणम्को भाव, उता स्मृतिको निशानी । यता भक्तिनीको वास उता प्रेमको प्रसिद्धि । यता नदीको उत्तरवाहिनीसँगको निर्माण, उता कलाकृतिको नमुना । यता महादेवको पूजा, तटको तीर्थाटन उता विश्व पर्यटनको आश्चर्यचकित नजर ।
पाल्पाको रानीमहल शान्त एकान्त,वनखण्डको नीरव कुञ्जजस्तो,कालीगण्डकीको सुसाइ सुन्ने शीतलपाटी, प्राज्ञहरुको पनि पाठशाला । कल्पवासको उपवन । लोकप्रियता खोजेको भए यो महल राम्दीमा बन्थ्यो होला, रिडीमा बन्थ्यो होला, पायक पर्ने ठाउँमा बन्थ्यो । यो सुनसानमा किन ? वैकुण्ठे भीरको भित्तामा किन,बराङ्दीको बगरमा किन ?कालीगण्डकी उत्तरवाहिनी भएको यो उत्तमक्षेत्र,उत्थानको बाटो पण्डितहरुको सल्लाहबमोजिम भूमि चयन गरी रानीमहल बनाइएको महलकै अभिलेखमा उल्लेख छ ।
महलबाट नदीमा गएर स्नान गर्नका लागि सुरक्षित घाट बनाइएको छ । यो रानीघाटका नामले जगत्प्रसिद्ध छ । कालीको जलमै जग हालेर बनाइएको स्थापत्य ।
यहाँ प्रेमीप्रेमिका आऊन्,रमाऊन् रात बिताऊन्,पाल्पालीले कमाऊन्,बजार बढाऊन्
स्थानीय तहले यसलाई चलाऊन् भन्ने संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री रवीन्द्र अधिकारीको मन्त्रणा छ । तर यो मात्र रानीमहलको महत्ता होइन् । यो त समर्पणको स्मारक हो । गण्डकीसँग गाँसिएको गयागृह हो । नेपाली संस्कृतिको संस्थापना हो । हेर्दा यसको भित्तामा नव शास्त्रीय शैली छ तर यसको उद्देश्य आँखा अर्कै छ । विश्वले देखेकोभन्दा बेग्लै विपश्यना छ ।
बुद्धजन्मस्थल लुम्बिनीको खोजीमा सरिक खड्गशमशेरमा सौन्दर्यसेवनको मात्र शोख थिएन पूर्वीय दर्शन र ज्ञानको गण्डकी पनि बगेको थियो । रानी भन्दैमा रिसानी हुने भए रानीपोखरी, रानीवन, रानीकोट,रानीपौवा, रानीगिठो, रानीचरी, रानीबारी, रानीमासु जस्ता शब्द कहाँ थन्क्याउने ? रानी त उत्कृष्ट लक्षणपुञ्जको पात्र । यहाँको संरचना समृद्ध देखिन्छ ।
श्रेष्ठ सृजना । तर समृद्धिमा संस्कृति हुँदैन मात्र गरीबी,कन्तवियोग, जीर्ण जीउ रुग्णकुटी भोकोनाङ्गो अवस्थामा नेपाली संस्कृति देखिन्छ भन्नु भूल हुनेछ । हाम्रो सभ्यता भव्यताबाटै जन्मेको हो । प्रशस्तिबाटै बाँचेको हो । हर द्वार प्रदानका लागि उघारिएका छन् । हर पहिरन पूर्ण छन् । अभाव र कमजोरी पूर्वको शैली होइन् । हैमसभ्यता पुगीसरीको धुरी र गजुरले बनेको हो । त्यस्तै रानीमहल पनि ।
बरु आज यसलाई कमाइको ताजमहल बनाउने योजना गरिंदैछ । कालीगण्डकी करिडोर बनेपछि यहाँ पर्यटकको ओइरो लाग्नेछ । त्यति खेर यसले थेग्ला नथेग्ला यो आफ्नै रुप र आदर्शमा रहन पाउला नपाउला विचारणीय छ । प्रत्येक पदार्थको दर्शन हुन्छ , निर्माणको पनि अर्थ हुन्छ । यो बुझ्न यसका अवयवको अवलोकन गर्नुछ, त्यसलाई आत्मसात् गर्नुछ । सतहका स्वरमा सत्य नहुन पनि सक्छ गमन गरेरै गम्भीरतापूर्वक यथार्थ ग्रहण गर्नुछ । यो एउटा पर्यटकीय गन्तव्य अवश्य हो तर गहन दृष्टिका साथ ।
रानीमहल त मेलाको मञ्चभन्दा प्राज्ञिक छलफलको ठेगान बन्नुछ । अध्ययन अनुसन्धानको आवासीय प्रशान्त गन्तव्य बन्नुछ । विचारणीय मुद्दा फुकाउने मुकाम बन्नुछ ।
कविको काव्य कविलास बन्नुछ । बजार त जहाँ चलाए पनि हुन्छ तर विचारको टुसो उम्रिन यस्तै जलघाट,वायुवेग,हिमालको शीतली अवतरण, चरीको गान,गण्डकीको सुसाइ,नदीसंगम,कृष्णाको शालग्रामी प्रवाह,उत्तरापन्थी जलयात्राको संयोगमा सम्भव छ ।
गण्डकीको गमन महाकवि कालिदासको काव्यकोण जस्तो । यस स्थानमा अलि माथिल्लो काम गरौं दामकामको दृष्टिका लागि मात्र त दुनिया जता पनि खुलै छ । जसरी पनि जे देखाएर पनि केवल दाम खोज्नु अन्तःकरणको दारिद्रय हो । सभ्यताको भव्य भवनमा दामका लागि दुलो नपारौं ।