सुशील खड्का सुर्खेत । कर्णाली प्रदेश सरकारले जेठ २५ गते ल्याएको आर्थिक वर्ष ०७५/७६ को नीति तथा कार्यक्रम बहुमतले पारित भएको छ । प्रदेशसभाको बुधबारको बैठकमा मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले ‘प्रदेश सरकारको नीति तथा कार्यक्रम पारित गरियोस्’ भनी राखेको प्रस्तावलाई ध्वनी मतले पारित गरेको हो ।
उक्त प्रस्तावमा कांगे्रसका ६ सांसदले विपक्षमा मतदान गरेका छन् । सरकारका तर्फबाट प्रदेश प्रमुख दुर्गाकेशर खनालले शनिबार प्रदेश सभामा प्रस्तुत गरेका थिए । नीति तथा कार्यक्रम माथि तीन दिनसम्म छलफल चलेको थियो ।
छलफलको अन्तिम दिन सांसदहरु करविर शाही, अमृता शाही, कुर्मराज शाही, मिनासिं रखाल, चन्द्रबहादुर शाही, दानसिं परियार, यज्ञबहादुर वीसी र झोवा लामा विकले नीति तथा कार्यक्रममाथि टिप्पणी गरेका थिए । उनीहरुले सरकारले सपना ठूला देखेको तर कार्यान्वय हुन कठिन हुने धारणा राखेका थिए ।
सांसदहरुले उठाएका प्रश्न तथा जिज्ञासाको जवाफ मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले दिएका थिए । सरकार आफ्नो प्राथमिकतादेखि विचलित नभएर प्रदेशकै विकास लागि कार्यान्वयमुखी नीति तथा कार्यक्रम ल्याएको प्रष्ट पारे । ‘सरकार आफ्नो प्रमुख प्राथमिकताबारे प्रष्ट छ, बजेट विनियोजन पनि नीति तथा कार्यक्रम अनुसारै आउ“छ’ मुख्यमन्त्रीले, ‘केही छुटेका कार्यक्रमहरु बजेटमा समावेश गरिनेछ ।’ सरकारले आगामी वर्षलाई कानुन निर्माण, सम्भाव्यता अध्ययन–अनुसन्धान र योजना निर्माणमै केन्द्रित भएर नीति तथा कार्यक्रम ल्याएको उनले जानकारी दिए । कुनै पनि क्षेत्रको डिपिआर बिना बजेट लगानी गर्दा दिगोपनामा समस्या हुने भन्दै उनले ‘प्लानिङ’मा विशेष जोड दिएर कार्यक्रम ल्याएको उल्लेख गरे ।
सरकारले ल्याएको नीति तथा कार्यक्रममा पूर्वाधार विकासतर्फ सडक, उर्जा, पर्यटन र कृषि क्षेत्रलाई मुख्य प्राथमिकतामा राखेको छ । नीति तथा कार्यक्रम प्रदेश विकासको मार्गचित्र भएको बताएका शाहीले भने, ‘कर्णालीलाई कस्तो बनाउने भन्ने सपना देखेका हौं, रेल–सुरुङमार्गका सपना असम्भव होइनन् ।’ सम्भाव्यता अध्ययन गर्ने भनिएकै विषयलाई ‘हावादारी’ भनी टिप्पणी गर्नु विकासविरोधी मानसिकता मुख्यमन्त्री शाहीको टिप्पणि गरे ।
सरकारले असम्भव नभई पुरा गर्न सक्ने कामको मात्रै सपना देखेको जिकिर शाहीको छ । प्रदेशको स्रोत–साधनले मात्र कर्णालीको सपना पुरा नहुने भन्दै उनले संघीय सरकारसंग अनुदान, वैदेशिक ऋण–सहायता लिएरै विकासका सपना पुरा गर्ने विश्वास व्यक्त गरे ।