पाल्पा । पाल्पा हुमिनमा भएको बस दुर्घटनाको १३ औं दिनमा दीप प्रज्ज्वलनसहित शोक सभा आयोजना गरिएको छ ।
जेष्ठ १८ गते पाल्पाको हुमिनमा भएको बस दुर्घटनामा परी मृत्यु भएकाहरूको चिरशान्तिको कामना र घाइतेहरूको स्वास्थ्य लाभको कामना गर्दै नेप्लीज ब्रदर्श रुम एनबीआर, स्वतन्त्र पत्रकार संघ पाल्पा, साहित्य तथा स्वाथ्य प्रतिष्ठान पाल्पा र वमन्स रुम रिलोडेड डब्लुआरआरको संयुक्त संयोजनामा बिहिबार साँझ तानसेनको सित्तलपाटीमा दिपप्रज्वलनसहित शोकसभा भएको हो ।
शोकसभालाई सम्बोधन गर्दै साहित्य तथा स्वास्थ्य प्रतिष्ठान पाल्पाका अध्यक्ष पुष्करराज रेग्मीले दिवगंत आत्माको चिरशान्तिको कामना सहित घाइतेहरूको शिघ्र स्वास्थ्य लाभको कामना गरे । ‘यो शोक समग्र पाल्पाको हो । हामी दुःखको यस घडीमा सवै मृतकका आफन्त सहित सवै पाल्पालीहरूले मृतआत्माको चिरशान्तिको कामना गर्दछौं ।’ रेग्मीले दुर्घटनामा मृत्युभएका व्यक्तिहरूको संक्षिप्त परिचयसहित दुर्घटनामा मृत्युभएका सहकारी अगुवाहरूको योगदानको चर्चा गरेका थिए ।
हुमिन दुर्घटनाकै दिन एनविआरको टोलीले घटनास्थलमा पुगेर उद्दार गरेका थिए । सामाजिक समूह एनविआर समूहले विभिन्न समय रक्तदान, दैवी प्रकोपमा राहत तथा उद्दार, शिक्षा, स्वास्थ्य र सचेतनाको कार्यक्रम क्रियाशिल रहँदै आएको छ । वमन्स रिलोडेडे समूहले पनि सामाजिक सचेतना र महिला अधिकार तथा सामाजिक कार्यक्रमहरूमा सक्रियताका साथ कार्यक्रम गर्दै आएको छ । यस्तै स्वतन्त्र पत्रकार संघ, साहित्य र स्वाथ्य प्रतिष्ठान पाल्पाले शिक्षा, स्वास्थ्य, सचेतना र सामाजिक क्षेत्रमा निरन्तर कार्यक्रम गर्दै आएका छन ।
तानसेन सित्तलपाटीमा भएको शोकसभामा जिल्लास्थित विभिन्न संघ संस्थाका प्रतिनिधिहरूसहितको बाक्लो उपस्थिति रहेको थियो ।