-दीपेन्द्र लामा
सुरुमै भनिहालौं, बलिउडका हल्काफुल्का फिल्म हेर्न मरिहत्ते गर्दिनँ । झन् यो सिक्वेल वा प्रिक्वेलका रुपमा बनिने फिल्ममा खासै रुचि जाग्दैन । सलमान खानका डाई हार्ड फ्यान पनि परिनँ । न त उनका विरोधी नै परेँ । शाहरुख खान र आमिर खानका कोहीकोही फ्यानहरुले सलमानको खैरो खन्ने गरेको सुन्दै आएको छु । त्यहीभएर सुरुमै कुरा प्रष्ट पारिदिएको हुँ ।
‘रेस’ फिल्म सिरिजको पहिलो शृंखला सन् २००८ मा र दोस्रो शृंखला सन् २०१३ मा रिलिज भएका थिए । मैले दुवै हेर्न पाएको छैन । अथवा भनौं, ती दुई भाइ फिल्मले मलाई खासै आकर्षित गर्न सकेनन् । त्यसैले शुक्रबार रिलिज भएको ‘रेस ३’का बारेमा लेख्दै गर्दा मैले अघिल्ला दुईसँग तुलना गर्ने सवालै भएन ।
बलिउडका ‘हेभी वेट’ प्रोजेक्टहरुले काठमाडौंका सिनेमाघरमा त्यति नै आतंक मच्चाउँछन्, जति आतंक काठमाडौंका साँघुरा सडकमा ४०० सिसिभन्दा हेभी इन्जिनका मोटरसाइकलले मच्चाउँछ । बलिउडका ‘हेभी बाइक’को आगमन हुँदा विचरा नेपाली फिल्म उद्योगका ‘मोपेड’हरुको विचल्ली नै हुन्छ ।
‘रेस ३’ आउनासाथ धर्मरधर्मर गरिरहेका केही नेपाली फिल्महरु सिनेमाघरबाट पखालिन पुगेका छन् ।
नेपाली फिल्मको स्थिति यस्तो दयनीय छ । धेरैलाई यो कुरा नौलो नलाग्न पनि सक्छ । किनभने बलिउडको ग्ल्यामरका अगाडि नेपाली फिल्मको ग्ल्यामर फिक्का नै छ । यो तीतो सत्य सबैले स्विकार्नैपर्छ ।
अब लागौं फिल्म ‘रेस ३’तिर नै । मैले सन् २०१६ को ‘सुल्तान’पछि सलमानको फिल्म हेरेको यही नै हो । बीचमा आएका दुई फिल्म ‘ट्युबलाइट’ र ‘टाइगर जिन्दा है’ अझै पनि हेर्न जाँगर चलेको छैन ।
एक्सन तब मज्जा आउँछ, जब त्यसमा मुटु हल्लाउने स्टन्ट वा थ्रिल हुन्छ । ‘रेस ३’ यो पक्षमा पनि चुकेको छ । सलमान दुईपटक ‘विङ सुट’ लगाएर अग्ला भवन र भीरबाट उड्छन् । तर, त्यो कहालिलाग्दो छैन । त्यसले कुनै रोमान्च पैदा गर्दैन ।
अरुलाई के लाग्छ कुन्नि, मलाई चाहिँ सलमानको जुन इनर्जी र रमाइलो एटिच्युड छ, त्यसको भरपूर डोज भएको अन्तिम फिल्म सन् २०१० को ‘दबंग’ नै हो । त्यसपछि उनमा बुढ्यौली र थकान निरन्तर बढिरहेको पाएको छु ।
‘रेस ३’मा सलमानको थकानको कुरै नगरौं । उनी भित्रभित्रै थाकेर लखतरान देखिन्छन् । अनुहारमा मुस्कान पनि जबरजस्ती ल्याउन खोजेको देखिन्छ । उमेर पनि ५३ पुगिसक्यो । त्यस्तो नदेखियोस् पनि किन ?
सलमानका फ्यानहरुको चित्त दुख्ला । तैपनि म लेख्छु, उनको ज्यान निकै भद्दा भइसकेको छ । कोटप्यान्टमा उनी ठिकै देखिन्छन् । टिसर्ट र जिन्स लगाउँदा उनलाई ‘लङ सट’मा खिचियो भने साह्रै नै भद्दा देखिन थालेछ । उनको शरीर यति भद्दा छ कि, उनलाई हिँड्न पनि सकस भइरहेको महसुस हुन्छ ।
यसअघि ‘फाल्तु’, ‘एबिसिडी’ सिरिज र ‘अ फ्लाइङ जट’जस्ता औसत फिल्म निर्देशन गरेका रेमो डि–सुजाले ‘रेस ३’को क्याप्टेनसिप सम्हालेका छन् । उनले ‘रेस’ सिरिजका अघिल्ला निर्देशक अब्बास–मस्तानलाई प्रतिस्थापित गरेका हुन् ।
‘रेस ३’मा पनि मुख्य पात्र अनिल कपुर (शमशेर) नै छन्, अघिल्ला दुई सिरिजमा जस्तै । आफ्ना दाजुभाइको सम्पति हडप्ने दाउपेच नै ‘रेस ३’को कथा हो । यो एक्सन फिल्म हो । फेमिली ड्रामा र सस्पेन्स पनि मिसिएको छ । मसालेदार खिचडी फिल्म हेर्न खोज्नेहरुले यसमा रोमान्सको अभाव झेल्नुपर्नेछ । सलमान र ज्याक्वेलिन फर्नान्डिजको रोमान्स त छ, तर डोज पुग्दैन ।
एक्सन तब मज्जा आउँछ, जब त्यसमा मुटु हल्लाउने स्टन्ट वा थ्रिल हुन्छ । ‘रेस ३’ यो पक्षमा पनि चुकेको छ । सलमान दुईपटक ‘विङ सुट’ लगाएर अग्ला भवन र भीरबाट उड्छन् । तर, त्यो कहालिलाग्दो छैन । त्यसले कुनै रोमान्च पैदा गर्दैन ।
सलमानका फ्यानहरुको चित्त दुख्ला । तैपनि म लेख्छु, उनको ज्यान निकै भद्दा भइसकेको छ । कोटप्यान्टमा उनी ठिकै देखिन्छन् । टिसर्ट र जिन्स लगाउँदा उनलाई ‘लङ सट’मा खिचियो भने साह्रै नै भद्दा देखिन थालेछ । उनको शरीर यति भद्दा छ कि, उनलाई हिँड्न पनि सकस भइरहेको महसुस हुन्छ ।
कथालाई जुलेबी घुमाएझैं घुमाइएको छ । एउटा ट्विस्ट स्थापित नहुँदै अर्को ट्विस्ट आइसक्छ । ट्विस्टपछि ट्विस्ट आउनाले फिल्मको कथा आवश्यकताभन्दा बढी नाटकीय र सतही बन्न पुगेको छ । कथाप्रति विश्वास नै जाग्दैन, पात्रप्रति सहानुभूति पनि पलाउँदैन ।
यसको गीतसंगीत र कोरियोग्राफी पनि कामचलाउ छन् । दिमागमा गहिरो छाप कुनै पनि गीतले छाड्दैन । कोरियोग्राफीमा नयाँपन छैन ।
दुई घन्टा ४० मिनेट लामो ‘रेस ३’ एउटा औसत फिल्म हो । फिल्मभित्रकै एउटा डाइलगलाई हल्का परिमार्जन गर्दै यो समीक्षा यही अन्त्य गर्छु । ‘रेस ३’ त्यस्तो धावक हो, जो एक्लै दौडिए पनि पहिलो हुन सक्दैन ।
फिल्म ‘रेस ३’ले भारतमा पनि खराब समीक्षा बटुलिरहेको छ । भारतका प्रतिष्ठित मिडियाहरुमा फिल्मले निकै दयनीय रेटिङ पाएको छ । सबैजसो समीक्षकले सलमानका फ्यानकाे अपेक्षालार्इ समेत याे फिल्मले न्याय दिन नसक्ने निष्कर्ष दिएका छन् । सलमानको अभिनयले पनि खासै तारिफ पाएको छैन ।
मिड डे, रेटिङः १/५सोनिल डेढियाले लेखेका छन्, पछिसम्म पनि फिल्म स्कुलमा पढाइनेछ यो ‘रेस ३’ । कसरी एउटा राम्रो झुर फिल्म बनाउन सकिन्छ भन्ने पढाउनुपर्यो भने यही फिल्मबारे पढाइनेछ ।सलमान खानको अभिनयलाई उनले डेडप्यान एक्सप्रेसनको संज्ञा दिएका छन् । अर्थात्, बिल्कुलै भावशुन्य । बरु उनले अनिल कपुर र बबि देवलको कामलाई तारिफ गरेका छन् ।
इन्डियन एक्सप्रेस, रेटिङः १.५/५कार चेजिङ, विष्फोट र पहलमान कलाकारहरुको स्लो मोसन तथा चालु संवादबाहेक रेस ३ मा केही पनि छैन । पुरानै ढर्राका पात्रहरु छन् । उनीहरुका संवादमा पनि कुनै रवाफ छैन । शुभ्र गुप्ताको समीक्षामा लेखिएको छ, सलमानले फिल्मलाई धानेका छन् । तर, उनीबाट फ्यानहरुको अपेक्षा पूरा हुने देखिँदैन ।
हिन्दुस्तान टाइम्स, रेटिङः १/५रोहित भाट्सले लेखेको समीक्षाको शीर्षक नै छ, सलमानको खल्लो फिल्ममा कुनै दम छैन । फिल्म कतैबाट पनि तर्कसंगत लाग्दैन । पटकथा फितलो छ । यो फिल्म बनाउनेले सोचेको देखिन्छ कि, जो सलमानका फ्यान होइन, उसले यो फिल्मबारे टाउको नै नदुखाओस् ।‘खराब फिल्ममेकिङले गर्दा फिल्मको १६० मिनेट झेल्न निकै सास्ती हुन्छ । फिल्म हेर्नुभन्दा घरमा बसेर इद मनाउनु ठिक हुनेछ,’ रोहितले लेखेका छन् ।
कोइमोइ डटकम, रेटिङः २/५फिल्मको एक्सन कोरियोग्राफी राम्रो छ । तर, अल्छीलाग्दो एडिटिङ, जबरजस्ती लादिएका गीतहरु र फिल्मको नाम ‘रेस ३’ राख्नुको कारण सम्झिँदा फिल्म नराम्रो लाग्छ ।निर्देशक रेमो डि–सुजाले भुलेका छन् कि, चिल्ला कार र एक्सन कोरियोग्राफीमात्र फिल्म होइन । अघिल्ला ‘रेस’हरुमा घतलाग्दा कथा थिए । तर, यसमा कथा नै छैन भन्दा हुन्छ । यसको कथा हाई हाउने खालको लम्बेतान तन्किएको छ ।
टाइम्स अफ इन्डिया, रेटिङः २.५/५पातलो कथामा लार्जर द्यान लाइफ लाग्ने भिजुअल छन् । आगो र धुँवा भरमार छन् । तर, तिनमा वास्तविक बाफ चाहिँ छैन । कथा र कलाकारको पर्फर्मेन्स दुवैमा दम छैन ।आलिशान क्यानभास र भव्य लोकेसनमा फिल्म खिचिएको छ । तर, त्यसले दर्शकलाई समात्न सकेको छैन । समीक्षक रचित गुप्ताले अगाडि लेखेका छन्, ‘फिल्ममा सस्पेन्सको कुनै फिलिङ छैन र एउटा मसलादार फिल्मले जति मनोरञ्जन दिनुपर्ने हो, त्यति यो ‘रेस ३’ले दिँदैन ।’