पुष्पराज अधिकारीहेटौंडा । तीन नम्बर प्रदेश सरकारले मकवानपुरको पर्यटकीय क्षेत्र दामनलाई चालु वर्ष २०७५ लाई “घुम्न जाउँ दामन” वर्षको रूपमा मनाईने भएको छ ।
प्रदेश सरकारको तर्फबाट शुक्रबार संसदमा बजेट प्रस्तुत गर्दै आर्थिक मामिला तथा योजना मन्त्री कैलाश ढुङ्गेलले पर्यटन प्रवद्र्धनका लागि २०७५ लाई “घुम्न जाउँ दामन” वर्षको रूपमा मनाउने बताउनुभएको हो । जसका लागि सरकारले त्रिभुवन राजपथलाई “पर्यटन मार्ग” का रूपमा विकास गर्न यस क्षेत्रमा पर्ने सिमभञ्ज्याङ, दामन, पालुङ, लगायतका स्थानमा विविध पर्यटकीय गतिविधि सञ्चालन गरिने उल्लेख गरिएको छ । सम्भाव्य स्थानहरूमा होमस्टे, रिसोर्ट एवं होटलहरूको विकास गर्न आवश्यक प्रकृयाको थालनी गरिने बजेटमा भनिएको छ ।
यस्तै सरकारले पर्यटन प्रवर्द्धनका लागि प्रदेशका एक दर्जन पर्यटीय स्थलामा हिल स्टेशन निर्माण गर्ने जनाएको छ । आर्थिक मन्त्री ढुङ्गेलले प्रस्तुत गर्नुभएको बजेटमा मकवानपुरको दामन, चित्लाङ, मुडे, हेलम्बु, जिरी, रुवी भ्याली, सोम्दाङ, कालेश्वर, शिवालय रामेछाप, चिम्टेश्वर, ककनी, सिन्धुलीगढी जस्ता पर्यटकीय स्थलहरुलाई हिल स्टेशनका रूपमा घोषणा गर्दै ती स्थानमा पूर्वाधार निर्माणको कार्य अगाडि बढाउने उल्लेख गरिएको छ ।
हिल स्टेशनका रूपमा घोषणा गरिने स्थलहरूमा “एक हिल स्टेशन, एक वन वगैंचा”, “एक हिल स्टेशन, एक विश्राम तथा मनोरन्जन घर” एवं “एक हिल स्टेशन, एक भ्यू टावर” निर्माणका लागि आवश्यक बजेट विनियोजन गरेको उल्लेख छ ।बजेटमा प्रदेश गौरवका आयोजना अन्तर्गत हेटौंडादेखि काठमाण्डौं जोड्ने सडकको दुरी कम गर्न पोष्ट बहादुर बोगटी (भीमफेदी–कुलेखानी) सुरुङमार्ग निर्माण गरिने उल्लेख गरिएको छ । सुरुङ मार्गको सम्भाव्यता अध्ययन तथा डिपिआरका लागि आवश्यक रकम विनियोजन गरिएको बजेटमा उल्लेख छ । सरकारले अन्य जिल्लामा समेत सुरुङमार्ग निर्माण गर्ने जनाएको छ ।
नुवाकोटको गणेस्थान–वेत्रावती सुरुङ मार्गको सम्भाव्यता अध्ययन तथा डिपिआरका लागि आवश्यक रकम विनियोजन गरिएको छ । प्रदेश गौरवको आयोजना अन्र्गत प्रदेशका सबै जिल्ला छुनेगरी चक्रपथ निर्माण गरिने भएको छ । रामेछाप, दोलखा, सिन्धुपाल्चोक, नुवाकोट, धादिङ, चितवन, मकवानपुर, सिन्धुली र काभ्रेपलान्चोक जोड्ने पुष्पलाल प्रदेश चक्रपथको सम्भाव्यता अध्ययनको लागि आवश्यक रकम विनियोजन गरेको छ ।प्रदेशका महत्वपूर्ण योजनाहरु निर्माणको लागि परियोजना बैंक स्थापना गरिने भएको छ । प्रदेशका महत्वपूर्ण एकस बढी पूर्वाधारजन्य योजनाको विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) तयार गरी परियोजना बैंकमा राखिने बजेटमा उल्लेख छ ।
राष्ट्रिय व्यक्तित्वको जन्मस्थान पहिचान एवं संरक्षण कार्यक्रम अन्र्तगत रामेछाप डाँडामा तीन लाल (गंगालाल, पुष्पलाल र कृष्णलाल) को र सिन्धुलीको दुम्जामा बिपी कोईरालाको शालिक सहितको स्मृति पार्क निर्माण गरिने पनि बजेटमा उल्लेख छ ।