काठमाडौं । नेपालमा राणा शासन सुरु गर्ने जंगबहादुरबारे थुप्रै किम्बदन्ती छन् । एउटा किम्बदन्ती तामाङ समुदायमा पनि छ । जंगबहादुर कसरी जार बने । र, उनी कसरी काटिए भन्ने उक्त कथा शनिबार काठमाडौंको शिल्पी थियटरमा मञ्चन गरियो ।
फूलमान वलले लेखेको र सोनाम लामा मोक्तानको निर्देशन रहेको नाटक ‘सोनाम ग्याल्मो’मा जंगबहादुरको मृत्यु कसरी भयो भन्ने चाहिँ खुलाइएको छैन । तर, अर्काकी पत्नीलार्इ अाँखा गाड्न पुग्दा जंगबहादुर काटिएकाे प्रसंग नाटकमा छ । त्यही चोटकै कारण केही दिनपछि जंगबहादुरको मृत्यु भएको किम्बदन्ती छ ।
नेपाल संगीत–नाट्य प्रज्ञा प्रतिष्ठान र सेलो फाउन्डेसनको आयोजनामा भइरहेको सेलो नाट्य महोत्सवको पहिलो दिन ‘सोनाम ग्याल्मो’ मञ्चन गरिएको हो । सर्लाहीको पत्थरघट्टा क्षेत्रका सोनाम र ग्याल्मो नामक तामाङ युवकयुवतीको विवाहबाट नाटक सुरु हुन्छ । विवाहमा बेहुला र बेहुली राखेर चारदाम (वैवाहिक जीवनको कसम खुवाउने विधि) गर्दै नाटक फ्लासब्याकमा जान्छ ।
त्यसपछि त्यही ठाउँमा जंगबहादुर शिकार खेल्न आइपुग्छ । भर्खरै बिहे गरेकी ग्याल्मो जंगबहादुरको नजरमा पर्छ । उसलाई हरण गरेर आफ्नो क्याम्पमा ल्याउँछ । त्यसपछि सोनामको छटपटी र संघर्षजस्तै नाटक अघि बढ्छ । जंगबहादुरले नै बनाएको ‘जार काट्ने कानुन’ सोनामलाई सम्झना आउँछ । र, उसले त्यही कानुनमा अल्मल्याई जंगबहादुरलाई काट्छ ।
तामाङ संस्कृतिले भरिएको नाटकमा सोनाम लामा, शान्ति वाइबा, फूलकुमार बम्जन, सुसन लामा, चाँदनी लामा, निकिता वाइबा, निशा पाख्रिन, मातृका घिमिरे, मनोज तामाङ, सन्तोष तामाङ (बोन्बो), सन्जीव राई, देविन चौधरी, विजय टुबा, सुनिल तामाङ, साजन लामा लगायतले अभिनय गरेका छन् ।
सोमबारसम्म चल्ने तीनदिने ‘सेलो नाट्य महोत्सव’को उद्घाटन पूर्वसंस्कृति तथा पर्यटनमन्त्री आनन्द पोखरेलले गरे । महोत्सवमा अतिथिहरुलाई डम्फुरे र ताम्बा (संस्कृतिविद्)हरुले गीत गाउँदै थिएटर भित्र्याएका थिए । आगन्तुकहरुलाई ग्रामीण तामाङ परम्परा अनुसार टोटलाको फूलको टिका लगाएर स्वागत गरिएको थियो । शिल्पी थिएटर परिसर तामाङ मौलिकतासहित दज्र्युले सजाइएको थियो ।
महोत्सवमा मौलिक तामाङ खानेकुरा गेङ, आलुम, खाप्से, फापर गेङ, गन्डु थोङसे, आईराक (तीन पाने रक्सी) लगायत पनि राखिएको छ ।
महोत्सवमा पाँच नाटक र दुई कार्यपत्र प्रस्तुत गरिनेछ । भाषाविद् अमृत योन्जनले आइतबार कार्यपत्र प्रस्तुत गर्ने कार्यक्रम छ भने धादिङ जिल्लाको तामाङ समुदायमा प्रचलित ‘ताचेमा’ लोकनाटक र वसन्त चौधरीको कविता ‘ङाला फ्रेङबा धोङला टा’को मञ्चन गरिने बताइएको छ ।
नेपाल संगीतनाट्य प्रज्ञा प्रतिष्ठानका कुलपति सरुभक्त श्रेष्ठले तामाङ समुदायको रंगमञ्च उत्थानका लागि महोत्सवले सघाउने बताए । पूर्वमन्त्री सूर्यमान दोङ, पूर्वराजदुत डा. गणेश योन्जन र प्रज्ञा प्रतिष्ठानका रंगमञ्च विभाग प्रमुख पुष्कर गुरुङले महोत्सवलाई शुभकामना दिए ।