-दीपेन्द्र लामा
चार दिनदेखि एउटा बंगाली गीतको भिडियोले फेसबुकमा बहस सिर्जना गरिरहेको छ । ‘रंगेर मानुस रंगिला रे’ बोलको उक्त गीत नेपाली फिल्म ‘दर्पणछायाँ’को ‘जिन्दगानी दर्पणछायाँ’ गीतसँग हुबहु मिल्छ ।
गीतकार राजेन्द्र थापा, फिल्म निर्देशक प्रकाश सायमीलगायतले यो विषयमा जिज्ञासा व्यक्त गरेका छन् । आखिर कसरी मिल्न गयो यो गीत ? सबैको प्रश्न यही छ ।
कसैकसैले चाहिँ चोरी गर्ने को हो भन्ने खालको प्रश्न पनि उठाएका छन् । ‘दर्पणछायाँ’का रणजीत गजमेरले चोरी गरे कि, बंगाली संगीतकारले चोरी गरे ? यो खुल्दुली मेटाउन केहीले बंगाली गीतको मिति पनि खोजेछन् । तर, कसैले पनि तथ्य पत्ता लगाउन सकेका छैनन् । त्यसैले होला हङकङका मित्र रबिन बान्तवा राईले यसबारे खोजबिन गर्न मलाई सुझाए ।
‘दर्पणछायाँ’का रणजीत गजमेरले चोरी गरे कि, बंगाली संगीतकारले चोरी गरे ?
सुरुमा मैले गुगल र युट्युबमै कुनै तथ्य भेटिन्छ कि भनेर खोज्न थालेँ । उक्त बंगाली गीत बंगलादेशी फिल्म ‘प्रनेर मानुस’को रहेछ । युट्युबमा फिल्म पनि भर्खरै अप्रिल ३० मा अपलोड गरिएको पाएँ । फिल्म हेरियो । ‘दर्पणछायाँ’सँग कथामात्र होइन, संवाद र खिचाइसमेत मेल खाँदोरहेछ ।
‘दर्पणछायाँ’मा जस्तै दुईजना साथीले एउटै युवतीलाई प्रेम गर्ने कथा ‘प्रनेर मानुस’मा छ । दुई साथीमध्ये एक चाहिँ दृष्टिविहीन हुन्छ ‘दर्पणछायाँ’मा जस्तै । र अन्त्यमा युवतीको रोगका कारण मृत्यु हुन्छ । दुवै फिल्मको लम्बाई लगभग साढे दुई घन्टाको छ ।
विदेशी फिल्मबाट नक्कल गरेर नेपाली फिल्म बनाउनु नौलो घटना होइन । कतै निर्देशक तुलसी घिमिरेले पनि ‘दर्पणछायाँ’ पनि ‘प्रनेर मानुस’बाट नक्कल गरेका हुन् कि ? तर, विगतमा ‘दर्पणछायाँ’लाई हिन्दी फिल्म ‘अखियों के झरोखे से’को नक्कल भनिन्थ्यो, जुन पुष्टि हुँदैन ।
दर्पणछायाँ’मा जस्तै दुईजना साथीले एउटै युवतीलाई प्रेम गर्ने कथा ‘प्रनेर मानुस’मा छ । दुई साथीमध्ये एक चाहिँ दृष्टिविहीन हुन्छ ‘दर्पणछायाँ’मा जस्तै । र अन्त्यमा युवतीको रोगका कारण मृत्यु हुन्छ । दुवै फिल्मको लम्बाई लगभग साढे दुई घन्टाको छ ।
नेपाली फिल्म ‘दर्पणछायाँ’ लगभग सन् २००० को अन्त्यतिर रिलिज भएको हो । त्यसैले धेरैले ‘प्रनेर मानुस’को रिलिज मिति पत्ता लगाउन प्रयास गरेको देखिन्छ, कसले कसको नक्कल गरेको हो भन्ने द्विविधा मेटाउन । तर कसैले पनि ‘प्रनेर मानुस’को रिलिज वा निर्माण मिति पत्ता लगाएको देखिँदैन ।
विकिपेडिया वा आईएमडिबीजस्ता साइटमा पनि यो ‘प्रनेर मानुस’बारे कुनै विवरण उल्लेख पाइँदैन । अमजद होसेनद्वारा निर्देशित फिल्ममा शकिब खान र शबनुरले मुख्य नायकनायिकाको भूमिका निर्वाह गरेका छन् । निर्देशक होसेनका बारेमा पनि गुगलले कुनै लिंक भेटाउन सक्दैन ।
शबनुरको फिल्मोग्राफी खोलेर हेर्दा ‘प्रनेर मानुस’को अत्तोपत्तो छैन । शकिब खानको फिल्मोग्राफीमा चाहिँ यो फिल्मको नाम भेटिन्छ । विकिपेडियामा रहेको शकिबको पेजमा उल्लेख भए अनुसार यो सन् २००३ सालमा रिलिज भएको हो ।
तर, विकिपेडियाको विवरण त्यति भरपर्दो हुँदैन । त्यसैले ‘प्रनेर मानुस’लाई फेरि युट्युबमा हेरियो । त्यसको सुरुवातमै सेन्सर सर्टिफिकेट राखिएको रहेछ । त्यहाँ पनि फिल्मको निर्माण वर्ष बंगाली अंकमा २००३ नै लेखिएको रहेछ । झट्ट हेर्दा २००७ जस्तो देखिए पनि बंगालीमा २००३ हो त्यो ।
‘दर्पणछायाँ’भन्दा तीन वर्षपछि रिलिज भएको रहेछ ‘प्रनेर मानुस’ । यो कुरा प्रष्ट हुनेबित्तिकै मलाई एउटा पुरानो कुरा याद आयो । नेपालमा ‘दर्पणछायाँ’ सुपरहिट भएपछि निर्देशक तुलसी घिमिरेले कतै भनेजस्तो लाग्छ, हामीले यसको रिमेक राइट्स पनि बेचेका छौं ।
सायद ‘प्रनेर मानुस’ नै ‘दर्पणछायाँ’को अफिसियल रिमेक हो कि ? बंगलादेशी फिल्म निर्माताले बिना अनुमति ‘दर्पणछायाँ’को नक्कल गरेको पनि हुनसक्छ । यसबारे बुझ्न खोज्दा तुलसी घिमिरेलाई सम्पर्क गर्न सकिएन । सायद उनी कालिम्पोङतिर छन् ।
जेहोस्, ‘प्रनेर मानुस’को नक्कल ‘दर्पणछायाँ’ होइन भन्ने कुरामा चाहिँ म ढुक्क भएको छु । विगतमा पनि नेपालको सुपरहिट फिल्म ‘साइनो’लाई हिन्दी भाषामा रिमेक गरिएको थियो । नेपालमा ‘साइनो’ रिलिज भएको चार वर्षपछि सन् १९९२ मा भारतमा ‘बन्धु’ नाममा यसको रिमेक बनाइएको थियो । हिन्दी भर्सन पनि नेपाली ‘साइनो’कै निर्देशक उगेन छोपेलले निर्देशन गरेका थिए भने मुख्य कलाकार डेनी डेन्जोङ्पा थिए । ‘बन्धु’मा बलिउडका निर्माता रोमेश शर्माको लगानी थियो । रोमेसले त्यतिबेला भर्खरै अमिताभ बच्चनको फिल्म ‘हम’मा लगानी गरेका थिए ।
‘प्रनेर मानुस’ र ‘दर्पणछायाँ’मध्ये कलात्मक हिसाबले कुन चाहिँ बढी राम्रो होला ? जान्न इच्छुक हुनुहुन्छ भने बंगाली फिल्म हेर्नुस् । लिंक यहाँ दिइएको छ ।
https://www.youtube.com/watch?time_continue=8588&v=7Ub56QLSVC0अब तुलसी घिमिरे निर्देशित नेपाली दर्पणछायाँ पनि हेर्नुहोस् ।https://www.youtube.com/watch?v=FP_LZNNaDDI