काठमाडौं । आज जून २१ तारिख अर्थात् विश्व संगीत दिवस । नेपालमा पनि बिहिबार विभिन्न .कार्यक्रम गरी विश्व संगीत दिवस मनाइदैछ । मानिसको जीवनमा संगीतको निकै महत्व छ । संगीतले जीवनमा पार्ने सकारात्मक प्रभावको चर्चा तथा स्मरण गर्दै विश्व संगीत दिवस मनाइन्छ ।
विश्व संगीत दिवसको अवसरमा काठमाडौंमा बिहिबार सांगीतिक उडान नामक भव्य कार्यक्रम हुँदैछ । उडान नेपाल सांगीतिक संघ, सांस्कृतिक संस्थान नेपाल, नेपाल संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठान, नेपाल प्रतिलिपी अधिकारको रजिष्ट्रारको कार्यालय, नेपाल पर्यटन बोर्ड र साधना कला केन्द्रको संयुक्त आयोजनामा गर्न लागिएको हो । उडान राष्ट्रिय नाचघरमा दिउँसो १ बजदेखि शुरु हुँदैछ ।
कार्यक्रममा संगीतकर्मीहरुलाई सम्मान तथा बौद्धिक सम्पति तथा प्रतिलिपी अधिकार सम्बन्धी जानकारी दिइने आयोजकले जनाएका छन् । साथमा वरिष्ठ, प्रसिद्ध तथा नव कलाकारहरुको उत्कृष्ट वाद्यवादन, गीत गायन तथा नृत्यहरु प्रस्तुत गरिनेछ ।
सन् १९८२ मा फ्रान्सबाट शुरु भएको संगीत दिवसलाई संगीत सिक्दै गरेका र व्यावसायिक संगीतकर्मीहरुलाई एकै ठाउँमा ल्याउने अवसरको रपमा लिइन्छ । संगीतलाई जनमानसमा फैलाउने उद्देश्यले विश्वका १ सय १० भन्दा बढी देशमा संगीत दिवसको औपचारिक कार्यक्रम हुँदै आएको छ ।
नेपालमा भने २०५४ सालदेखि मात्र विश्व संगीत दिवस मनाउन थालिएको हो । त्यसबेला विदेशी संगीतकारले विश्व संगीत दिवसको अवसर पारेर नेपाली राग बनाएका थिए । त्यसयता नेपालमा पनि लगातार रुपमा विभिन्न कार्यक्रम हुँदै आएका छन् ।
संगीतसँग सम्बद्ध विभिन्न व्यक्ति तथा संस्थाले सक्रियता देखाएपनि सरकारी स्तरबाट भने त्यति पहल हुन नसकेकोमा बेला–बेला संगीतकर्मीहरुले गुनासो पोख्दै आएका छन् ।