काठमाडाै । विश्व संगीत दिवसका अवसरमा नेपाली संगीत तथा कला क्षेत्रमा योगदान पु¥याएका स्रष्टाहरुलाई सम्मान गरिएको छ ।
बिहिबार काठमाडौंको जमलस्थित नाँचघरमा सांगितिक उडान नामक एक सांगितिक कार्यक्रममा स्रष्टाहरुलाई सम्मान गरिएको हो ।सम्मानित हुनेहरुमा वरिष्ठ लोक गायक कुमार बस्नेत, वरिष्ठ संगीतकार शम्भुजीत बास्कोटा, वरिष्ठ रचनाकार विश्व बल्लभ, वाद्यवादक न्हूछे बहादुर डंगोल, नृत्य निर्देशक बेटी बज्राचार्य र कला पत्रकार विजय रत्न तुलाधरलाई सम्मान गरिएको थियो भने संगीत प्रतिलिपी अधिकारका क्षेत्रमा योगदान पु¥याए बापत नेपाल प्रतिलिपि अधिकारको रजिष्ट्रारको कार्यालयका प्रमुख राजेन्द्र सिग्देल र स्रष्टाका लागि रोयल्टी संकलन व्यवस्थापनमा पत्रकारिताका माध्यमबाट योगदान पु¥याए्बापत लोकराज अधिकारीलाई पनि सम्मानित गरिएको थियो ।
स्रष्टाको हकअधिकार सुनिश्चित गर्नका लागि सरकारी स्तरबाट विशेष योगदान पुर्याए बापत संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री रविन्द्र अधिकारीलाई विशेष सम्मान गरिने भनिएपनि सो दिन उहाँको उपस्थिती हुन सकेन ।माननीय कार्यबाहक प्रधानमन्त्री तथा रक्षा मन्त्री ईश्वर पोखरेलको प्रमुख आतिथ्यमा आयोजित कार्यक्रममा पोखरेलले आफूहरु समृद्ध नेपालको अभियानमा अघि बढिरहेको बताउँदै उक्त अभियानको स्रष्टाहरु मूल्यवान व्यक्तित्व भएको बताउनुभयो । पोखरेलले नेपालमा भर्खरै मनाउन थालिएको विश्व संगीत दिवसलाई भावी दिनमा भव्य रुपमा मनाउनुपर्ने बताउनुभयो ।
संगीत तर्फ सम्मानित हुनुभएका वरिष्ठ संगीतकार शभ्भुजित बास्कोटाले विश्व संगीत दिवस जनतालाई मनोरञ्जन प्रदान गर्दै आएका स्रष्टाहरुको महान दिन भएको बताउँदै नेपाली संगीत तथा संस्कृतीलाई संसारभर चिनाउन छुट्टै बोर्डको स्थापना गरिनुपर्ने आवश्यकता रहेको औंल्याउनुभयो । उहाँले सरकारले कलाकारका लागि ठूलो बजेट छुट्याउनु पर्ने तथा राष्ट्रले काँध थाप्नुपर्ने बताउनुभयो ।
सांगितिक संघ नेपाल र साधना कला केन्द्रका अध्यक्ष मिलन मोक्तानले विश्व संगीत दिवसलाई आगामी दिनमा अझ वृहत् रुपमा मनाउनुपर्ने बताउनुभयो । नेपाल आर्मी ब्याण्डले विशेष प्रस्तुती राख्दै कार्यक्रमको शुरुवात गरेका थिए भने सम्मानित हुने संगीतकर्मीहरुका सिर्जनामा कलाकारहरुले आकर्षक नृत्य प्रस्तुत गरेका थिए । कार्यक्रममा यम बराल, प्राश्ना शाक्य, जूना प्रसाईं, छिरिङ भूटिया एण्ड ब्याण्ड लगायतले आफ्ना प्रस्तुती राखेका थिए । सोहि कार्यक्रममा २५ वर्षदेखि कार्यरत ३ कर्मचारीलाई दिर्घ सेवा सम्मानबाट सम्मानित गरिएको छ । गायिका लोचन भटराई, सिता कार्की र रेखा श्रेष्ठ कटुवाललाई दीर्घ सेवा सम्मानबाट सम्मानित गरिएको हो ।
सांस्कृतिक संस्थानका महाप्रबन्धक राजेश थापाले विगतका केहि वर्षदेखि संस्थानले विश्व संगीत दिवसका दिन विशेष कार्यक्रमहरुको आयोजना गर्दै आईरहेको बताउँदै आगामी दिनमा अझ वृहत् रुपमा अघि बढाउने बताउनुभयो । कार्यक्रममा राष्टिय सभाका सांसद् तथा गायिका कोमल ओली, वरिष्ठ गायक प्रेमध्वज प्रधान, लोक गायिका चन्द्रकला शाह, गीतकार तथा प्राज्ञ उन्नती शीला बोहरा, गीतकार संघ नेपालका अध्यक्ष चुडामणी देवकोटा, प्रस्तोता समाज नेपालका अध्यक्षतुलसी पराजुली, संगीतकार संघ नेपालका अध्यक्ष शान्तीराम राई लगायतका संगीतकर्मीहरुको उपस्थिती रहेको थियो ।
उक्त कार्यक्रम नेपाल सांगितिक संघ, सांस्कृतिक संस्थान नेपाल, नेपाल संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठान, नेपाल प्रतिलिपि अधिकारको रजिष्ट्रारको कार्यालय, नेपाल पर्यटन बोर्ड र साधना कला केन्द्रको संयुक्त रुपमा आयोजना गरिएको थियो। कार्यक्रममा वरिष्ठ, प्रसिद्ध तथा नव कलाकारहरुको उत्कृष्ट वाद्यवादन, गीत गायन तथा नृत्यहरु प्रस्तुत गरिएको थियो ।यता सम्मानित भएका कलाकारहरुले संगीत दिवसलाई कुनै हलमा मात्र सिमित नराखी जनस्तरसम्म पुग्नुपर्ने आवश्यकता औंलाएका थिए ।