रसुवा । रसुवामा चालु आर्थिक बर्षको ११ महिनामा सवारी नियम उल्लघन गर्ने ६ हजार भन्दा बढी सवारी साधन कारबाहिमा परेका छन् ।
जिल्ला ट्राफिक प्रहरी कार्यालय रसुवाका अनुसार चालु आर्थिक बर्षको साउनदेखि जेठ मसान्तसम्म जिल्लामा सवारी नियम उल्लघन गर्ने ६ हजार ७ सय ५० सवारी कारबाहिमा परेका हुन् । जथाभाबी सवारी पार्किङ, क्षमता भन्दा बढी यात्रु तथा भार बोक्ने, प्रयोजन बिपरित सवारी प्रयोग गर्ने लगायतका शिर्षकमा उक्त सवारी कारबाहिमा परेको जिल्ला ट्राफिक कार्यालय रसुवाका ट्राफिक प्रमुख नवराज खड्काले बताए ।
सबैभन्दा बढी ओभरलोड ३ हजार १ सय ६२, प्रयोजन बिपरित ९ सय ७५, कागज पत्र साथमा नभएको ९ सय ३६, लगायतका बिभिन्न शिर्षकमा सवारी कारबाहिमा परेका छन् । यस्तै कारबाहिमा परेका सवारीबाट ५२ लाख ८४ हजार राजश्व संकलन भएको छ । यस्तै आर्थिक बर्ष २०७३/७४ को यहि समयमा ८ हजार २ सय सवारी कारबाहिमा परेका थिए ।
कारबाहिबाट ६२ लाख ८६ हजार राजश्व संकलन भएको थियो । कारबाहिमा पर्नेमा सबैभन्दा बढी कन्टेनर तथा साना सवारी साधन रहेको जिल्ला ट्राफिक प्रहरी कार्यालय रसुवाले जनाएको छ । सवारी कारबाहिमा पर्नेसँग ५ सय देखि १५ सय सम्म जरिवाना असुली हुने गरेको बताइएको छ ।
यस्तै चालु आर्थिक बर्षको ११ महिनामा जिल्लामा सवारी दुर्घटनाको संख्यामा भने तुलनात्मक रुपमा कम देखिएको छ । गत बर्ष ३५ वटा सवारी दुर्घटनामा ३८ जना घाईते भएका थिए भने २ जनाले ज्यान गुमाएका थिए । त्यस्तै यो बर्ष २९ वटा सवारी दुर्घटनामा २१ जना घाईते भएका थिए भने १ जनाले ज्यान गुमाएका छन् ।
यस्तै जिल्लामा सवारी दुर्घटना न्युनिकरणका लागि जिल्ला ट्राफिक प्रहरी कार्यालय रसुवाले सचेतनाका कार्यक्रमहरु संचालन गरेको छ । दुर्घटना न्युनिकरण सम्बन्धि पर्चा पम्पेट बितरण, हरेक हप्ताको सोमबार जिल्लाको कुनै एक चेकपोष्टमा चालकसँग एक मिनेट र यात्रुसँग दुई मिनेट सवारी दुर्घटना न्युनिकरण सम्बन्धि कुराकानी गरिरहेको ट्राफिक प्रमुख नवराज खड्काले बताए ।