मेघराज तामाङ
संखुवासभा । अरुण तेस्रोको सुरुङ मार्ग निर्माणको क्रममा पहिरोमा परी चार जनाको मृत्यु भएको खबर लेखिएका दुई भारतीय र दुई नेपाली नागरिक मध्ये प्रदिप शाही आमा भेट्न कालिकोट पुगेका छन् ।
आफ्नाे मृत्युको खबर पाएपछी उनकी आमा बेहोस् भएकी थिइन् ।
शुक्रबार आमा भेट्न घर पुगेको शाहीले जानकारी दिए । समाचारमा उल्लेख भए अनुसार उनी मृत्यु भएको हप्ता दिन पछी आफ्नी आमासँग पुर्नजन्ममा भेट भएकोमा खुशी साट्न कालिकोट पुगेका हुन् । गुमाईसकेका माहिला छोरा जीवितै पाउँदा माङ्ली शाहीले छोरालाई अंगालोमा बेस्सरी कसेर खुशी साट्न भने अझै पाएका छैनन् । छोराको मृत्युको खबर पाए पछी बेहोस् भएकी माङ्ली अझै राम्ररी होस्मा आएकी छैनन् । आमाको स्वास्थ्यमा क्रमिक सुधार भएको शाहीले बताए ।
![](https://45.77.241.73/wp-content/uploads/2018/06/35882408_868674683343528_7181370127059779584_n.jpg)
गत शुक्रबार राती अरुण तेस्रोको सुरुङमा पहिरो खसे पछी शाही सहित चार जनाको सुरुङ भित्रै मृत्यु भएको भन्दै केहि राष्ट्रि«य सञ्चार माध्यम र अनलाईनमा समाचार आयो । केही अनलाइनले ३ जनाको शव समेत देखायो । समाचार आएसँगै परिवारसम्म त्यो खबर पुग्यो । मृत्युको खबरमा परेका सिउना गाउँपालिका ४ कालिकोटका प्रदिप शाहीका आमा बेहोस् भएका थिए ।
माङ्ली शाही छोराको मृत्यु सुनेपछी वेहोस् भएको खबरले आफू झनै दुखि भएको प्रदिपले मंगलबार सदरमुकाम खाँदबारीमा बताएका थिए । कुराकानीका क्रममा उनले भने–
३९ घण्टा पछी आइतबार बिहान ११ बजे सुरुङबाट हामी चारै जना सकुशल बाहिर निस्कदा प्रतिक्षामा बसेकाहरु र उद्धार कर्ताहरु अत्यन्तै खुशी थिए । तर केही छिनमा थाहा भयो, हामी त मरिसकेका रहेछौं । केही बेरमा घरमा फोन गरेर बोल्दा परिवार र आफन्त अचम्मैमा परे । एकछिन त पत्याएनन् । अनि मेरो मृत्युको खबरले आमा बेहोस् भएको भन्ने सुनेपछी फेरी अर्को पटक म मरेँ
![](https://45.77.241.73/wp-content/uploads/2018/06/IMG_3138.jpg)
उनले सञ्चार माध्यमको यस्तो गलत प्रचारले जीउँदै मारेकोमा दुख व्यक्त गरे ।
सुरुङ भित्र शाही सहित चन्दननाथ नगरपालिका १ जुम्लाका प्रेम परियार, भारत बिहारका इलेक्ट्रिकल मेकानिक नन्द किशोर, भारत झारखण्डका बुमर चालक बुधन मुन्डा फसेका थिए ।शाहीले भने हामी रातभर भगवानको प्राथनामा बस्यौं । सुरुङ भित्र काम गरिरहेको बेला अचानक पहिरोले प्रवेश मार्ग बन्द भएपछि सुरुङमा उनीहरु निक्कै आत्तिएको बताए । सुरुसुरुमा बाहिर निस्कन सकिने सम्भावनाको निक्कै खोजी गरियो । शाहीले सानो प्वालबाट आफु बाहिर निस्कने सोच बनाएका थिए, तर साथीहरुले त्यसो गर्दा माथीबाट ढुंगा झरेर किच्याउन सक्ने भने पछि त्यो योजना पनि असफल भयो ।
विकल्पहरु असम्भव भएपछि उद्धारको पर्खाईमा बस्नुको बिकल्प नरहेको उनीहरुले बताए । शाहीका अनुसार
शनिबार बिहान ६ बजे हामी जिवित छौंँ भन्न र उद्धारमा सहज होस् भनेर प्वाल मार्फत रडको टुप्पोमा ज्याकेट राखेर बाहिर हल्लायौं । तर बाहिरबाट सो इसारा नदेख्दा उनीहरु ३९ घण्टा सम्म सुरुङ भित्र बस्नु प¥यो ।
उनिहरुले इसारालाई बाहिर देखिने निर्णय गरे, तर केही बेरपछि इसाराका लागि प्रयोग गरिएको ज्याकेट सहित रडलार्ई पनि माथिबाट आएको ढुंगाले थिच्यो । सो इसारालाई समय समयमा हल्लाएर इसारा गर्थे, तर ढुंगाले थिचेपछि त्यो माध्यम पनि टुटेको शाहीले बताए । बाहिरको आवाज सबै भित्र सुनिएका कारण आफुहरुको उद्धार कार्य जारी रहेको संकेत उनिहरुले पाएका थिए । तर भित्रको आवाज बाहिर आउन नसक्दा उद्धारमा समेत ढिलाई भयो । उनीहरु घडि र बाहिरको आवजको आधारमा दिन रातको समय छुट्याउने गर्थे ।
शनिबार दिनभर उद्धारको प्रयास जारी रह्यो । शाहीले भने वेलुकी पाँच बजे पछि बाहिर भारी वर्षा आएको संकेत प्राप्त भयो । त्यसपछी उद्धारको क्रम रोकीएको थाहा भयो । फेरी अर्को रात बस्नु पर्ने अवस्थाले त्रास बढ्यो । पुनः रातभर पानीकै भरमा बसे । भोकलाई कम गर्न उनीहरुले सामान प्याक गरेको गद्दा (फर्म) खाएर बस्ने योजना समेत बनाए । बुमर(सुरुङ खन्न प्रयोग गरिने मेसिन) को लाईटको भरमा दिन र रात बिताएर बसेको शाहीले बताए । बुमरको इमरजेन्सी लाईट दुई दुई घण्टामा बल्ने गरेको शाहीले बताए । हामी चार जना एक आपसमा यति दृढ थियौ की हामीलाई बचाँउने छन् भनेर एकसाथ बसि एकले अर्काकोे आत्माबल बढायौं । यदी म¥यौं भने पनि एक साथ मर्ने प्रणका साथ हामी बस्यौं, बुधन मुन्डाले भने ।
सुरुङमा थुनिएकाहरुको उद्धारपछि सोमबार विपद् व्यवस्थापन समिति सङ्खुवासभाले पत्रकार सम्मेलन गरी सार्वजनिक पनि गरेको छ । उद्धार गरिएकाहरुको सामान्य उपचारपछि सोमबार सार्वजनिक गरिएको हो । कार्यक्रममा उनीहरुलाई खादा लगाएर स्वागत गरिएको छ । उद्धारको क्रममा गरिएको सम्पुर्ण गतिविधि र उद्धार गरिएकाहरुको अवस्थाको बारेमा जानकारी गराईएको थियो । सकुशल उद्धार हुने अपेक्षा सहित घटना स्थलमा चिकित्सक सहितको टोली तैनाथ गरिएको थियो । उनीहरु मानसिक र शारिरिक रुपमा तन्दुरुस्त रहेको चिकित्सकको भनाई छ ।
सुरुङबाट निस्केपछि पुर्नजन्म पाएकोमा निक्कै हर्सित बनेका उनीहरुले अँध्यारो सुरुङ भित्र बस्नु पर्दाको सम्पुर्ण अनुभव सञ्चारकर्मीहरुलाई सुनाए । राती सुरुङ भित्र काम गरिरहेको बेला अचानक पहिरोले प्रवेश मार्ग बन्द भएपछि सुरुमा उनीहरु निक्कै आत्तिएको बताए । पहिरो खसेपछी पनि सानो प्वाल भएकाले उक्त प्वालबाट निस्कन प्रयास गरिएको थियो । तर निरन्तर पहिरो खसेपछी प्वाल झनै सानो भएको प्रदिपले बताए । सुरुसुरुमा बाहिर निस्कन सकिने सम्भावनाको निक्कै खोजी गरे पनि असम्भव भएपछि उद्धारको पर्खाईमा बस्नुको बिकल्प नरहेको उनीहरुले बताए ।
उनीहरुको उद्धार कार्यमा भिमकाली गुल्म हेदाङ्नाबाट १८ जना, बराहदल गुल्म खाँदबारीका १७ जना, जिल्ला प्रहरी कार्यालयका २९ जना, सशस्त्र प्रहरी बलका २५ जना सुरक्षाकर्मी सहित सुरुङ मार्ग ठेकेदार कम्पनी जेपी ग्रुपको २ ओटा, एपेक्स कन्स्ट्रक्सन कम्पनीको १ र रौताहा कन्स्ट्रक्सन कम्पनीको दुई ओटा इस्काभेटर प्रयोग गरिएको थियो । सुरुङ भित्र फसेकाहरुको उद्धारमा सहयोग गर्ने सबैलाई विपद् व्यवस्थापन समितिका अध्यक्ष तथा प्रमुख जिल्ला अधिकारी गणेशबहादुर अधिकारीले धन्यवाद दिए ।मकालु गाउँपालिका ५ मा रहेको बाँध निर्माण स्थलमा हाल सुरुङ मार्ग सहित पुर्वाधारको काम सुरु गरीएको छ । निर्माण सुरु गरिएको सुरुङ मार्ग ३० मिटर लामो रहेको आयोजनाले जनाएको छ । नौं सय मेगावटको अरुण तस्रो जलविद्युत आयोजना सन् २०२२ सम्ममा निर्माण सम्पन्न गर्नुपर्ने छ ।
मृत्यु भएको भनेर पत्रकारलाइ बताएको थिइँन : डिएसपी
उनीहरु सुरुङमा पुरिएपछी अनलाईन तथा छापाका सञ्चार माध्यमहरुले उनीहरु मृत्यु भएको समाचार प्रकाशन र प्रसारण गरेका थिए । प्रकाशित समाचारहरुमा मरेको भनेर डिएसपीलाई श्रोत उल्लेख गरिएको छ । तर डिएसपी श्याम कुमार सारु मगरले कुनै पनि पत्रकारलाई मरेको भनेर नभनेको दाबी गर्दै मंगलबार विज्ञप्ति जारी गरेको छ । अहिले विभिन्न सञ्चार माध्यममा मैले नभनेको कुरा आईरहनु दुखद रहेको डिएसपी मगरको भनाई छ । गलत समाचार सम्प्रेषण गरिनु आपत्ती जनक भएको बताइएको छ ।
सुरुङमा फसेका कामदारको मृत्यु भएको गलत समाचार सम्प्रेषण प्रति ध्यानार्कषण भएको विज्ञप्तीमा उल्लेख गरिएको छ । तर चार जनाको मृत्यु भएको खबर जिल्ला प्रहरी कार्यालयको आधिकारिक फेसबूक पेजले समेत सेयर गरेको छ । उक्त समाचार प्रती जानकारी लिदा आफुलाई थाहा नभएको र आवश्यक छानबिन पछि सम्बन्धित व्यक्तिलाई कारबाही गर्ने मगरले बताए ।
उनीहरुको मृत्यु नभई सकुशल उद्धार गरिएको समाचार आए लगत्तै उज्यालो मिडिया नेटवर्कले सार्वजनिक माफी मागेको छ भने अरु सञ्चार माध्यमहरु चुपचाप बसेका छन् ।