ताप्लेजुङ । ताप्लेजुङमा चालु आर्थिक वर्षको पछिल्लो ६ महिनामा ६ वटा बलात्कारका घटना भएका छन् । अनौपचारिक सेवा केन्द्र ईन्सेक ताप्लेजुङले आईतबार अर्धबार्षिक समिक्षा कार्यक्रम गर्दै गत पुसदेखि हाल सम्म ६ वटा बलात्कारका घटना भएको जानकारी दिएको हो । गत पुस देखि हालसम्म जिल्लामा ८ वटा मानव अधिकार उलंघनका घटना भएका छन् ।
यि मध्ये सबै भन्दा वढि बलात्कारका घटना छन् । जातिय छुवाछुत तथा भेदभाव र शिक्षक नियमित विद्यालय नगएकाले विद्यार्थीको पढाई प्रभावित भएका दुई वटा घटना बाहेक अरु बलात्कारका घटना रहेको ईन्सेक ताप्लेजुङका प्रतिनीधि देवराज गुरुङले बताउनुभयो ।
बलात्कारका ६ वटा घटना मध्ये ४ वटाका आरोपितले जिल्ला अदालत ताप्लेजुङबाट सफाई पाईसकेका छन् भने ३६ वर्षिय महिलालाई बलात्कार गरेको कसुरमा दुई जना पीडकलाई १०–१० वर्ष कैद सजाय र ७५ हजारका दरले पीडितलाई क्षतिपुर्ति भराउने जिल्ला अदालत ताप्लेजुङले फैसला गरेको छ ।
३६ वर्षिय महिलालाई सामुहिक रुपमा बलात्कार गरेको कसुरमा मैवाखोला गाउँपालिका –५ का १७ वर्षिय लाक्पा शेर्पा र सुवास वनेमलाई उक्त सजाय हुने फैसला भएको हो । यस्तै १३ वर्षिय बालिकालाई बलात्कार गरि गर्भवती बनाएको आरोपमा रहेका हिलिहाङ गाउँपालिका पाँचथरका ३३ वर्षिय रामकुमार राई माथी जिल्ला अदालतमा नै मुद्धा चलिरहेको छ ।
यता जातिय भेदभाव गरेको कसुरमा फक्ताङलुङ गाउँपालिका–३ लिङ्खिमका प्रेमप्रसाद निरौलालाई गत फागुन ३ गते जिल्ला अदालतको आदेश बमोजिम १० हजार धरौटीमा रिहा गरिएको छ । निरौलाले जातिय भेदभाव गरेको भन्दै आठराई त्रिवेणी गाउँपालिका का भुपु शिक्षक सन्तबीर कामीले माघ २९ गते जिल्ला प्रहरी कार्यालयमा उजुरी गरेका थिए ।
यस्तै फक्ताङलुङ गाउँपालिका स्थित याङ्मा, फले, ग्याब्ला र ओलाङचुङगोलाका विद्यालयमा वर्षौदेखि शिक्षक नियमित नभएको भन्ने अविभावकको गुनासोका आधारमा सो गाउँपालिकाभरका विद्यालयका प्रधानाध्यापकलाई तापेथोकमा भेला गराई तत्कालिन जिल्ला शिक्षा अधिकारी चैतन्य प्रसाद निरौला, प्रमुख जिल्ला अधिकारी मोहन बहादुर जिसि र गाउँपालिका अध्यक्षले नियमित हुन निर्देशन गरेका थिए ।
यसैबीच समिक्षा कार्यक्रममा बोल्दै प्रमुख जिल्ला अधिकारी मोहनबहादुर जीसिले ताप्लेजुङमा राज्य पक्षबाट मानव अधिकार उलंघनका घटना नभएको पाईएको र अब पनि हुन नदिने बताउँनुभएको छ । गैरराज्य पक्षबाट बढ्दै गएको मानव अधिकार उलंघनका घटनालाई रोकथाम गर्न पनि सक्दो प्रयास गर्ने उहाँको भनाई थियो । यस्तै जिल्लामा मानव अधिकार उलंघनका घटना वढ्दै गएको भन्दै कार्यक्रममा सहभागी सरोकारवालाले चिन्ता व्यक्त गरेका थिए । पत्रकार महासंघ ताप्लेजुङका अध्यक्ष राजेन्द्र श्रेष्ठको अध्यक्षतामा समिक्षा कार्यक्रम भएको थियो ।