काठमाडौं । आगामी असार १५ गतेबाट तीन दिने दोश्रो आदिवासी जनजाति चलचित्र महोत्सव २०७५ हुने भएकोछ ।
चलचित्रका माध्यमद्धारा आदिवासी जनजातिका मौलिक कला , संस्कृति , भाषा , धर्म , परम्परा र विभिन्न प्रथाहरुको दस्तावेजीकरण,संरक्षण,प्रवद्र्धन तथा पर्यटन बिकासका लागि राष्ट्रिय–अन्तराष्टियस्तरमा चिनाउने उदेश्यले आदीबासी जनजाति चलचित्र महोत्सव २०७५ गर्न लागेको आयोजक आदिवासी जनजाति चलचित्र महासंघले आइतवार काठमाडौंमा आयोजित पत्रकार सम्मेलनमा जानकारी दिएको छ ।
महोत्सव यही १५ , १६ र १७ गते तीन दिन नेपाल पर्यटन बोर्डमा हुने छ ।
महोत्सवमा प्रदर्शन हुने चलचित्रमा भोजबहादुर गुरुङको निर्देशन रहेको गुरुङ भाषाको “मैरिमो” , बिन्दु माझीको निर्देशन रहेको ”लदी पुजा“ , बाल मुकुन्द प्रजापतिको निर्देशन रहेको “तापलय” लगायत बिभिन्न समुदायको १४ चलचित्र रहेका छन् ।
महोत्सवमा प्रदर्शन हुने सबै समुदायका चलचित्रलाई प्रोत्साहन स्वरुप पाँच हजार रुपैयाँ नगद प्रदान गरिने आयोजकले जनाएको छ । साथै दर्शकहरुको रोजाईमा पर्न सफल उत्कृष्ट एउटा चलचित्रलाई पब्लिक च्वाइस अवार्ड प्रदान गर्नुको साथै पच्चीस हजार रुपैयाँ नगद पुरस्कार पनि प्रदान गरिनेछ ।
महोत्सवको प्रमुख आकर्षणको रुपमा विभिन्न समुदायका परम्परागत खाना,मौलिक भेषभुषा सहितको स्टल समेत रहनेछ ।