[caption id="attachment_46158" align="alignleft" width="123"]
रामकुमार एलन[/caption]
घामको पहेँलो डल्लो डाँडाको टुप्पोबाट हराउँदै थियो र बस्तीका हरिया मकैका पात पनि कालाम्मे देखिनै लागेका थिए । मकवानपुरको हेटौँडा नगरपालिका वडा नम्बर १५ चुरियामाइको पनि वननजिकैको बस्ती पुग्दा परबाट केही किशोरीहरु मुठ्ठी कसेर हात माथि पु¥याउँदै हामीलाई नै अभिवादन गरिरहेका थिए । तर ‘लालसलाम’ वा ‘जयनेपाल’ थिएन लवज । थियो त ‘जय सम्वाद ।’
एक हूल किशोरी साँझपख डाँडामा बसेर स्वागतार्र्थ आँखा बाटोभरि बिच्छ्याइरहेका थिए । चेपाङ र तामाङ बाहुल्य रहेको बस्ती मकै घारीले हराभरा थियो । उधूम गर्मी, मकैका पात हल्लिन पनि नमान्दा हावा बग्न छाडेर आममानिसका निधारबाटै पसिनाका मूल छातिसम्म पुगिरहेको थिए तर एउटा कोठामा भेला भएका किशोरीहरुको उत्साह, उमंग र नयाँ कुरा सिक्ने भोकले गर्मीको अवरोध भत्कँदै थियो । ‘हामीले लागुपदार्थ सेवनविरुद्ध अनि दुव्र्यसनविरुद्ध पनि नाटक देखायौँ,’ समूहकी सदस्य सम्झना प्रजाले भनिन्, ‘स्कुलमा नबुझेका कयौँ कुरा यहाँ आएर साथीसंगीलाई भन्छौँ र बुझ्छौँ, सम्वाद समूह त हाम्रो मनको कुरा गर्ने ठाउँ भएको छ ।’
किशोरीहरुको समस्या, परिवारसँग भन्न नसकेका कुरा साटासाट, घरमा बालिका वा किशोरीको अधिकारी र जीवनपयोगी शिक्षाबारे सम्वाद समूहमा हरेक दिन दुई घण्टा छलफल हुन्छ । ‘समाजमा व्याप्त बालविवाह रोक्न सम्वाद समूह सफल भएको छ,’ आफ्ना अनुभूति साट्ने अनि व्यवहार परिवर्तनका कुरा गर्ने थाले सम्वाद समूह बनेको बताउँदै बिमला प्रजा भन्छिन्, ‘पहिला घरमा अभिभावकहरु झगडा गर्थे, हामीले सम्झाउन थाल्यौँ, स्कुल नजा भन्थे, अहिले त छोरी आज किन स्कुल गइन भनेर चिन्ता गर्छन्, घरेलु हिंसा पनि कम भएको छ ।’
विपन्न र गरिब अनि जनजाति बाहुल्य बस्ती, कम उमेरमा विवाह । विद्यालय जाने उमेरमै हुने बालविवाहका कारण पढाइ बीचैमा छुट्ने समस्या । त्यसमाथि
जनजाति बस्तीमा ‘सगुन’कै रुपमा लिइने ‘मदिरा’को पनि लत । लागुऔषध र दुव्र्यसनको उस्तै समस्या । जहाँ गरिबी, त्यहीँ धेरै समस्या । यसका लागि बालबालिका उमेर पार गरेका किशोरकिशोरी परिचालन नै सबैभन्दा उत्तम उपाय हो ।
‘गाउँका किशोरीहरुलाई सम्वाद समूहमा आवद्ध गरी जीवनोपयोगी विषयमा छलफल चलाउने गरेका छौँ,’ समूहकी सहजकर्ता शान्ति थिङ भन्छिन्, ‘विपन्न वर्गमा पनि परिवर्तन ल्याउन उनीहरुकै बालबालिका परिचालन उत्तम हुन्छ भनेर हामीले दैनिक दुई घण्टा सम्वाद समूह चलाउन थालेका हौँ ।’
बस्तीमा विद्यालय भर्ना हुने तर पढ्न नजाने चलन थियो । यस्तै, अभिभावकले नै लागुऔषध सेवन गरेपछि बालबालिकामा पनि असर पर्ने र कयौँले त सेवन पनि गर्ने गरेको अध्ययनमा भेटिएको थियो । अर्को समस्या थियो बालविवाह । कलिलै उमेरमा हुने बालविवाह अनि त्यसपछि थपिने घरेलु हिंसा । बिहानै उठेर ज्यालादारी र मजदुरीमा जानुपर्ने भएकाले बस्तीमा परिवर्तनका लागि सम्वाहक किशोरीहरु नै बनाउनु पर्छ भनेर सम्वाद कक्षा चलाइएको हो । ‘एउटा स्कुल जान छाडेपछि अरु पनि क्रमशः जान छाड्ने क्रम बढ्न थाल्यो,’ समूहकी सदस्य मीना थिङले भनिन्, ‘चेलिबेटी बेचविखन, मदिरा नियन्त्रणका लागि समूहबाटै नाटक देखाएर जनचेतना जगाउन थाल्यौँ । किशोरी परिचालन प्रभावकारी देखियो ।’
सहयोगी हातहरुको समूहले ग्रामीण भेगका विपन्न र जनजाति बाहुल्य क्षेत्रका किशोरीहरुमार्फत जागरण र परिवर्तनका लागि किशोरी सम्वाद समूह स्थापना गरेको हो । १० महिनासम्म किशोरीलाई दैनिक दुई घण्टा कक्षा सञ्चालन गरेर समाज परिवर्तनका लागि किशोरीलाई तयार पार्ने अभियान चलाइएको हो । यो अभियान घरेलु हिंसा न्युनिकरण, मदिरा नियन्त्रण, लागुऔषध र दुव्र्यसन रोकथाम, बालविवाह अन्त्य अनि पढाइलाई निरन्तरता दिने उद्देश्यमा केन्द्रित छ ।
समूहका १३ देखि १९ वर्षका किशोरीहरु छन् । ‘समूहमा आएपछि जीवनबारे बुझेका छौँ, पढाइको महत्व बुझेका छौँ र अरुलाई पनि बुझाउन सक्ने हुँदैछौँ,’ समूहकी सदस्य सम्झना प्रजा भन्छिन्, ‘केही साथीहरु त यही उमेरमा मदिरा पनि पिउँथे, मदिरा पिएपछि गाउँमा होहल्ला हुँदा प्रहरी नै आएर पक्राउसम्म गथ्र्यो, अब त्यो सब इतिहास भएका छन् ।’
‘हामी मदिरा पनि पिउँथ्यौँ ?’ समूहका सदस्यहरुमा आएको परिवर्तनबारे सोध्दा किशोरीहरुले एकअर्काको मुखमा हेर्दै प्रश्न गर्न थाले । भने, ‘हामीले पिउनु हुँदैन भनेर अभियान चलाउँदा सफल भइसकेको छ अर्थात्
किशोरीहरुको मुखमा अब मदिरा पर्दैन र मदिरारहित गाउँ बनाउने अभियानमा हामी सक्रिय छौँ ।’
शिक्षा, स्वास्थ्य, सरसफाइलगायतका नौ चरणका शिक्षाका कार्यक्रमहरु किशोरीका लागि सम्वाद समूहमार्फत सञ्चालन गरिएको हो । सहजकर्ता शान्ति थिङ भन्छिन्, ‘स्कुल जाने क्रम बढेको छ, बालविवाह घटेको छ अनि लागु पदार्थ सेवन लगभग नियन्त्रणमा छ, धेरै भयो गाउँमा घरेलु हिंसाको घटना नभएको, यो सबै उनीहरुकै छोरीहरु सम्मिलित किशोरी सम्वाद समूहकै कारण हो ।’