सिन्धुपाल्चोक । चौतारामा पहिलो पटक प्रदेशस्तरीय साहित्य सम्मेलन आयोजना गरिएकोे छ ।
सिन्धु साहित्य सम्मेलन, २०७५ एवं प्रदेश नम्बर ३ स्तरीय कविता प्रतियोगितामा काभ्रेपलाल्चोक, काठमाडौं, दोलखा, रामेछाप तथा सिन्धुलीका ४८ कविको कविता प्राप्त भएकामा उत्कृष्ट १० कविको कविता छनोट गरिएको थियो । कर्मचारी मिलन केन्द्र र सिन्धु साहित्य अभिलेखालयको संयुक्त आयोजनामा भएको प्रतियोगितामा प्रथम, द्वितीय, तृतीय र चौथो हुने कविलाई क्रमशः २० हजार, १५ हजार, १० हजार र ५ हजार रुपैयाँ राशी पुरस्कार प्रदान गरिएको छ ।
प्रतियोगितामा सिन्धुकी रोजिना पराजुली, रामेछापकी शीतल थोकर तामाङ, सिन्धुलीका नवीन संघर्ष र काभे्रकी अनामिका सजल क्रमशः प्रथम, द्वितीय, तृतीय र चौथो भएका थिए । विजयी कवि तथा कवयित्रीलाई नेपाल नाट्य तथा संगीत प्रज्ञा–प्रतिष्ठानका सदस्य सचिव गणेश रसिकले पुरस्कार प्रदान गर्नुभयो ।
कार्यक्रममा नेपाली शष्दकोषका ग्रन्थकार कवि वसन्तप्रकाश नेपाल शर्मालाई अभिनन्दन तथा स्व कवि खिलबहादुर भावुक, महाकाव्यकार चन्द्रप्रसाद न्यौपाने र कवि जीवन क्षेष्ठलाई सम्मान गरिएको थियो ।सो अवसरमा अभिलेखालयले ११० वर्षदेखिको अभिलेखालयको वृत्तभित्र प्रस्तुत गरेको थियो ।
सिन्धुका साहित्यकार र अन्य जिल्लाका साहित्यकारबीच एकापसमा विचारको आदानप्रदान गर्नाका साथै कला र संस्कृतिको जगेर्ना गर्ने उद्देश्यले यस प्रकारको सम्मेलनको आयोजना गरिएको आयोजक कर्मचारी मिलन केन्द्रका अध्यक्ष एवं साहित्यकार लक्ष्मीप्रसाद निरौलाले बताउनुभयो ।