मेघराज तामाङ
संखुवासभा । सिमसिम पानी पर्न थालेपछी साप्तेल बासीहरु त्रसित हुन थाल्छन् ।
गएको मंसिर ३ गते दिउँसो शिलिचोङ गाउँपालिका ३ ताम्कुको साप्तेल टोल मुनी सुख्खा पहिरो गएको थियो । १७ घर परिवार रहेको साप्तेल गाउँलाई तानिदै संखुवा खोला समेत केही समय थुनिने गरी झरेको पहिरो अझै रोकिएको छैन । दिनदिनै जसो ढुङ्गा र माटोको ढिस्को झरिरहन्छ । पानी परेको समयमा झनै ठूलो मात्रामा माटो र ढुङ्गा खस्ने गरेको छ ।
यसै पनि वर्षौदेखि पहिरोको जोखिममा बाँचिरहेका साप्तेलबासीहरु रातको समयमा पानी पर्न थाल्ने बित्तिकै जागराम बस्छन् । पहिरोले घर गाउँ नै बगाएर संखुवा खोलामा मिसाई दिने होकी भन्ने डरका कारण ढुक्कले निदाउन पाएका छैनन् । ‘अब त वर्षा लाग्यो पानी परिरहन्छ, कुन दिन बगाउने हो टुङ्गो छैन’, साप्तेल गाउँका अगम बहादुर राईको भनाई । गाउँ मुनी गईरहने पहिरोले एक दिन गाउँ तान्ने कुराले उनीहरुमा त्रास फैलिएको छ ।
कतै सुरक्षित स्थानमा सर्न पाए कम्तिमा आफ्नो ज्यान बचाउन सकिने स्थानीय भक्त कुलुङको भनाई छ । एक दशक अघि छिमेकी गाउँ सिकिदिमलाई आफ्नै आँखा अगाडी पहिरोले लगेको झलझली सम्झी रहेका साप्तेलबासीहरु आफूहरुले पनि त्यहीँ नियती भोग्नु पर्ने अवस्थामा आईपुगेको उनीहरु बताउँछन् । त्यसो त केही वर्ष अघि गाउँमै गएको पहिरोमा परि एक जनाले ज्यान गुमाई सकेको छ ।
गाउँमा पहिरो गएको हप्ता दिनमा सो गाउँका वडा सदस्य मणीकुमार कुलुङले ताम्कु प्रहरी चौकीबाट प्रहरी टोली लिएर गएपछि घटना स्थलको अध्ययन गरियो । मुचुल्का तयार गरेर जिल्ला प्रहरी कार्यालय र जिल्ला विपद व्यवस्थापन समितिलाई बुझाएको थियो । सिलिचोङ गाउँपालिकाका अध्यक्ष रामबहादुर कुलुङले पनि घटना स्थलको स्थलगत अनुगमन गरेका थिए । गाउँपालिका अध्यक्ष कुलुङ लगायतका स्थानीय जनप्रतिनीधीहरुले स्थानान्तरण सम्मको आश्वासन दिएका थिए ।
लगत्तै केन्द्र र प्रदेशको निर्वाचन भएकोले उक्त घटनालाई छाँयामा पारेको थियो । पछिल्लो समय गाउँपालिकाका अध्यक्षलाई यस विषयमा कुरा गर्न लाग्दा पारिवारिक शोकमा परेकोले थप कुरा गर्न नपाएको स्थानीय सुजन कुलुङले बताए । ‘अब वर्षातको समयमा दैनिक जसो पानी परेपछि गाउँ नै पहिरोले बगायो भने हामी के गरु ?’ कुलुङले प्रश्न गरे ।
यस विषयमा तत्कालिन प्रमुख जिल्ला अधिकारी तथा विपद व्यवस्थापन समितिका अध्यक्ष शिवराज जोशीले चुनाव लगत्तै स्थलगत अध्ययन गरेर राहत तथा आवश्यकताको आधारमा अन्य प्रकृयाहरु अगाडी बढाउने बताएका थिए । हाल जोशीको सरुवा भएपछि प्रमुख जिल्ला अधिकारीको रुपमा गणेशबहादुर अधिकारी छन् ।
विपद व्यवस्थापन समिति अध्यक्ष समेत रहेका अधिकारीले यस विषयमा जानकारी नरहेको बताए । केही दिनमा घुम्ति सेवा सहित सिलिचोङ मै गएर त्यस्को स्थलगत अनुगमन गर्न सकिने बताए । अनुगमन पछि के गर्न सकिन्छ त्यस विषयमा निर्णय लिन सकिने अधिकारीको भनाई छ ।