सुनिल कार्की
पाल्पा । धुलो र हिलो बाटोबाट हैरान भएका उत्तरी पाल्पाली बासिन्दा सडक कालोपत्रे भएसंगै खुसी भएका छन् ।
२०७३ सालमा विश्व बैङ्कको सहयोगमा तानसेन चापपानी राम्दी सडकको १५ किलोमिटर सडक मध्ये ८ किलोमिटर क्षेत्रमा कालोपत्रे गर्ने काम भएको हो । जसमा पाँच किलोमिटर कालोपत्रे भइसकेको र बाँकी तीन किलोमिटर सडकमा काम भईरहेको छ ।
सम्झौता अवधिसम्म काम नभएको अवस्थामा थपिएको ६ महिनाको अवधिमा निर्माण कम्पनीले ८ किलोमिटर मध्ये ५ किलोमिटर सडकको कालोपत्रे गरेको हो ।
चिलाङदी–चापपानी–राम्दी सडकको स्तरवृद्धि गर्दै पिचको लागि २०७३ साल असोज ३ गते सम्झौता भएको थियो । गत १५ महिनाको अवधिमा सडक स्तरउन्नती गर्दै आठ किलोमिटर क्षेत्रमा कालोपत्रे हुने सम्झौता भएपनि सडकमा कुनै काम हुन सकेको थिएन ।
सम्झौताको पूरानो अवधि २०७४ साल पुष २० गते सकिदासम्म काम शुरु नहुँदा जनता सडक नबन्ने चिन्ताले निराश थिए । २०७४ माघ ६ गते सामाजिक अभियान्ता भगवान भण्डारीको अध्यक्षतामा उपभोक्ता समिति गठन भयो । समिति पुर्नरगठन भएकै दिन देखि भगवान निरन्तर चिलाङदी–चापपानी–राम्दी सडक खण्डमा खटिए ।
समयमै सडक निर्माण नहुनका कारणबारे खोजविन गरी उपभोक्ता समितिका अध्यक्ष भण्डारीले निर्माण कम्पनी, जिल्ला समन्वय समिति, जिल्ला प्रशासन कार्यालय तथा स्थानीयसँग समन्वय गरी काम शुरु गराएपछि सडक बन्ने आशा जनतामा बढ्दै गयो । बिहानदेखि रातिसम्म सडक मै खटिएका भगवानले चापपानीको ठकुरीडाडा देखी गरनडाडासम्म वटासिल गराउन सफल भए ।
अहिले यो सडक जिल्लाकै नमुना सडकको रुपमा निर्माण भईरहेको छ । ठेकेदार, उपभोक्ता समिति कामको रेखदेख गर्दै आएको जिल्ला प्राविधिक कार्यालयका प्रमुख सहितका ईन्जिनियरहरु दिनहु सडकमै खटिएर कामलाई निरन्तरता दिएका छन् ।
विश्व बैंकको ८ करोड ३१ लाख रुपैयाँको सहयोगमा (एस.एन.आर.टि.पी) परियोजना मार्फत चापपानीको ठकुरीबारीबाट गरनडाँडासम्मका लागि वटासिलका लागि जय रक्तकाली निर्माण कम्पनीले सम्झौता गरेको थियो ।