विकास तिमल्सिनाडेनमार्क । निरन्तर लागिरहन सके सफलता हात पार्न असम्भव छैन । यो उक्तिलाई आत्मसाथ डेनमार्कको क्रिकेट मैदानमा नेपाली क्रिकेट खेलाडीहरुले एकपछि अर्को सफलता हात पारिरहेका छन् ।डेनमार्कको चौथो डिभिजनबाट यात्रा सुरु गरेको नेपालीहरु सहभागी हिमालयन स्पोर्ट क्लब अहिले तेस्रो डिभिजन पार गर्दै दोस्रो डिभिजनमा उक्लिन सफल भएको छ ।सन् २०१६ मा डेनमार्कको कोपनहेगनमा क्रिकेट क्लब दर्ता गरी प्रतिस्पर्धामा उत्रेका नेपाली खेलाडीहरुले अब दोस्रो डिभिजन अन्तर्गतको प्रतियोगितामा प्रतिस्पर्धा गर्दैछन् ।आगामी चैतदेखि भदौसम्ममा डेनमार्कका विभिन्न स्थानमा हुने दोस्रो डिभिजन अन्तर्गत डेनमार्कका अन्य १४ वटा क्लबसँग नेपाली खेलाडीहरुको क्लब हिमालयन स्पोर्टले प्रतिस्पर्धा गर्दैछ । एक दिवसीय खेलमा अंकको आधारमा पहिलो स्थानमा पुने क्लब पहिलो डिभिजनमा जानेछ ।खेलाडी ओझाका अनुसार तेस्रो डिभिजनमा १३ वटा क्लबसँग खेल खेलिएको थियो । जसमा ११ वटा क्लबलाई जितेर तथा अंकको आधारमा पहिलो हुँदै हिमालयन क्लब दोस्रो डिभिजनमा आउन सफल भएको हो ।
सुरुमै मिठो सफलताक्लब दर्तापछि सन् २०१६ र २०१७ मा क्रमश चौथो र तोस्रो डिभिजनको प्रतियोगितामा नेपाली सहभागी क्लबले प्रतिस्पर्धा गरेको थियो ।डेनमार्कमा क्रिकेट खेलमा चारवटा डिभिजन छन् । पहिलो वर्षकै खेलमा क्रिकेट बोर्ड एशोसिएशन डेनमार्कले हिमालयनलाई उत्कृष्ट र अनुशासित टिम घोषित गरेको क्लबले जनाएको छ ।‘खेल्न सक्दैनन् भन्दै सुरुमा हामीलाई क्लब दर्ता गर्न नदिइ पन्छाउन खोजियो’ खेलाडी तथा क्लबका संयोजक कृष्ण चन्दले भने, ‘तर, हाम्रो खेलबारे खेलकुद पत्रकारले स्थानीय मिडियामा लेखेपछि हामीलाई खेल्न सक्ने नजरले हेरियो ।’ मिडियाको प्रभावसँगै आफूहरुलाई क्लब दर्ता गर्न समेत सहज भएको उनले बताए ।
नेपाली खेलाडी मात्र सहभागी उक्त क्लबमा अहिले २५ जना खेलाडी छन् । क्लबले तेस्रो डिभिजनमा राम्रो प्रदर्शन गर्ने चारजना खेलाडीलाई विभिन्न बिधामा उत्कृष्ट घोषणा गर्दै सम्मान गरेको छ ।सबल क्षेत्री उदयमान खेलाडी घोषित भए । कुशलराज अधिकारी उत्कृष्ट बलर चुनिए भने उत्कृष्ट खेलाडी विकास तिमिल्सिना बनदा र उत्कृष्ट फिल्डर सुजन अधिकारी भए ।उनीहरुलाई कोपनहेगन कमुन (नगरपालिका) ले खेल अभ्यासका लागि क्रिकेट खेल मैदान र हलहरु निशुल्क उपलब्ध गराएको छ । क्रिकेट बोर्ड एशोसिएशनले खेलाडीलाई कोचिङ दिएर सहयोग गरिरहेको जनाउदै संयोजक चन्दले पहिलो डिभिजनामा आएपछिमात्र एशोसिएशनले आर्थिकसहित अन्य सहयोग गर्ने बताए ।
आर्थिक समस्या चुनौतिदोस्रो डिभिजनको प्रतिस्पर्धामा जान आफूहरुलाई आर्थिक समस्या भएको उनले बताए । चन्दका अनुसार तेस्रो डिभिजन खेल्दा करिब २५ हजार डेनिर क्रोनर खर्च भएको थियो ।तर,दोस्रो डिभिजनमा ७० देखि ८० हजार क्रोनर खर्च हुनेछ । दोस्रो डिभिजन खेल्न डेनमार्कमा टाढा टाढा पुग्नुपर्ने भएकाले यातायात खर्च, होटल, खाना, अम्पाएर शुल्क, खेल समाग्री लगायतामा खर्च गर्नुपर्ने हुन्छ ।तेस्रो डिभिजनसम्ममा खेल्दा खेलाडीहरु आफैले रकम संकलन गरेर खेलेको जनाउँदै उनले भने, ‘अब हामीलाई बाहिरी सहयोगको खाँचो छ ।’
आफूहरुलाई राम्रो खेलाडीका रुपमा हेरिएको जनाउदै अर्का खेलाडी दिपेन्द्र बिष्टले नेपाली खेलाडीहरु डेनमार्कको राष्ट्रिय क्रिकेट खेलाडीमा पुग्ने सम्भावना बोकेका बताए ।‘छोटो समयमै राम्रो प्रगति गरेका छौँ त्यसैले तिमीहरुको भविष्य राम्रो छ’, कोचको भनाइलाई उल्लेख गर्दै बिष्टले भने । काम र पढार्इसहित व्यस्त दैनिकीबाट केही समय निकालेर उनीहरु सातामा एक, दुई पटक अभ्यास गरिरहेका छन् । छोटो समयको अभ्यासले पनि उनीहरुले डेनमार्कमा छोटो अवधिमै गतिलो छाप छाड्न सफल भएका छन् ।