बाँके । नेपालगन्जको फत्तेवाल आँखा अस्पतालमा नेपाली भन्दा भारतिय सेवाग्राहीमा बृद्धि भएको छ ।
राम्रो सेवाका साथ आँखाको उपचार हुने भएका कारण भारतीय आँखा रोगीहरु सो अस्पतालमा आउने गरेका हुन । भारत बहराइचका मुस्लिम खाँनले भारतमा भन्दा नेपालमा राम्रो उपचार हुने भएकोले उपचारका लागि आफु नेपालगन्जमा आएको बताए । भारतको लखनउ, कानपुर भन्दा राम्रो उपचार हुने उनले बताए । खाँन जस्तै बहराइचकै अब्दुल अलिले पनि पनि राम्रो उपचार नेपालगन्जमै हुने भएकोले आफु उपचारका लागी नेपालगन्ज आउने गरेको बताएका थिए ।
नेपाली आँखा रोगीको तुलनामा भारतका आँखा रोगीहरु बढि आउने गरेको आँखा अस्पतालले जनाएको छ । फत्तेवाल आँखा अस्पतालमा ठुलो सख्यामा भारतीय विरामी उपचारका लागि आउने गरेको अस्पतालका प्रवन्ध निर्देशक डा. कौशल कुमार वर्माले बताए ।
बहिरंग विभागमा उपचारका लागि आउने विरामी भारतीय नै हुने गरेका छन् । भारतको बहराइच, गोण्डा, श्रावस्ती, गोरखपुर, लखिमपुर, सीतापुर, बाराबंकी, लखनउ, अयोध्या, फैजावाद, सुल्तानपुर सम्मबाट विरामीहरु फत्तेबाल आँखा अस्पतालमा उपचारका आउने गरेका छन् । विशेषज्ञ चिकित्सक र सेवा राम्रो भएका कारणले नै धेरै भारतीय विरामी उपचारको लागि आउने गरेको डा. वर्माको दाबी रहेको छ ।
सो अस्पतालले आँखा सम्बन्धि सबै रोगको परीक्षण तथा औषधी उपचार सेवा प्रदान गर्दै आईरहेको छ । अस्पतालमा ४ जना नेत्र विशेषज्ञ चिकित्सक सहित ३६ जना स्वास्थ्यकर्मी सहित ७६ जना कर्मचारी रहेका छन ।