सुर्खेत । जेठ ८ गतेदेखि सञ्चालन गरिएको दोस्रो विशेष भर्ना अभियानको तथ्याङ्क बिहीबार सुर्खेतमा सार्वजनिक गरिएको छ ।
शिक्षा विकास तथा समन्वय एकाइ सुर्खेतले सो तथ्याङ्क सार्वजनिक गरेको हो । सार्वजनिक तथ्याङ्कअनुसार सुर्खेतमा ३ सय ८० बालबालिका अहिले पनि विद्यालयको पहुँच बाहिर छन् । तीमध्ये २ सय १३ छात्रा र १ सय ६७ छात्र छन् ।
अभिभावकको संरक्षणमा नरहेका सडक बालबालिका, अत्यन्तै अशक्त अपाङ्गता भएका व्यक्ति, आर्थिक रुपले विपन्न, जन्मदर्ता भएका तर बाबुआमासँगै बाहिर गएका कारण ३ सय ८० बालबालिका विद्यालयको पहुँच बाहिर रहेको समन्वय एकाइ सुर्खेतका प्रमुख जितबहादुर शाहले जानकारी दिनुभयो ।
‘सरकारी सामुदायिक विद्यालयमा कक्षा १देखि १२ सम्म ९१ हजार विद्यार्थी भर्ना भएका छन् । तीमध्ये १४ हजार ६ सय ३१ विद्यार्थी नयाँ भर्ना लिइएको छ’, एकाइ प्रमुख शाहले भन्नुभयो । संस्थागत विद्यालयको तथ्याङ्क बेलैमा आउन नसकेकाले यसमा समावेश नगरेको र बाल विकासको तथ्याङ्क पनि नजोडिएको उहाँले बताउनुभयो ।
उहाँले नेपाल सरकार शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय र मन्त्रिपरिषद्को जेठ ४÷५ गतेको निर्णयबमोजिम पहिलोपटक यो वर्षको जेठ ८ गतेदेखि दोस्रो चरणको विशेष भर्ना अभियान सञ्चालन गरिएको जानकारी दिनुभयो । शिक्षाको पहुँचभन्दा बाहिर कोही बालबालिका नरहुन् र उनीहरुको शिक्षाको अधिकार सुनिश्चत होस् भन्ने अभिप्रायले सरकारले बालबालिका भर्ना अभियान दोस्रोपटक सञ्चालन गरेको उहाँको भनाइ छ ।
शिक्षा विकास तथा समन्वय एकाइ सुर्खेतले जिल्लाका ९ वटै स्थानीय तहका जनप्रतिनिधि, शिक्षा क्षेत्रमा कार्यरत संघसंस्था तथा अन्य सरोकारवालाको समन्वयात्मक बैठकबाट दोस्रो चरणको विशेष भर्ना अभियान सञ्चालन गरेको थियो ।