मुस्ताङ । लो घेकर दामोदरकुण्ड गाउँपालिका–३ स्याङ्बोचेमा टिपर दुर्घटनामा मृत्यु भएका १९ मध्ये १८ जनाको सनाखत भएको छ ।
मृत्यु हुनेमा रोल्पाका १९ वर्षीय महेश रोका, २८ वर्षीय सुपमान रोका, २१ वर्षीया जीतमाया घर्ती, ३२ वर्षीय शोन्तु घर्ती, २० वर्षीया सिर्जना मगर, २३ वर्षीय राष्ट्रे रोका र ३२ वर्षीय राजकुमार पुन छन् । त्यसैगरी दाङका ३० वर्षीय बालकुमार घर्ती, ३१ वर्षीया कविता घर्ती मगर, ४३ वर्षीया शान्ति थापा, ३५ वर्षीय सुबेर चौधरी र २५ वर्षीय कमल बुढा छन् ।
धादिङका २३ वर्षीय सुजन घलान, सिन्धुपाल्चोकका २० वर्षीय जीवन माझी, कैलालीका २२ वर्षीया बिन्ती घर्ती र २३ वर्षीया विनीता घर्ती, कपिलवस्तुका ३५ वर्षीय कमानसिंह रोका र स्याङ्जाका २४ वर्षीय कृष्ण क्षेत्री छन् । मृतकमध्ये एक जनाको नाम खुल्न सकेको छैन ।
बेनी–कोरला सडक खण्डमा काम गर्ने मजदुर चढेको बा २ क २२१९ नम्कोबर टिपर आज अपराह्न दुर्घटनामा परेको हो । गम्भीर घाइते तीन जनालाई एयर डाइनेस्टीको हेलिकप्टरमार्फत पोखरा पठाइएको घटनास्थलबाट घनी प्रहरी चौकीका प्रहरी हवल्दार कृष्णगोपाल परियारले जानकारी दिनुभयो ।
घाइतेमध्ये पाँच जनालाई मुस्ताङको सदरमुकाम जोमसोममा उपचारका लागि ल्याइएको छ । अन्य घाइतेलाई नेपाली सेनाको हेलिकप्टरबाट काठमाडौं पठाउने तयारी भइरहेको मुस्ताङका प्रमुख जिल्ला अधिकारी शिशिर पौडेलले बताउनुभयो ।