म्याग्दी । धौलागिरी गाउँपालिकाले चालू आर्थिक वर्ष २०७४÷७५ मा सञ्चालन गरेका अधिकांश योजना सम्पन्न भएका छन् ।
पूर्वाधारतर्फका ११०, लक्षितवर्गका ११ र रकमान्तर गरिएका १९ गरी १४० वटा योजना तथा कार्यक्रमका लागि ११ करोड ३८ लाख ८४ हजार विनियोजन भएको थियो । एक सय २५ वटा योजना तथा कार्यक्रम सम्पन्न भइ अन्तिम भुक्तानी पनि दिइएको र बाँकी योजना भुक्तानीको प्रक्रियामा रहेको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत अर्जुन शर्माले बताउनुभयो ।
आर्थिक वर्षको अन्तिमसम्म पुँजीगततर्फ विनियोजितमध्ये १० करोड १० लाख रुपैयाँ खर्च हुने उहाँको भनाइ थियो । असार १० गते सम्पन्न गाउँसभाले आगामी आवका लागि ३२ करोड २८ लाख रुपैयाँ सहित नीति तथा कार्यक्रम पारित गरिसकेको छ ।
मराङमा पुगेको, मुना–मुदी सडकको सिम्बाङसम्म मार्ग खुलेको, धारापानीमा विद्युतीकरण शुरु गरिएको, फेदीस्थित दाङखोलामा बेलीब्रिज निर्माण कार्य अन्तिम चरणमा पुगेको, तीन ठाउँमा झोलुङ्गे पुल बनाइएको, मुदीमा टेलिकमको टावर स्थापना गरेर गाउँपालिकाको केन्द्रमा सञ्चार सेवा विस्तार गरिएको, मुनामा सामुदायिक भवन निर्माण कार्य अन्तिम चरणमा पुगेको, गुर्जाको तातोपानी कुण्ड निर्माण, स्थानीय सरकार सञ्चालनसम्बन्धी कानून निर्माणलाई गाउँपालिकाले गत वर्षको मुख्य उपलब्धि मानेको छ ।दरबन्दीअनुसारका कर्मचारी, बैंकको अभाव, केन्द्रको विवाद, भौगोलिक विकटताका बाबजुद बस्तीस्तरमा राज्यको उपस्थिति गराउन र विकासको पहुँच बढाउन उत्साह र सक्रियताका साथ लागिपरेको गाउँपालिकाका अध्यक्ष थमसरा पुनले बताउनुभयो ।उपाध्यक्ष रेशम छन्त्यालले ताकममा असार महिनाभित्रै प्रभु बैंकको शाखा स्थापना हुन लागेको जानकारी गराउँदै स्थायी कार्यालयबाट नियमित सेवा प्रवाहलाई सहज बनाउने प्रतिबद्धता जनाउनुभयो । स्थानीय सरकार सञ्चालनसम्बन्धी सात वटा कानून निर्माण भएको र न्यायिक समिति गठन गरेर काम शुरु गरिएको उहाँले जानकारी दिनुभयो ।
जिल्ला समन्वय समितिका प्रमुख देवेन्द्रबहादुर केसीले दुर्गमस्थानमा पूर्वाधार र पर्याप्त जनशक्तिको अभाव भएपनि उक्त गाउँपालिकाले विकास निर्माणको क्षेत्रमा महत्वपूर्ण उपलब्धि हासिल गरेको चर्चा गर्दै आवश्यक जनशक्तिको व्यवस्थापन र विकासका लागि प्रदेश तथा संघीय सरकारसँग पहल गरिने बताउनुभयो ।
यसैबीच धौलागिरि गाउँपालिका–४ स्थित धौलागिरि हिमालको आधार शिविरमा पुग्ने पदमार्ग निर्माण भएको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको आर्थिक सहयोगमा बगरदेखि दोभानसम्मको विभिन्न तीन ठाउँमा पदमार्ग र काठको पुल निर्माण गरिएको हो । रु २० लाखको लागतमा तीन किलोमिटर पदमार्ग र दुई वटा काठका पुल निर्माण गरिएको उपभोक्ता समितिका अध्यक्ष टेकबहादुर तिलिजाले जानकारी दिनुभयो ।
पदमार्ग निर्माणका लागि मन्त्रालयले २० लाख रुपैयाँ अनुदान उपलब्ध गराएको थियो । घाप्दादेखि अपरवास धारासम्म एक किलोमिटर, अर्चेसदेखि दोभान खोलासम्म १ हजार ३ सय मिटर, कैचिभिरदेखि तलित्रेसम्म र दोभान खोलामा दुई वटा काठका पुल निर्माण गरिएको उहाँले बताउनुभयो ।
भिर र जंगलमा मानिस, गाईबस्तु र घोडा खच्चर हिँड्न सक्ने बाटो बनाइएको छ । नयाँ पदमार्ग निर्माण भएपछि धौलागिरि आधार शिविर पुग्न तीन घण्टा समय लगाएर घुमाउरो बाटो हिँड्नुपर्ने समस्या हटेको स्थानीयवासी चन्द्र छन्त्यालले बताउनुभयो । धाप्चाभिर र कैचीभिरमा दुई काठका पुल बनाइएको छ ।
मिलनचोक–जलजला केबुलकार
सडक पूर्वाधार, कृषि उपजको बजारीकरण, आयआर्जन र सार्वजनिक शिक्षाको गुणस्तर सुधारका योजनालाई प्राथमिकता दिएको जलजला गाउँपालिकाले आगामी आर्थिक वर्ष २०७५÷७६ का लागि करिब ३८ करोड रुपैयाकोँ बजेट सार्वजनिक गरेको छ ।
धाइरिङको मिलनचोकदेखि जलजलासम्म काठमाडौँको चन्द्रगिरिको जस्तै केबुलकार निर्माण गर्न सम्भाव्यता अध्ययनलगायतका कामका लागि लगानीकर्ताको खोजी गरिने उक्त गाउपालिकाका अध्यक्ष यामबहादुर मल्लले प्रस्तुत गर्नुभएको नीति तथा कार्यक्रममा उल्लेख छ ।
गाउँसभामा उपाध्यक्ष सीमा गर्बुजा पुनले ३७ करोड ९० लाखको आय–व्यय विवरण प्रस्तुत गर्नुभएको थियो ।