मेघराज तामाङ
संखुवासभा । वर्षायाम सुरु भएसंगै संखुवासभा र धनकुटाको हिले जोड्ने तुम्लिङटार–हिले सडक खण्डमा यात्रुहरुले मार खेप्नु परेको छ । कच्ची सडकका कारण सवारी आवातजावतमा समस्या परेको हो ।
यो सडक खण्डको केहि स्थानमा बाटो राम्रो भए पनि लेगुवा–हिले खण्डमा सडकको दुर्दशाका कारण यात्रुहरुले सास्ती भोग्नु परिरहेको छ । कच्ची सडक भएकाले पानी पर्ने बित्तिकै यातायात ठप्प हुन्छ । साँघुरो सडक त्यसमा पनि ठूला मालबाहक गाडीहरुको आवतजावतले सडकको स्थिति झनै कम्जोर बन्दै गएको हो ।
सरोेकारवाला निकायले ध्यान नदिँदा र जनप्रतिनिधिहरुले यस विषयमा चाँसो नराख्दा सास्ती खेप्नु परेको स्थानीयहरु बताउँछन् । जनप्रतिनिधहिरुले सडकको स्थितिको बारेमा अहिलेसम्म चाँसो नराखेको र सम्बन्धीत निकायलााई खबरदारी नगर्दा यात्रुहरु बिचैमा अलपत्र पर्ने गरेको उनीहरु बताउँछन् ।
हिउँदमा सडक धुलाम्मे भएपनि तीन घण्टामा पार गरिन्थ्यो तर अहिले दिन भरीमा पनि नसकिने र कष्टकर यात्रा हुने खाँदबारीका मोहन तामाङले बताउनुभयो । उनले भने–अकरको बाटो त्यसै नै सानो छ, त्यस माथी वर्षायामको वर्षा संगै यात्रा गर्न जोखिम हुने र अरु विकल्प नहुँदा जोखिम यात्रा गर्न बाध्य भएका छौं ।
चुनावका बेला यी सडकखण्डहरु बाह्रै महिना सञ्चालन गर्ने मुख्य एजेन्डा लिएर निर्वाचनमा होमिएकाहरु अहिले बेखबर छन् । निर्वाचनमा हारेकाको त कुरै छाडौं जीतेकाहरुले मुख बाएका छैनन्, देवराज पुरीले भन्नुभयो ।
सडकमा परेको खाल्डोमा सवारीसाधन फस्दा दुई घण्टाको दूरी पार गर्न ६ घण्टासम्म लाग्ने गरेको छ । हिलो सडकमा सवारी साधन गुड्न नसक्दा संखुवासभाबासीले खाद्यान्न तथा दैनिक उपभोग्य वस्तु ढुवानीमा समेत वर्षैपिच्छे सास्ती ब्यर्होनु परेको व्यवसायीहरु बताउँछन् । हिउँदका समयमा धनकुटाको हिलेबाट सामान लोड गरेर दुई दिनमा सदरमुकाम खाँदबारी पुग्ने भए पनि वर्षायाममा एक सातासम्म लाग्ने गरेको डम्बर श्रेष्ठले बताउनुभयो ।
सडकको दुर्दशाका कारण यसरी यात्रुहरुले सास्ती भोग्नु परिरहेको पनि यहाँका यात्रुहरुलाई नौलो कुरा भने होइन । हिउँदमा धुलाम्मे र वर्षायाममा हिलाम्मे हुने यो सडकमा वर्षै पिच्छे छुट्याइएका मोटो रकम यसरी नै धुलो र हिलोमा परिणत हुने गरेको छ । लेगुवा–हिले र टुटेदेउराली–मुडे गरी दुई ओटै संखुवासभा प्रवेशमार्गका सडकको यस्तो अवस्थाका कारण यात्रुहरुले कहिलेसम्म दुख पाउने हो भन्ने टुंगो छैन ।