काठमाडौं । हुन त यो वर्षको दशैं आउन अझै तीन महिना भन्दा बढी समय बाँकी छ । तर नेपाली चलचित्र क्षेत्रमा भने अहिलेदेखि नै दशैंले माहोल तताउन शुरु गरिसकेको छ । दशैं विदालाई लक्षित गरि दुई चलचित्र जय भोले र छक्कापञ्जा ३ ले एकैदिन रिलिज मिति तोकेपछि तातिएको माहोल दुवै चलचित्रका निर्देशकको पछिल्लो अभिव्यक्तिले झनै तातेको छ ।
चलचित्र वितरक कम्पनी डिसीएनसँग आवद्द निर्देशक अशोक शर्माले झण्डै दुई दशकपछि निर्देशन गरेको चलचित्र जय भोलेले निर्माण अघि नै आगामी दशैंमा रिलिज हुने घोषणा गरेको थियो । उता पहिलो चलचित्रदेखि नै हरेक दशैंमा रिलिज गर्दै आएको चलचित्र छक्कापञ्जा टिमले तेस्रो सिक्वेल पनि दशैंकै अवसरमा रिलिज गर्ने घोषणाकासाथ हाल धमाधम छायांकन जारी राखेको छ । जय भोलेले सम्पूर्ण छायांकन सकाएर गीत र टिजर समेत सार्वजनिक गरिसकेको छ । तर दर्शकहरुको प्रतीक्षाको सूचीमा रहेको दुवै चलचित्रले दशैंको विदालाई रिलिज मिति तय गरेपछि माहोल अहिलेबाटै तातिन शुरु गरेको छ ।
जय भोलेका निर्देशक एवम् निर्माता अशोक शर्मा आफ्नो पूर्व घोषणाबाट पछि हट्ने मुडमा देखिदैनन् । आफूले छक्कापञ्जा ३ भन्दा अगाडिदेखि नै दशैंमा रिलिज गर्ने योजनाकासाथ चलचित्र निर्माण गरेकोले कुनै हालतमा पछि नहट्ने निर्देशक शर्मा बताउछन् । परिआए आफू छक्कापञ्जा ३ सँग भिड्न तयार रहेको उनले बताए । उनले भने–'मैले कुनै फिल्मसँग जुधाउछु भनेर जय भोलको निर्माण गरेको होइन । फेरि एक दुईटा फिल्मसँग जुध्दैमा खासै आत्तिनुपर्ने अवस्था पनि छैन ।'
'मैले कुनै फिल्मसँग जुधाउछु भनेर जय भोलको निर्माण गरेको होइन । फेरि एक दुईटा फिल्मसँग जुध्दैमा खासै आत्तिनुपर्ने अवस्था पनि छैन ।'
उता विगत केही वर्षदेखि सोलो मार्केट क्याप्चर गर्दै आएको छक्कापञ्जा ३ का निर्देशक दीपाश्री निरौला भने यसपटकको दशैं पनि आफ्नै पोल्टामा पार्ने रणनीतिमा रहेकी छिन् । उनी जयभोलेसँग मात्र होइन कुनै नेपाली चलचित्रसँग छक्कापञ्जा ३ जुधाउने योजनामा छैनन् । न त चलचित्रको रिलिज मिति सार्न नै उनी राजी छिन् । जनता समाचारसँगको कुराकानीमा निर्देशक दीपाश्रीले अशोक शर्मा जस्तो दिग्गज निर्देशकले फिल्म नजुधाउनेमा आफू विश्वस्त रहेको कुटनीतिक प्रतिक्रिया दिइन् । 'हरेक वर्षको दशैंमा हामीले फिल्म रिलिज गर्दै आएकाछौं । त्यसैले यसपटक पनि दशैंमा अशोक दाइसँग छलफल गरेर छक्कापञ्जा ३ रिलिज गर्छौं',दीपाले भनिन् ।
'हरेक वर्षको दशैंमा हामीले फिल्म रिलिज गर्दै आएकाछौं । त्यसैले यसपटक पनि दशैंमा अशोक दाइसँग छलफल गरेर छक्कापञ्जा ३ रिलिज गर्छौं ।'
विगतमा आफूसँग जुधाउन आएका केही चलचित्रहरुको राइट्स नै किनेर छक्कापञ्जा चलाएका दीपाश्री र दीपकको समूहलाई यसपटक भने मुस्किल पर्ने देखिएको छ ।
अहिलेसम्मको मुड अनुसार जय भोलेका निर्देशक अशोक शर्मा कुनै पनि हालतमा छक्कापञ्जासँग नझुक्ने मनस्थितिमा छन् । नेपाली चलचित्र क्षेत्रमा बेलाबेलामा देखिने यस्ता छक्कापञ्जा अस्वभाविक होइन । तर जुङ्गाको लडाइमा दुवै चलचित्रको दुर्गति नहोस् ।