प्रकाश न्यौपाने
भैरहवा । सिद्धार्थनगर नगरपालिकाले रुपन्देहीको नेपाल–भारत सीमानाका बेलहियामा नेपालको चिनारीसहित बुद्धत्व झल्कने आकर्षक प्रवेशद्वार बनाउन निर्माण कम्पनीसँग ठेक्का सम्झौता गरेको छ ।
नगर प्रमुख हरिप्रसाद अधिकारीले कार्यभार सम्हालेको एक वर्ष पुगेको अवसरमा गेट निर्माण सम्झौता गरिएको हो । सोमबार नगरपालिका र निर्माण कम्पनी प्राकृतिक निर्माण प्रालि भैरहवाबीच सम्झौता भएको छ । १ करोड ९९ लाखमा निर्माण हुने गेट ठेकेदार कम्पनीले आउँदो २०७६ मसान्तभित्र निर्माण गरिसक्ने गरी सम्झौता गरिएको हो ।
नगरपालिकाले नेपाल आउने पर्यटकहरुले बुद्धभूमि आइपुगियो भन्ने सन्देश दिने कलात्मक शान्तिद्वार निर्माण गर्न लागेको जनाएको छ । प्रवेशद्वार ५० मीटर लम्बाई, २३ मीटर ८० सेन्टिमीटर चौडाई तथा सडकदेखि २९ मीटर अग्लो हुनेछ ।
द्वारलाई नेपालको चिनारी झल्कने कलात्मक बस्तु, स्वयम्भूको आँखासहितको बुद्ध चिनारी, अशोका, स्तूपा, विभिन्न १२ वटा बुद्ध मूर्ति, हर्निका, आर्च, स्पायर गजूर, हरियाली जोन, नेपाल«को राष्ट्रिय झण्न्डा, बुद्ध झण्डाले सिंगारिनेछ । यस्तै द्वारामा बौद्ध ध्वनी गुन्ज्याएमान पनि हुने छ भने यो नेपालकै नमूना गेट हुने नगरपालिकाको दावी छ ।
पुरातत्वविद्, लुम्बिनीका जानकार, शान्तिका अभियन्ता, संस्कृतिविद्, समाजसेवी, बुद्धिजिवी, इन्जिनियर, प्रभुद्ध व्यक्ति, जनप्रतिनिधि, परामर्शदाता, बौद्ध ज्ञाता र नगरबासीको छलफलमा प्रवेशद्वारको आकाडा तयार पारिएको हो ।