काठमाडौं । वहुप्रतिक्षित चलचित्र नाई नभन्नु ल ५ को ट्रेलर सार्वजनिक भएको छ ।
मंगलवार एक कार्यक्रमकाबीच सार्वजनिक गरिएको चलचित्रको ट्रेलरमा चलचित्रका अधिकांश कलाकारहरु फिचरिङ छन् । नाई नभन्नु लको चौथो सिरिजको सफलता पश्चात करिब दुई बर्षको अन्तरालमा वान टाईम सिनेमाको ब्यानरमा नाई नभन्नु ल ५ निर्माण भएको हो । पाँचौं सिरिजमा पनि बाल कलाकार अनुभव रेग्मी केन्द्रीय भूमिकामा छन् । यसपटक प्रियंका कार्की पनि दोहोरिएका छन् ।
हरेक सिक्वेलमा नयाँ अनुहार भित्राउदै आएका निर्देशक विकासराज आचार्यले यसपटक पनि दुई अनुहार अभिषेक नेपाल र सेड्रिना शर्मालाई चलचित्र नाई नभन्नु ल ५ मा डेब्यु गराएकाछन् । स्वस्तिमा खड्काको अपोजिटमा रहेका अभिषेक नेपालले आफू स्वस्तिमाको फ्यान रहेको बताए । पहिलो चलचित्रमै उनै स्वस्तिमासँगै सहकार्य गर्दा सुरुमा नर्भस भए पनि काम गर्न सजिलो भएको जनता समाचारलाई बताए ।
चलचित्रमा दीलिप रायमाझी,प्रियङ्का कार्की,केकी अधिकारी,स्वस्तिमा खडका,उत्तम केसी, जयनन्द लामा, बुद्धि तामाङ,बाल कलाकार अनुभब रेग्मी र सेड्रीना शर्माको अभिनय रहेको छ । लामो समयपछि निरुता सिंहलाई पनि चलचित्रमा हेर्न पाइनेछ । उनी केमियो भूमिकामा रहेकीछिन् ।
अघिल्ला चलचित्रमा जस्तै नाई नभन्नु ल ५ पनि पारिवारिक तथा मिठो प्रेमकथामा आधारित रहेको निर्देशक आचार्यले बताए । हाँस्य चलचित्रले बजार लिदै आएको अहिलेको अवस्थामा पनि चलचित्र नाई नभन्नु ल ५ लाई आम दर्शकले मन पराउनेमा निर्देशक आचार्य विश्वस्त छन् ।
निर्माता हरिबोल भण्डारी,गौरी जोशी तथा कार्यकारी निर्माता दिनेश पोखरेल,पुरुषोत्तम प्रधान र बिष्णुमणि दाहाल रहेको उक्त चलचित्रलाई पत्रकार सामीप्यराज तिमल्सिना र निर्देशक आचार्यले लेखेका हुन् । चलचित्र यही भदौ ८ गतेबाट विदेशका केही स्थानसँगै देशभरका सिनेमा हलहरुमा एकसाथ प्रदर्शन हुने पत्रकार सम्मेलनमा जानकारी गराइयो ।
https://www.youtube.com/watch?v=rauujlVEZPE