भूमिराज पराजुली
झापा । ‘बैगुनधुरा झापा स्थित चिनारी टि स्टेटको ३५ बिघा जमिनमा २० बर्ष अघि लगाएको र राम्रो रेखदेख गरिएको बगानको हरियो पत्ती निसुल्क टिपि लिनेलाई दिईएको जानकारि गराउछु । आवस्यक हुनेले संपर्क गर्नुहोला ।
’ यो वाक्याशं गौरादह नगरपालिका वडा नं १० बैगुन्धुरामा रहेको चिनारी टि स्टेटका संचालक समेत रहनु भएका प्रकाश बुढाथोकीको हो ।
‘लगातार हरियो चियाको मूल्य ओरालो लागेपछी चियाको बिकल्प खोज्नु पर्ने भएकोले सार्वजनिक रुपमै हरियो चिया पत्ती टिपेर निशुल्क लैजान अनुरोध गरिएको संचालक बुढाथोकीले प्रतिक्रिया दिनुभयो ।
चिया पत्तीको मूल्य निरन्तर ओरालो लागेपछी अहिले चिया खेती मास्न किसानले पत्ती टिप्ने मान्छे खोजेका हुन् । त्यसवापत उनीहरुले चिया नै निःशुल्क दिने बताएका छन् । तयारी चियाको मूल्य बढे पनि हरियो पत्तीको मूल्य निरन्तर खस्केपछी चियाको खेती छाडेका किसान अब बाँकी रहेको चिया पत्ती टिप्न लगाएर चिया खेती मास्ने सोचमा छन्।
२० वर्षदेखि निरन्तर चिया लगाइ रहे, हरियो पत्तीको मूल्य कहिले बढेन, बुढाथोकीले दुखेसाे पाेखे, यस पटक त चिया टिप्नेलाई हरियो पत्ती निशुल्क दिने भनेर घोषणा गरेको छु । बुढाथोकीका अनुसार २०५५ सालमा तयारी चियाको मूल्य १ सय २५ हुदाँ हरियाे चिया पत्तीको मूल्य १८ रुपैयाँ थियो ।
तर अहिले तयारी चिया ३ सय ५० रुपयाँ बढी पुगे पनि पत्तीको मूल्य घटेर ८ रुपैयाँमा आएको छ । तयारी चियाको मूल्य निरन्तर उकालाे लागे पनि हरियो पत्तीको मूल्य निरन्तर ओरालो लाग्ने अवस्थामा खेती गर्न नसक्ने भएरै हामीले मास्न लागेका हौ, बुढाथोकीले भने, यस पटक पनि अहिलेसम्म चिया टिप्न मजदुर लगाएका छैनौ ।
चिया उद्योगले लागत अनुसारको मूल्य दिन छाडेपछि अहिले बिस्थापित हुने खतरा बढेको उनले बताए । चियाकाे शुरुवाती अवस्थामा मूल्यमा एकरुपता थियो तर अहिले अन्तराष्ट्रिय मूल्य छैन, भारतका उद्योगीले बोलेका भरमा मूल्य निर्धारण हुन्छ उनले भने ।
झापामा मात्र १० हजार दुई सय ९२ हेक्टर जमिनमा चिया खेती हुने गरेको छ । त्यसमध्ये तीन हजार सात सय दुई हेक्टर जमिनमा साना किसानको चिया बगान रहेको चिया तथा कफी विकास बोर्डले जनाएको छ । कुल उत्पादनको ३७.५७ प्रतिशत चिया साना किसानले उत्पादन गर्दै आइरहेका छन् ।