-सञ्जय चौधरी
काठमाण्डौ । काठमाण्डौमा युरोपियन युनियन फिल्म फेस्टिभल हुने भएको छ । युरोपियन युनियनले आयोजना गर्ने फिल्म फेस्टिभल तीन दिनसम्म चल्नेछ ।
यहि असार ३० देखि असार ३२ सम्म नेपाल पर्यटनबोर्डमा ३ दिने युरोपियन युनियन फिल्म फेस्टिभल हुन लागेको हो । युरोपियन युनियन (इयु) काठमाण्डौं र दिल्लीको संयुक्त आयोजनामा हुने सेभेन्थ एन्युल थ्री डे’युरोपियन फिल्म फेस्टिभल’मा १२ युरोपियन फिल्म प्रदर्शन गरिने छ । जसमा युके,जर्मनी,इटली,फ्रान्स,फिनल्यान्ड,चेक रिपब्लिक,लाटिभा,लक्जम्बर्ग र पोर्चुगल लगायतका ९ युरोपियन युनियनका सदस्य राष्ट्रका चलचित्रहरुहरु रहनेछन् ।
फेस्टिभलमा युकेको माई प्योर ल्याण्ड,जर्मनीको बर्लिन बेबिलोन,चेक रिपब्लिकको तेओरे ट्याग्रा,लाटिभियाको डिफेन्डर्स अफ रिगा,फ्रान्सको एल् ओडेस्सी,फिनल्याण्डको इस्केप फ्रम द मुमिन भ्याली,इटलीको टारन्टा अन द रोड,लक्जम्बर्गको एटेलियर लगायतका चलचित्रहरु प्रदर्शन गरिने छ ।
प्रदर्शन गरिने ११ चलचित्र मध्ये ५ चलचित्रहरु युरोपियन कलाकारको कलाकारिता र उनीहरुले आर्जन गरेका ज्ञानमा आधारित छन् भने बाँकी ६ चलचित्रहरुले बृद्ध बृद्धा,लैंगिक असमानता,बसाईंसराईं लगायतका वर्तमान विश्वमा देखिएका मुद्धाहरुलाई उठान गरेको छ ।
यो फिल्म फेस्टिभललाई युरोपियन फिल्म मेकर र नेपाली फिल्म मेकरहरुबिच आईडिया र अनुभव साटासाट गर्ने मञ्चको रुपमा लिएको नेपालका लागि युरोपियन युनियनका राजदुत भेरोनिका कोडिले जनत समचारलाई बताइन् । साथै यो फेस्टिभलबाट नेपाली फिल्म कर्मीहरुले नयाँ नयाँ प्रविधिकाबारेमा धेरै ज्ञान आर्जन गर्न सकिने कोडिको विश्वास छ ।
नेपालभर युरोपियन फिल्म पुर्याउने उदेश्यले यही असार २२,२३ र २४ गते सुन्दर पर्यटकीय नगरी पोखरामा युरोपियन फिल्म फेष्टिबल आयोजना गरिएको थियो । हरेक वर्ष नेपालमा आयोजना गरिदै आएको युरोपियन युनियन फिल्म फेस्टिभलको यो सातौं संस्करण हो ।