–अर्जुन थपलियाजनता टेलिभिजनको प्रथम वार्षिकोत्सव पुरस्कार वितरण समारोहमा सम्बोेधन गर्दै टेलिभिजनका अध्यक्ष डा. विजयकुमार पौडेलले भन्नुभयो, ‘मानिस संसारमा दुई कारणले दुःखी छन् ।’ एउटा काम गर्नेहरूले भन्दा नगर्नेहरूले अपार सम्पत्ति थुपार्नु, अर्को मानिसमा व्याप्त ‘इगो’ अर्थात् अहंकार । दुःख र दुःखी मानिस झुपडीमा मात्र छैनन् । अभावग्रस्त र आर्थिकरूपमा गरिब वा दरिद्र भनिएकाहरू मात्र दुःखी छैनन् । अपार धनदौलत हुनेहरू र महल अट्टालिकामा बस्नेहरू पनि दुःखी छन् । त्यो दुःखको कारण ‘इगो’ हो । अध्यक्ष पौडेलले इगो सबै मानिसमा हुन्छ तर मात्रात्मकरूपमा फरक हुन्छ भन्नुहुँदै सञ्चारजगतमा काम गर्नेमा अचाक्ली इगो हुने गरेको अनुभव सुनाउनु भयो ।
संसारका धेरैजसो राजनीतिज्ञ र दार्शनिकले गरिबीको उपचार खोज्न बौद्धिकता प्रयोग गरे । यस्तैमा, २१ औँ शताब्दीका चर्चित दार्शनिक ओशोले भने, ‘अमिरी अर्थात धनाढ्यताको उपचार खोज्दैछु ।’ ओशोको तात्पर्य थियो, ‘गरिबीको उपचार सहज छ तर धनाढ्यताको उपचार खोज्न अति कठिन ।’ उपचार खोज्नेक्रममा ओशोले मानवता दुःखी, दीनहीन र उपद्रवी हुनुका कारण ‘इगो र हीनताबोध’ देखाएका छन् । जनता टेलिभिजनका अध्यक्ष डा. पौडेल मूलतः माक्र्सवाद अध्येयता हुनुहुन्छ । तर जीवन र जगतलाई चौतर्फी र मिहीन तरिकाले विचरण गर्नु हुने पौडेलले पत्रकारको अन्तःस्करण छाम्न सफल हुनुभयो । पत्रकारितालाई व्यावसायिक बनाएर समाजमा प्रस्तुत भइरहेका पत्रकारको अन्तःस्करण उद्घाटित गरिदिनु भयो ।
‘चीर स्थायी सुख र आनन्द अहंकारविहीनता र समय प्रवाहको अनुभूतिविहीनता हो । समाधि र यौनक्रीडाको चरमोत्कर्षमा पुगेको बेला सामान्यतया मानिसलाई समय र जगत हेक्का हुँदैन ।’
ऐना काठको फ्रेममा जडिएको होस् वा अकबरी सुनको । ऐना अगाडि जे–जुन स्वरूपमा आउँछ, ऐनाले सर्लक्कै त्यस्तै देखाउँछ । साहित्यमा ‘उपमा र विम्व’को सुन्दर जलप लगाउने लक्षणा र व्यञ्जना विधामा ऐनालाई अविधा सूचक मानिन्छ । अर्थात् ऐना सत्य बोल्ने प्रतीकका रूपमा लिइन्छ । अध्यक्ष डा. पौडेलले जनता टेलिभिजनमा कार्यरत सकल दर्जा र जिम्मेवारी निर्वाह गर्ने कर्मचारीलाई वार्षिकोत्सव समारोहमा ऐना देखाइ दिनुभयो । सञ्चारकर्ममा लाग्नेमा ‘इगो’ को मात्रा ज्यादा भइरहेको यथार्थलाई ऐना बनेर देखाइदिनु भयो । टेलिभिजन सञ्चालनको एकवर्षमा उच्च व्यवस्थापनमा बसेर काम गरिरहँदा उच्चतम अध्ययन, ठम्याइलाई डा. पौडेलले सारमा प्रस्तुत गर्नुभयो । तर, सहभागी कर्मचारी तथा व्यवस्थापनका अन्य ओहोदाधारी व्यक्तित्वले कति सुन्नुभयो र कति ग्रहण गर्नुभयो, त्यो आफ्नै स्थानमा छ ।
ओशोको भनाइमा मानिस दुई अवस्थामा मात्र ‘इगोलेस’ अर्थात अहंकारविहीन हुन्छ । एउटा ध्यान विधिद्वारा समाधिमा पुगेको मनुष्य ‘इगोलेस’ हुन्छ, अर्को यौनक्रीडाको चरमोत्कर्षका बेला मानिस ‘इगोलेस’को अवस्थामा पुग्छ । उनले आफ्नो ‘सर्वाधिक विवादित प्रवचन’मा पनि भनेका छन्, ‘सम्भोगबाट पनि समाधिमा पुग्न सकिन्छ ।’ मनुष्यले जीवित छँदै ध्यान विधिद्वारा समाधि प्राप्त गर्ने आध्यात्मिक साधना गर्छन् । इगोलेसनेस र टाइमलेसनेस (समयविहीन र अहंकारविहीन) मानवचित्तमा पारलौकिक परमानन्द अनुभूत हुन्छ । ओशो थप्छन्, ‘टाइमलेसनेस र इगोलेसनेस मानवचित्तको अति दुर्लभ अवस्था हो । यो अवस्थामा मनुष्यको चित्त अत्यन्त प्रफूल्लित र सुखी हुन्छ । प्रष्ट्याएका छन्, ‘अन्य सबै सुख क्षणभंगुर हुन् । तर चीर स्थायी सुख र आनन्द अहंकारविहीनता र समय प्रवाहको अनुभूतिविहीनता हो । समाधि र यौनक्रीडाको चरमोत्कर्षमा पुगेको बेला सामान्यतया मानिसलाई समय र जगत हेक्का हुँदैन ।’
ऐना काठको फ्रेममा जडिएको होस् वा अकबरी सुनको । ऐना अगाडि जे–जुन स्वरूपमा आउँछ, ऐनाले सर्लक्कै त्यस्तै देखाउँछ । साहित्यमा ‘उपमा र विम्व’को सुन्दर जलप लगाउने लक्षणा र व्यञ्जना विधामा ऐनालाई अविधा सूचक मानिन्छ । अर्थात् ऐना सत्य बोल्ने प्रतीकका रूपमा लिइन्छ ।
वास्तवमा ‘इगो’को कुनै विधायक अस्तित्व र सत्ता हुँदैन । अहंकार भौतिक बस्तु जस्तो ठोस्, तरल वा ग्यासजस्तोे होइन । ‘इगो’ मनुष्य चेतनामा भएकै खुशीको ‘उल्टो’ अवतार हो । खुशी सीधा उभिएको मनुष्य हो भने ‘इगो’ शीर्षासनमा उभिएको अवस्था । जसरी एउटा दीयो सल्किनेबित्तिकै जति पुरानो र बाक्लो अन्धकार दूर हुन्छ त्यसरी नै मनुष्यले चित्त शुद्धिकरणमार्फत इगो भगाउन सक्छ । अन्धकारको पनि विधायक अस्तित्व हुँदैन । अन्धकार उज्यालोको अनुपस्थित अवस्था मात्र हो । मनुष्यले अहंकारविहीन चित्त पैदा गर्न सक्छ । अहंकार दुःखको मूल हो । अहंकारमा मनुष्यले आफ्नो चित्त कलुषित पार्छ र दुःख आयात–आर्जन गर्छ ।
यद्यपि अहंकार विलीन वा शून्य हुनासाथ मनुष्य अलौकिक सुख अनुभूत गर्छ । अहंकारविहीनता अवस्थामा मात्र मनुष्य वास्तविक स्वरूपमा प्रकट हुन्छ । मूर्तिकारले एउटा विशाल पाषण हातमा लिन्छ । छिनो–हथौडाको सहाराले फाल्तु वा बढी भएको ढुंगा फालेपछि त्यसमा सुन्दर आकृति अर्थात् मूर्ति उत्पत्ति हुन्छ । मनुष्यभित्र अहंकार ऐँजेरु वा फाल्तु ढुंगा हो । अहंकार फालेपछि प्रशन्न चित्तमा मनुष्य प्रकट हुँदा संसार नै अर्कै हुन्छ । मनुष्यको सहजताका लागि अनेक सुविधा र विकास त भए तर स्वयम् मनुष्यमा विकासको बाधक चैँ ‘इगो’ रहिरह्यो–झांगिरह्यो ।टिआइजिएफ अर्थात् ट्विटर, इन्स्टाग्राम, जिमेल, फेसबुकः arjunactivist