संखुवासभा । यसरी खेतको डिलमा बसेर नौमती बाजाको धुनसँगै छुपुछुपु धान रोपिरहेका रोपारहरु र खेत साईरहेका बाउसेहरुको कृयाकलाप साँच्चै रोमाञ्चक देखिन्थे । आधा उमेर कटिसकेकाहरुले कही कतै देखेको भएपनि अहिलेका युवा जमातहरुको लागि यो अत्यन्तै नौलो थियो । जुन नौलो दृश्य थियो बेठी सहितको रोपाँई ।
पञ्चे बाजा अथवा नौमती बाजा बजाउँदै गरिने रोपाईलाई बेठि भनिन्छ । विशेष गरि मुखिया वा राईको खेतबारीमा रोपाई गर्दा बेठी लगाउने चलन थियो । मुख्यतः दर्जी समुदायले बाजा बजाउने र अरुले खेतमा काम गर्नु पर्ने चलन थियो । त्यसरी सुरु भएको बेठी परम्परा अहिले हराउदै गएको छ । मुखिया प्रथा हराउनु, पहिले जस्तो धेरै मात्रामा रोपाई नहुनु लगायतका कारण पछिल्लो समय बेठी हराउदै गएको बेठिका जानकारहरु बताउँछन् । तर अहिले बेठीका विषयमा नयाँ पुस्ताका धेरैलाई थाहा छैन ।
पछिल्लो समय लोप भईसकेको बेठी परम्पराको जगेर्ना गर्ने सोँचका साथ संखुवासभाको पाँचखपन नगरपालिका ६ वानाका चार दाजुभाईले बेठी लगाएका थिए । चन्द्रबहादुर, मानबहादुर, भक्तबहादुर र यत्नकुमार श्रेष्ठ चार दाजुभाईले २० बर्षपछि बेठी लगाएका हुन् । हराउनै लागेको बेठीको संरक्षण गर्नको लागि आफुहरुले यस बर्ष बेठी लगाएको बिष्णु श्रेष्ठ बताउँछन् ।
बेठीको दिन आप्mना चेलीबेटीलाई समेत बोलाएर रोपाईंँ गर्ने चलन छ । रोपाईँ सकिएपछि माटोको टिका र धानको बिउको पाती चढाएर उनीहरुलाई दक्षिणा दिने गरिन्छ ।
नौमती बाजा, दर्जनौ हलगोरु, सयौं रोपार र बाउसेहरुले एकै दिन रोपाईँ गरेर रोपाई सकेपछी भोज खाने चलन रहेकाले यसलाई किसानहरुले पर्वको रुपमा मनाउने गरेका छन् ।
बेठीको संरक्षण गर्न किसानहरुको पहुँच मात्र अपर्याप्त हुनसक्छ । त्यसैले सम्बन्धीत सरोकारवाला संघसंस्था र निकायले यसको संरक्षणमा ध्यान दिन जरुरी छ ।