भैरहवा । जिल्ला सदरमुकाम भैरहवामा रहेको सिद्धार्थनगर नगरपालिकाले आगामी आर्थिक वर्ष ०७५/०७६ देखि जेष्ठ नागरिक स्वास्थ्य सेवा अभियान सुरु गर्ने भएको छ ।
जेष्ठ नागरिकहरुको स्वास्थ्य जाँचलाई नगरका बस्तीबस्तीमा सञ्चालन गरी घरघरमा सेवा दिन लागिएको नगर उपप्रमुख उमा काफ्लेले बताउनुभयो । अभियान अन्तर्गत जेष्ठ नागरिकलाई आवश्यकता अनुसार १ हजार ५ सयसम्मको औषधि समेत निःशुल्क वितरण गरिने उहाँको भनाइ छ । यो सुविधा ८५ वर्ष माथिका जेष्ठ नागरिकले पाउने छन् ।
उहाँले आफूहरुले सबै जेष्ठ नागरिकलाई सेवा दिने चाहना हुँदाहुँदै पनि तत्काल नसकिएकाले ८५ वर्ष पुगेका लाई मात्र प्राथमिकतामा राखिएको बताउनुभयो । १३ वटा वडा रहेको नगरपालिकामा करिब दुई सय जेष्ठ नागरिक रहेको नगरपालिकाले जनाएको छ । अभियान यही महिनादेखि सुरु गर्ने भन्ने एकीन नभए पनि आर्थिक बर्ष शुरु भएलगत्तै नगरपालिकाको बोर्ड बैठक बसी मिति तय गर्ने प्रमुख प्रशासकीय अधिकृत ख्यामबहादुर थापाले बताउनुभयो । ‘जेष्ठ नागरिकलाई नगरपालिकाप्रति अपनत्व ग्रहण गराउन र उहाँहरुको सम्मान गर्नु हाम्रो उद्देश्य हो’, उहाँले भन्नुभयो– ‘आवश्यकता अनुसार आगामी दिनमा जेष्ठ नागरिकलाई सेवा दिन थप योजना बनाएर अघि बढ्छौं ।’
नगरपालिकाले अभियानमा विशेषज्ञ डाक्टर, सहयोगी संस्था, नर्सहरु, नगरका प्रतिनिधि, स्वयंसेविकाहरु परिचालन गर्ने जनाएको छ । त्यसका लागि नगरपालिकाले बजेटमा पाँच लाख रुपैयाँ छुट्याएको छ । सामाजिक विकास अन्तर्गत ३ लाख २७ हजार रुपैयाँ विनियोजन गरेको छ । यसमा नगरभित्र रहेका अस्पताल, सामाजिक संघसंस्था एवं क्लबहरुको पनि सहयोग रहने जनाइएको छ ।
आर्थिक अवस्था कमजोरका कारण स्वास्थ्य जाँचसम्म गराउन नपाएका जेष्ठ नागरिकले अभियान सञ्चालन भयो भने बस्तीबस्तीमा नै स्वास्थ्य सेवा लिन पाउने छन् । ८५ वर्ष पुगेका जेष्ठ नागरिकहरूको हकमा यो अभियान नगरपालिकामै पहिलो पटक सञ्चालन गर्न लागिएको हो । नगरभित्र स्वास्थ्य केन्द्रहरु रहे पनि शारीरिक रूपमा अशक्त भएका जेष्ठ नागरिकले सेवा लिन सकिरहेका छैनन् । अभियानले जेष्ठ नागरिकहरूलाई सेवामात्र नभई स्वास्थ्य सम्बीन्ध चेतना अभिबृद्धि समेत गर्ने नगरपालिकाले जनाएको छ ।
नगरपालिका भित्र पर्ने बस्तीहरूमा यो अभियान सञ्चालन भएपछि वर्षांैदेखि स्वास्थ्य सेवा नलिएका जेष्ठ नागरिकलाई थप राहात पुग्ने छ ।बृद्धबृद्वाहरु २० वर्षपछि भएको स्थानीय निर्वाचनबाट निर्वाचित जनप्रतिनिधि आफ्नो घरदैलोमै आएर स्वास्थ्य जीवनका लागि सहयोग गर्ने भएपछि खुखी भएका छन् ।