–अमरराज पुन
तकसेरा यात्रा
बुधबार बिहानै रुकुम पूर्वको तकसेरासम्म रिर्पोटिङमा जाने अघिल्लै दिनको योजना थियो । सल्लाहअनुसार नै हामी तकसेरा जान रुकुम पश्चिमको मुसीकोटबाट जीपमा चढ्यौँ । यात्रा शुरु हुनुअघिदेखि नै मुसलधारे पानी परिरहेको थियो । बिहान ६ बजे मुसीकोटबाट रुकुम पूर्वको रुकुमकोटका लागि छुट्ने भनिएको जिप बिहान सवा ७ बजेतिर छुट्यो । जिपमा पत्रकार साथी धनवीर दाहाल र पंक्तिकारलगायत अन्य यात्रु थियौँ । धेरैजसो यात्रु गन्तव्यमा पुग्न हतारिँदै थिए ।
विशेष गरेर साउने संक्रान्तिका अवसरमा रुकुम पूर्वका विभिन्न गाउँमा संक्रान्ति मेला लाग्ने भएकाले धेरै यात्रुलाई गाउँमा लागेको मेला भेटाउनु थियो । हामी दुईलाई भने तकसेरासम्म कसरी पुग्ने भन्ने चिन्ता थियो । वर्षायामको समय भएकाले रुकुम पश्चिमबाट रुकुम पूर्वको तकसेरा पुग्न एकदिन लाग्छ । कच्ची सडकका कारण यात्रा जोखिमपूर्ण हुने देखिएपछि मनमा डर पलाइरहेको थियो । डर बढे पनि हामी गन्तव्यसम्म पुग्नैपर्छ भन्ने सोचमा थियौँ । यात्रुले खचाखच जिपको छतमा लगेज थियो । रुकुम पश्चिमको मुसीकोटबाट मध्यपहाडी लोकमार्ग हुँदै भण्डारीकाँडा, साँख, घोरखानी भएर रुकुम पूर्व र पश्चिमको सीमाना नजिकै पर्ने खोपीचार पुग्दासम्म यात्रा सजिलै भयो । तर त्यहाँबाट अघि बढ्न सकेनौँ ।
पहिरोले दुई घण्टा रोकियौँरुकुम पूर्वको सिस्ने गाउँपालिकाको खोपीचारमा सडकमाथिबाट बिहानै झरेको पहिरोका कारण यातायात अवरुद्ध थियो । सडकमाथिबाट सुख्खा पहिरो बेलाबेलामा झरिरहेको थियो । गन्तव्यमा पुग्नुपर्ने यात्रुहरु त्यही सडकमा अलपत्र थिए । हामी त्यहाँ पुग्दा थुप्रै यात्रुले झरिरहेको पहिरो हेरिरहेका थिए । रुकुम पूर्वको रुकुमकोटबाट मुसीकोटका लागि छुटेका सवारी साधन अघि बढ्न सकेका थिएनन् । रुकुम पश्चिमबाट रुकुमकोटका लागि छुटेका सवारी साधन पनि अगाडि बढ्न सकिरहेका थिएनन् ।
दुवै तर्फबाट आएका सवारीसाधन पहिरो नजिकै रोकिएका थिए । त्यहाँ कुनै होटेल तथा पसलसमेत थिएनन् । कतिबेला सिमसिम पानी पर्न शुरु गथ्र्यो । कताकता वर्षाका कारण हामी गन्तव्यमा पुग्न त सक्दैनौँ भन्ने पीरले वाण हान्न थाल्यो चसक्क–चसक्क । थुप्रै यात्रु एकै ठाउँमा जम्मा भएका कारण एक किसिमको रमाइलोसमेत भइरहेको थियो । कतिबेला माथिबाट सुख्खा पहिरो झथ्र्यो र पुनः हाम्रो ध्यान त्यतैतिर जान्थ्यो । माथिबाट झरेको पहिरो हटाउन डोजरसमेत पुगेको थियो ।
तर त्यहाँको जोखिम देखेर डोजरले पहिरो हटाउन सकेन । बिहानको ११ बज्नै लाग्यो । त्यतिबेलासम्म सबै यात्रुलाई भोकले आकुलब्याकुल बनाइसकेको थियो । यातायात खुल्ने सम्भावना एकदम कम भयोे । सबै यात्रुलाई गन्तव्यमा कसरी पुग्ने भन्ने चिन्ताले पिरोल्न थाल्यो । रुकुम पश्मिबाट छुटेका पाँचवटा जिप खोपीचारमा पुगिसकेका थिए । तर रुकुमकोटबाट भने एउटा मात्र जिप त्यहाँ पुगेको थियो । धेरैजसो यात्रु रुकुमकोटतर्फ जाने थिए ।
दुई घण्टा रोकिएको खोपीचारको यात्राले हामीलाई त्यहीँबाट मुसीकोटतर्फ फर्काउँछ कि भन्ने चिन्ता थियो । केही समयपछि मुसीकोटबाट गएका जिपहरु पुनः मुसीकोट नै फिर्ता भए । केही यात्रु गन्तव्यमा नपुगेरै फर्किए । हामी भने तकसेराको यात्रा अगाडि बढाउने सोचमा पुग्यौँ । लगत्तै खोपीचारको पहिरो पार गरेर रुकुमकोटबाट आएको एउटा सानो सरकारी बोलेरो जिपलाई लिफ्ट माग्यौँ । त्यो सरकारी बोलेर जिप रुकुम पूर्वको जिल्ला प्रशासन कार्यालयको थियो । हामी दुई त्यही बोलेरो चढेर करिब २० मिनेटको यात्रापछि सवा १२ बजे रुकुमकोट पुग्न सफल भयौँ ।
रुकुमकोटको महत्वपूर्ण निर्णयबिहान मुसीकोटबाट चियासमेत नपिएर तकसेराको यात्रा शुरु गरिएको थियो । खोपीचारमा रोकिएको दुई घण्टाको यात्राले गर्दा हामीलाई असाध्यै भोक लागेको थियो । खाना खाने समय ढिला भइसकेको थियो । केही ढिला भए पनि कठीन र जोखिमपूर्ण यात्रा पार गरेर रुकुमकोट पुगेकोमा हामी निकै खुशी थियौँ । सायद अब अर्को जिप मिलेसम्म आज बेलुकी तकसेरा पुग्नैपर्छ भन्ने हाम्रो योजना थियो । हामीसँगै मुसीकोटबाट आएका यात्रु खोपीचारमै थिए । हामीले उनीहरुलाई पर्खिरहेका थियौँ । किनकी धेरैजसो यात्रुहरु तकसेराका लागि हिँडेका थिए ।
रुकुमकोटबाट हामी दुईलाई मात्र जिपले लिने अवस्था पनि थिएन । त्यसैले पछि रहेका यात्रुलाई हामीले कुर्नैपर्ने थियो । रुकुमकोटबाट दिउँसो २ बजे तकसेराका लागि एउटा मात्र जिप छुट्ने खबर पायौैँ । त्यसअघि त्यहाँबाट अन्य जिप छुटिसकेकाले पनि रिजर्भ जिप नै हाम्रो बाँकी यात्राको अन्तिम विकल्प थियो । रुकुमकोटबाट जिप चढ्नुुअघि हामीले खाना खाने निर्णय ग¥यौँ । नजिकैको एक होटेलमा गएर खाना खायौँ । २ बज्नै लागेको थियो ।
हामीले पर्खेर बसेका यात्रुहरु रुकुमकोटमा आइपुगे । उनीहरुले त्यहाँ खाना खाँदै थिए । हामीलाई जिप ड्राइभरले जसरी पनि तकसेरा लिन्छु, ढुक्क हुनुस् भन्दै थियो । अन्य १३ यात्रुसँगै तपाईंहरु पनि जानुपर्छ, बस्नुस् भन्दै थियो । ड्राइभरको कुरा र तकसेरासम्मको भाडादर बुझ्दा अलि महँगो भएजस्तो लाग्यो । तर पनि ड्राइभरले आफ्नो कुरामा जिद्धी गर्दै हामी दुईलाई जिपमा चढ्न आग्रह गरिरहेको थियो । हामीसँग पर्याप्त मात्रामा पैसा पनि थिएन ।
कच्ची सडकका कारण मनले जान मानिरहेको थिएन । अर्कोतिर तकसेरा पुग्नैपर्ने थियो । अन्ततः ड्राइभरको कुरालाई लत्याउँदै हामी दुई नजिकैको कमलदहमा ओर्लियौँ । किनकी हामीसँग रिजर्भका लागि पैसा अपुग थियो । जिप अघितिर बढ्यो । तर पाँचमिनेट नबित्दै जिप दुर्घटनामा परेको खबर सुनियो । त्यसलगत्तै हामी दुई दुर्घटनास्थमा लाग्यौँ । हामीसँगै नेपाली सेनाको उद्धार टोली पनि गइरहेको थियो । त्यहाँ पुग्दा नेपाल प्रहरी र केही स्थानीयले उद्धार कार्य भर्खर शुरु गरेका थिए । दुर्घटनास्थलको अवस्था एकदम कहालीलाग्दो थियो । मृतकका शव छरिएको अवस्थामा देखिन्थे । घाइते छट्पटाइरहेका थिए । जिप सडकबाट दुईसय मिटर तल खसेको थियो । यात्रुका सामान यत्रतत्र भिरमा छरिएका थिए ।
जीप दुर्घटना र दुर्घटनाको कारणमान्छेको जिन्दगी हो, मर्ने र बाँच्ने कुनै ठेगान हुँदैन । आँखाअगाडि मृत्युको अन्तिम खबर लेखिएको भए सायद मर्नलाई डराउनु पर्दैन्थ्यो होला । मृत्यु स्वाभाविक छ, जन्मपछि मृत्युलाई सजिलै स्वीकार्नु पर्छ । त्यसैले त मान्छेको भाग्यमा लेखिएको लेखोटले जबर्जस्त अकालमै मृत्यु अंगाल्न पठाउँछ । हरसपना त्यागेर मर्ने रहर कसैलाई हुँदैन ।
एकदिन मरेर जानैपर्छ । मान्छेको चोला कहिले के हुन्छ ? थाहा नै हुँदैन । जिन्दगीको कुनै मोडमा अकल्पनीय दुर्घटनाबाट मरेकाले बाँचेकालाई समेत जीवनभर दुःखी बनाएर जान्छन् । दुःखका क्षणमा यस्तै एउटा जिप दुर्घटनाले बुधबार दिउँसो रुकुम पूर्वमा कहालीलाग्दो अवस्था सिर्जना ग¥यो ।
बुधबार दिउँसो २ बजे रुकुम पूर्वको रुकुमकोटबाट धौलापैराका लागि लु १ ज २५७३ नम्बरको जिप सिस्ने गाउँपालिकाको वडा नम्बर पाँच धारापानीमा दुर्घटनाग्रस्त भयो । जिपमा १६ जना यात्रु सवार थिए । रुकुमकोटबाट छुटेको जिपमा तकसेरा, मैकोट, राङ्सीलगायत अन्य ठाउँमा जाने यात्रु सवार थिए । त्यो यात्रा रुकुमकोटबाट ५ किलोमिटर टाढा पर्ने धौलापैराका लागि मात्र थियो ।
मध्यपहाडी लोकमार्गमा पर्ने सडकखण्डको धौलापैरामा वर्षाका कारण खोला ठूलो भएकाले त्यहाँबाट यात्रुले अर्को जिप चढ्नुपथ्र्यो । तर जिप रुकुमकोटबाट अगाडि बढेको १० मिनेटमै सिस्ने गाउँपालिकाको वडा नम्बर ५ को धारापानीमा दुर्घटनामा प¥यो । दुर्घटनामा परेर ८ जनाको ज्यान गयो । अन्य तीन गम्भीर घाइते भए । केही यात्रु हाम्फालेर बाँच्न सफल भए । घाइते ४ जनालाई थप उपचारका लागि सेनाको हेलिकोप्टरमार्फत काठमाडौं पठाइयो । तर एक घाइते महिलाको काठमाडौंमा उपचारक्रममा मृत्यु भयो ।
दुर्घटनाग्रस्त जिप धेरै पुरानो हो भन्ने खबर हामीले दुर्घटना भएलगत्तै सुनेका थियौँ । जिप पुरानो भएकै कारण करिब चार महिनाअघिबाट सञ्चालनमा थिएन । थन्किएको जिपलाई जर्बजस्त चालक जयवीर कामीले चलाउन प्रयास गर्नु नै दुर्घटनाको ठूलो भूल हो । चालक जयवीर तीन दिनअघि मात्र रुकुमकोट पुगेका थिए । यसअघि उनले भारतमा गाडी चलाउँथे । दुर्घटनाका चालक जयवीर पनि घाइते छन् । बुधबार भएको दुर्घटनामा हाम्फालेर बाँचेका एक यात्रुका अनुसार दुर्घटनाग्रस्त जिप दुर्घटना हुनुअघि मात्र सडक छेउको भित्तामा समेत ठोकिएको थियो ।
भाग्यले बाँचेका हामी दुईहाम्रो यात्रा तकसेरासम्म थियो । मुसीकोटबाट तकसेरा जाने अरु यात्रु पनि हामी सवार जिपमा चढे । यात्रा खोपीचारमा पुगेर दुईघण्टा रोकियो, तब बाँकी यात्रा केही अनिश्चित बन्न पुग्यो । तर पनि, हामी सबै यात्रु सकुशल रुकुमकोट पुगेका थियौं । जिप दुर्घटनामा मृत्यु हुने केही यात्रुसँग हामीले मुसीकोटबाट सँगै यात्रा गरेका थियौँ । यहाँ मरेकामध्ये केहीलाई गाडी चढ्ने बेला रुकुमकोटमा भेट भएको थियो ।
भेटमा केही सुखदुःखका कुराकानी पनि भएका थिए । तर केही समय बित्न नपाई उनै यात्रु र हामीसँगै मुसीकोटबाट यात्रा गरेका केही यात्रुको दुर्घटनामा मृत्यु भयो । आफ्नै आँखाले दुर्घटनामा परेर ज्यान गुमाएकालाई देख्दा साँच्चिकै हाम्रो मन अत्यन्त भावविहल बन्यो । बुधवारको कहलीलाग्दो दुर्घटनाको दृश्य हेर्दा हामीले समेत आफ्नो जिन्दगीको बारेमा केही सोच्न सकेनौँ ।
सोही दुर्घटनाले तकसेरासम्मको हाम्रो यात्रामा पूर्णविराम लाग्यो । अन्ततः भाग्यले बाँचेका हामी दुईको तकसेरा यात्रा रुकुमकोटमा पुगेर पुनः मुसीकोटमा आएर सकियो । मृतक सबैमा हार्दिक श्रद्धासुमन । एउटा सानो भूल, लहड र असावधानीले कयौँ सर्वसाधारणको बीच बाटोमै हत्या हुने क्रम कहिले रोकिएला खोइ ? यो दुर्घटना मात्र होइन, हत्या नै हो । सर्वसाधारणको सामुहिक कत्लेआम । तिनका परिवारजनका पीडा सरकारले सुन्ला कहिले ? सडकमा भइरहेको यो अपराध अनुगमन होला कहिले ?