–शिलु अधिकारी/जनता समाचार
काठमाडौं । नेपाली संगीत क्षेत्रमा जनस्तरबाट स्वर सम्राटको उपाधि प्राप्त स्वर्गीय नारायणगोपाल र उनकी धर्मपत्नी पेमला लामाको स्मृतिमा भवन निर्माण हुने भएको छ ।
नारायणगोपाल दिवंगत भएको झण्डै तीन दशकपछि नारायण गोपाल पेमला संगीत भवन निर्माण हुन लागेको हो । निर्माणाधीन भवनको लागत झण्डै ४ करोड रहने आँकलन गरिएको छ । कला क्षेत्रमा दक्ष कलाकारहरुको उत्पादन तथा स्वरसम्राट नारायणगोपालका कीर्तिलाई जीवन्त राख्ने उदेश्यले नारायणगोपाल पेमला संगीत भवन निर्माण गर्न लागिएको हो । काठमाडौं महानगरपालिकाको सहयोगमा नारायणगोपाल संगीत कोषले निर्माण गर्न लागेको भवनको कुल लागत ४ करोड रुपैयाँ रहने आँकलन गरिएको नारायणगोपाल संगीत कोषका सचिव एवं काठमाडौं महानगरपालिका वडा नं. ३ का अध्यक्ष दीपक के.सी.ले जानकारी दिए ।
महाराजगञ्जस्थित नारायणगोपालको निजी निवास हालको नारायणगोपाल संगीत कोष भएकै स्थानमा भवन निर्माण गरिने केसीले बताए । कुल २१ रोपनीमा निर्माण हुन लागेको भवनको ७० प्रतिशत खर्च महानगरपालिकाले व्यहोर्ने छ । यसबारेमा महानगरपालिकासँग सम्झौता गर्ने अन्तिम तयारी भैरहेको केसीले जानकारी दिए ।
देशको कला संस्कृतिको जगेर्नालाई राज्यले नै प्राथमिकता दिनुपर्ने बताउँदै केसीले स्रष्टाको अपनत्व सम्बन्धित स्थानीय निकायले पनि लिनुपर्ने केसीले बताए ।
नारायणगोपाल र पेमलाको सपना बल्ल साकार बन्दै
हरेक साँझ महाराजगञ्जस्थित आफ्नो घरको कोठामा हार्मोनियम समाएर एक्लै गाइरहेका हुन्थे, नारायण गोपाल । उनीसँग न कुनै वाद्यवादक हुन्थे, न असल श्रोता । उनको चाहना थियो–कमसेकम नजिकै तबलावादक होस्, केही श्रोता होऊन्, अटुट रूपमा गाना–बजाना भइरहोस् । त्यही चाहना र सपना पूरा गर्न नारायणगोपाल आफ्नो घरलाई गीतगंगामा रुपान्तरण गर्न चाहन्थे । तर सपना पूरा नहुँदै उनको देहन्त भयो । पतिको निधनपछि नारायण गोपालको सुरमय सपनालाई पत्नी पेमलाले आत्मसात गरिन् ।
सुरको नदी बगिरहेको सपना देख्ने गायक पतिको इच्छा पूरा गर्न उनी मृत्युपर्यन्त लागिरहिन् । उनको सपनाजपना त्यही थियो । त्यतिबेला घरअगाडिको खाली जग्गामा गीतगंगाको भवन बनाइदिन भारतीय दूतावासलाई गुहारेको थियो । त्यसका निम्ति चारतले भवनको नक्सा डिजाइन समेत तयार भयो र माटो परीक्षण पनि । दूतावासले चार करोड रुपियाँ बजेट दिने आश्वासन त दियो तर वर्षौ बितिसक्दा पनि आश्वसन पूरा गर्ने साइत जुराइदिएन ।
अन्ततः अहिले महानगरपालिकाले सहयोग गर्ने भएपछि नारायणगोपाल र पेमलाको त्यो सुरमय सपना साकार हुने अवस्थामा पुगेको छ ।
नारायण गोपाल र पेमालाका सुरमय सपना अब छिट्टै साकार बनाउँछौं । किनभने नारायण गोपालको घर मुलुककै सांस्कृतिक सम्पदा हो,केसीले बताए ।
मौलिक गीत गंगा
चार तलाको रहने गीत गंगाको डिजाइन नेपाली मौलिकता झल्किने गरि गरिएको छ । अरनिको डिजाइनर्स एन्ड प्लानर्स प्रालिका आर्किटेक्ट स्वरूपराज कोनेले केही वर्षअघि नै यसको डिजाइन तयार गरिसकेका छन् ।
भवनमा म्युजिक स्कुल, अडिटोरियम हल आदि परिकल्पना गरिएको छ ।