काठमाडौ । प्रधानमन्त्री केपी ओलीले राष्ट्रिय गौरवको आयोजनाका रुपमा रहेको पोखरा विमानस्थल तीन वर्षभित्र निर्माण सम्पन्न गरी सञ्चालनमा ल्याउन निर्देशन दिनुभएको छ ।
‘पोखरा विमानस्थलको आफ्नै महत्व छ’ प्रधानमन्त्री ओलीले भन्नुभयो, यसको निर्माण जसरी भए पनि तोकिएको समयमा पूरा हुनुपर्छ । कुनै पनि बहानामा ढिलाइ गर्न पाइँदैन र मिल्दैन । थप जग्गा आवश्यक भए अधिग्रहण गर्नुस्, गुणस्तरीय काम गर्नुस् । तोकिएको समयमा विमानस्थल निर्माण सम्पन्न गर्नुस् ।’
प्रधानमन्त्री ओलीले विकास निर्माण अनुगमन गर्ने निकायको समेत अनुगमन गर्ने घोषणा यसअघि नै गर्नुभएको छ । काममा ढिलासुस्ती गर्ने, बहाना निकालेर बस्ने तथा कमजोरी गरेर दोष दिने प्रवृत्तिको समेत अन्त्य गर्न आग्रह गर्नुभयो । प्रधानमन्त्री ओलीले हालसम्मको कार्यसम्पादनमा सन्तोष व्यक्त गर्दै यस विमानस्थलको निर्माणमा प्रदेश सरकार, स्थानीय जनता, पोखरा महानगरपालिका, कार्यरत कर्मचारीको भूमिकाको प्रशंसा गर्नुभयो ।
प्रधानमन्त्रीले ‘ह्याङ्गर’, व्यवस्थित कार्यालय उपकरणका लागि आवश्यक जग्गा प्राप्तिको प्रक्रिया तत्काल अघि बढाउनसमेत सम्बद्ध अधिकारीलाई निर्देशन गर्नुभयो । प्रधानमन्त्रीले पोखरा पर्यटकीय दृष्टिकोणले नेपालको अत्यन्त महत्वपूर्ण स्थान भएको हुँदा विमानस्थलको निर्माणसँगै नेपालको पर्यटकीय गतिविधिमा विस्तार तथा यसबाट आर्थिक वृद्धिमा योगदान पुग्ने विश्वास व्यक्त गर्नुभयो ।
उहाँले ‘समृद्ध नेपाल सुखी नेपाली’ संकल्पको सफलताका लागि योगदान पु¥याउन पनि ठूला भौतिक पूर्वाधारको विकास महत्वपूर्ण एवं जरुरी रहेको स्पष्ट पार्नुभयो ।
विमानस्थल निर्माण कार्य १५ प्रतिशत सकिएको छ । सन् २०१९ को अन्त्यसम्ममा ५५ प्रतिशत भौतिक प्रगति हुनेछ । यस्तै सन् २०२० को अन्त्यसम्ममा ८५ प्रगति हुने र सन् २०२१ को जुनसम्म सम्पूर्ण भौतिक तथा अन्य कार्य सम्पन्न हुनेछ । विमानस्थलको लागत करिब २२ अर्ब छ । सरकारले विमानस्थललाई पर्यटन केन्द्रित गरी ‘बुटिक विमानस्थल’ बनाउने बताउँदै आएको छ ।