–अर्जुन थपलियागान्धीले अहिंसात्मक आन्दोलनको सहारा लिए । जसलाई ‘सत्याग्रह’को नाम दिइयो । गान्धीले इष्टइन्डिया कम्पनीको बेलायती शासनबाट भारत स्वतन्त्र गराई स्वराज प्राप्त गर्न आफ्नो जीवनमा धेरै पटक अनशन बसे ।
अनशनसहितको सत्याग्रह तत्कालीन समयमा गान्धीको अचुक अस्त्र बन्यो । अनशनसहितको सत्याग्रहका कारण अंग्रेज शासक धेरैपटक गान्धीसँग झुक्न बाध्य भयो । गान्धीको माग पूरा गरियो । गान्धीकै कारण अहिंसामूलक राजनीतिक आन्दोलन सामाजिक तथा राजनीतिक जीवन पद्धतिमा स्थापित भयो । पछि नेलसन मण्डेला पनि गान्धीका मार्गानुगामी भए । श्वेत तानाशाही सत्ता समाप्त पार्न काला नेता मण्डेलासमेत सफल भए ।
५ वर्षअघि मात्र भारतमा अन्ना हजारे गान्धीका पछिल्लो संस्करण भएर निस्के । उनको अनशनसहितको सत्याग्रहका अगाडि अन्ततः भारतीय संसद नै झुक्यो । सिंगो भारतीय संसदका तर्फबाट सभामुखले नै अन्नाको अनशनस्थल गएर लोकपाल विधेयक पारित गर्ने प्रतिवद्धता जनाए । अहिले नेपालमा डा. गोविन्द केसीले गान्धीको अनशनसहितको सत्याग्रह अनुसरण गरेका छन् । चिकित्साक्षेत्र सुधारका लागि उनले राखेको मागअनुसारको विधेयक संसदबाट पारित हुन पर्ने अडान राखेर १५ पटक अनशन बसिसके । आज उनको १५ औँ अनशनको २० औँ दिन हो । डा.केसीको अनशनले नेपाली राजनीति तातेको छ ।
डा. केसीको माग जायज वा नेपाल राष्ट्र तथा नेपाली जनताको हित अनुकुल छ कि छैन । यो कुरामा वृहत् बहस हुनसक्छ । केपी ओली नेतृत्वको सरकारले डा. केसीको मागप्रति देखाएको कठोरता र उदाशीनता कति जायज कति नाजायज त्यसबारे पनि तर्क वितर्क भइरहेको छ । तर डा. केसीले गरेको अनशनसहितको सत्याग्रह अहिंसात्मक भने अवश्य होइन । हुन त जुम्लामा गएर अनशन शुरु गर्ने क्रममा सरकारबाट भएको हस्तक्षेप र उनका समर्थक पक्षबाट भएको प्रतिरोधप्रति उनले दुःख व्यक्त गरे ।
उनले आफू पूर्णतया अहिंसाको पक्षमा रहेको दाबी गरे । तर अनशनसहितको सत्याग्रह आफैँमा हिंसात्मक कदम हो । सर्वप्रथमतः डा. केसीले आफैँप्रति हिंसा गरे । अरुलाई पीडा दिनु हिंसा हो भने आफैलाई पीडा दिनु अहिंसा हुनै सक्दैन । अरुलाई मार्नु र आत्महत्या गर्नु दुवै हिंसा हो । आफू मर्ने धम्की र घुर्कीसहित आफ्ना कुरा मान्न बाध्य पार्नु झन् ठूलो हिंसा हो । हुन त अनशनकारी सत्याग्रही निहत्था देखिन्छन् तर अनशनले एक शस्त्रको रुप धारण गरेको हुन्छ । गान्धीको अनशनसहितको सत्याग्रहलाई ओशोले आत्मघाती हिंसात्मक अस्त्रको संज्ञा दिएका थिए ।
ओशोले एउटा प्रवचनमा कथामा उल्लेख गरेका छन् । भारतमा महात्मा गान्धी जीवितै थिए । महात्मा गान्धीको सत्याग्रही अनशनबाट प्रेरित भएर एक प्रेमील युवकले अचाक्ली दुस्साहस गरेछन् । ती युवकले आफ्नै क्याम्पसमा पढिरहेकी धनाढ्य घरानाकी सुन्दर कन्यालाई प्रेम प्रस्ताव गरे । कन्याले प्रस्ताव अस्वीकार गरिदिएपछि युवक कन्याको घर अगाडि आमरण अनशन बसे । युवकको एकसूत्रीय माग थियो, ‘ती कन्याले मसँग विवाह गर्न राजी भइनन् भने म उनको घरअगाडि निराहार बसेरै प्राण त्याग्छु ।’
शुरुमा घटनालाई ‘मजाक’का रुपमा लिइयो तर मिडियामा खबर छापिएपछि शहरमा सनसनी फैलियो । तर अनशनरत युवक लगातार एक साता अनशन बसेपछि अवस्था नाजुक हुँदै गयो । त्यसपछि शहरमा अरु सनसनी मच्चियो । समाजले घटनालाई गम्भीरतापूर्वक लिन थाले । अनशनरत युवकसमक्ष अभिभावक, छरछिमेक र बुद्धिजीवी पनि उपस्थित भएर अनशन तोड्न सम्झाइबुझाइ गर्न थाले । अनशन गरेर कसैलाई विवाह गर्न राजी गराउने प्रयास एकप्रकारको हिंसा हो ।
‘अनशन तोड’ भनेर युवकलाई धेरैले सम्झाइबुझाइ गरे । तर युवकले मानेनन् । उनले ती युवतीलाई प्राप्त गर्न नसके आफू बाँच्नु बेकार भन्दै स्वेच्छाले अनशन बसेर प्राण त्याग्ने जिद्दी गरे । परिस्थिति यति गम्भीर र भावुक भयो कि केही मानिस युवकले लक्षित गरेको कन्यालाई विवाहका लागि राजी भइदिन आग्रह गर्नसमेत पुगे तर कन्याले इन्कार गरिन् । समाजका भद्रभलाद्मी र लब्धप्रतिष्ठित व्यक्तिले घटनाको निकासका लागि प्रयत्न थाले तर सबै असफल भए । विवाहका लागि न कन्या राजी भइन् न अनशन तोड्न युवक तयार ।
अनशनरत युवा र ती युवाले प्रेम तथा विवाह प्रस्ताव राखेकी कन्याको चर्चा शहरभर हुन थाल्यो । अनाहकमा आफ्नो बदनामी र बेइजत भएको भन्दै कन्या घरभित्रै पनि डाँको छाडेर रुन थालिन । कन्या रोएको सुनेर कन्याको घरमा काम गर्ने ७० वर्षीया धाइआमाले भनिन्, ‘म यो मामिला २ मिनेटमा समाधान गर्न सक्छु ।’
शुरुमा त उनको कुरा कसैले पत्याएनन् । तर ७० वर्षीया धाइआमा गुन्द्री र कम्बल बोकेर युवक अनशन बसेनजिकै पुगिन् । उनले गुन्द्री ओछ्याइन् र कम्बल ओढेर अनशनरत युवकनजिकै लम्पसार परिन् । धाइआमाले घोषणा गरिन्, ‘यो अनशनरत युवकसँग म विवाह गर्न चाहन्छु । मेरो प्रस्ताव यो युवकले नमानेकाले आमरण अनशनमा बसेको घोषणा गर्दछु ।
अनशन बसेर विवाहका लागि राजी गराउन सकिन्छ भने म पनि यो युवकलाई प्राप्त गर्छु वा भोकै मर्छु ।’ ७० वर्षीया धाइआमाको कुरा सुनेर युवक अनशनस्थल छाडेर कुलेलम ठोके । यदि डा.केसीले राखेको मागको ठीक विपरीत माग राखेर अन्य मानिस डा. केसी अनशन बसेकै स्थलमा आमरण अनशन बसिदिए भने के गर्छन् होला ? एउटा साधारण तर गम्भीर अर्थ राख्ने जिज्ञासा मात्र ।
TIGF: arjunactivist