अमरराज पुन
रुकुम । रुकुम पुर्वको सिस्ने गाँउपालिकामा पर्ने रुकुमकोटको आफ्नै पुरानो इतिहास छ । प्राकृतिक सौन्दर्यताको उपज र भौगोलिक हिसाबले टम्म मिलेको यहाँको समथर फाँट नै रुकुमकोटको अर्को एक विशेषता हो । साविकको रुकुम जिल्ला एउटै हुँदा ५२ पोखरी ५३ टाकुरीको नामले चिनिने ऐतिहासिक ठाउँ यहि रुकुमकोटमा पर्दछ ।
समुद्री सतहबाट १५ सय ८१ मिटरको उचाईमा रहेको प्रकृतिको बरदान पाईला आकारमा देखिने कमल दह पनि यहिं रुकुमकोटमा अवस्थित छ । यो दहको गहिराई ३५ मिटर रहेको छ । झण्डै २ वर्ग किलोमिटर क्षेत्रफलमा फैलिएको यस कमल दहमा कमल फूलको मनमोहक दृश्य र मनै लोभ्याउने अर्को एक सुन्दरता झल्किरहेको हुन्छ ।
झट्ट हेर्दा कमल दहको आकार पाईला जस्तै देखिन्छ । कमलले ढाकिएको यस दहमा पुग्ने वित्तिकै जो कसैको मनलाई समेत स्वर्गिय आनन्द मिलेको अनुभूति हुने गर्दछ । बाह्रैमास आँखाको नयन भन्दा अझ सङलो देखिने पानीमा कमलका पातहरु तैरिरहेका हुन्छन् । कमल दह अवलोकनका लागि वर्षैपिच्छे आन्तरिक तथा बाह्य पर्यटकहरुको समेत बाक्लो उपस्थिति हुने गर्दछ । कमलको नामले चिनिएको यस कमल दहलाई नेपालकै एक प्रसिद्ध पर्यटकिय स्थलको रुपमा लिने गरिन्छ । दैनिक ५० भन्दा बढि पर्यटकहरु यस दह अवलोकनका लागि आउने गर्दछन् ।
कमलको जरा र फलको सेवन गर्नाले जन्डिस तथा अन्य रोगहरु निको हुने जनविश्वास रहंदै आएकाले यो दहको महत्व बढ्दै गईरहेको छ । कमल दह हेर्न आउने प्रायजसो पर्यटकहरुले कमलको जरा र गेडाहरु किन्ने गर्दछन् । स्थानीय रुद्र बहादुर हमालका अनुसार कमलको जरा किन्नकै लागि रोल्पा, डोल्पा, जाजरकोट, सल्याण तथा देश विदेशबाट पर्यटकहरु रुकुमकोटको कमलदहमा आउने गर्दछन् । औषधिको रुपमा बिक्रि हुने कमलको डाँठ तथा जरा सुकाएपछि चारसय मानाको दरले बिक्रि गर्ने गरिन्छ । त्यस्तै कमलको गेडा प्रतिगोटा १० देखी २० रुपैया सम्मको दरले बेचिन्छ । विशेषत औषधि र खानाको परिकारमा अचारको रुपमा प्रयोग गरिने कमलको जरा र डाँठ माघ महिनाबाट निकाल्न सुरु गरिन्छ । कमलदह अवलोकन लागि रुकुमकोट पुग्ने जो कसैका लागि पहिलो रोजाईमा भने कमलको चाना नै खोजी हुने गर्दछ ।
पछिल्लो समय नयाँ संरचना अनुुसारको स्थानीय सरकार बनेपछि कमल दहको उचित संरक्षण र प्रबद्र्धनका लागि सिस्ने गाउँपालिकाले नयाँ नीति अबलम्बन गरेको छ । विगतका वर्षहरुमा कमलदहको व्यवस्थापनमा कुनै ठोस योजना नभएपनि यो वर्षदेखी केही नयाँ कामको सुरुवात भएको छ । कमल दह भित्रको कमलको जरा तथा डाँठ बेचेर मात्र सिस्ने गाउँपालिकाले यस वर्ष ८० हजार आम्दानी गरेको छ । सिस्ने गाउँपालिकाका निमित्त कार्यकारी अधिकृत तिलक गौतमका अनुसार कमलका जरा निकाल्नका लागि गाउँपालिकाले एक स्थानीयलाई ८० हजारमा ठेक्का दिएको थियो । तर ती व्यक्तिले कमलको जरा बेचेर गाउँपालिकालाई ८० हजार बुझाएको र आफुले पनि ३ लाख बढि आम्दानी गरेका छन् ।
यसअघि कमलदहको संरक्षण र गतिलो व्यवस्थापन नहुँदा कमल दहमा पशु चौपायाको रजाई हुने गर्दथ्यो । तर पछिल्लो समय सिस्ने गाउँपालिकाले रुकुमकोटको मुटु मानिने कमल दहलाई एक पर्यटकिय स्थलको रुपमा विकास गर्नका लागि केही दीर्घकालिन योजना अघि सारेको छ । गाउँपालिकाको योजना अनुरुप कमलदहको संरक्षणका लागि अब दहको वरीपरी पर्खाल निर्माण गर्ने र प्रतिक्षालयको समेत व्यवस्था गर्न लागिएको छ । लामो समयदेखी संरक्षणको पर्खाइमा रहेको यस कमल दहलाई केही ढिलागरी संरक्षण गर्न थालिएकोमा स्थानीयवासी भने खुसी भएका छन् ।
गएको वर्ष मात्रै कमल दह संरक्षणका लागि भन्दै सिस्ने गाउँपालिकाले ५ लाख रकम विनियोजन गरेको थियो । उक्त रकमले कमल दहको चारैतिर बाटो निर्माण र तारजाली लगाईएको गाउँपालिका अध्यक्ष कुमारी बरालले बताउनुभयो ।
रुकुम पुर्वको रुकुमकोटमा अवस्थित यस कमल दह पर्यटनको हिसाबले एउटा ज्वलन्त उदाहरण मात्र हो । रुकुम पुर्व र रुकुम पश्चिममा यस्ता थुप्रै पर्यटकिय महत्व बोकेका ऐतिहासिक स्थलहरु अझैपनि ओझेलमा परेका छन् । अबभने यी ओझेलमा परेका पर्यटकिय क्षेत्र र संभावनाको खोजी गर्दै स्थानीय सरकारले पनि प्रचारप्रसारमा ध्यान दिन आवश्यक छ ।