अस्मिता रिजालव्यस्त राजधानीका खचाखच सडकपेटी । लाखौँ मानिसका लागि गन्तव्यमा पुग्ने ‘बाटो’ मात्र होइन, कसैको आश्रयस्थल पनि बन्न सक्छ । कसैको रोजिरोटीसमेत यही बाटोले मिलाइदिन सक्छ । को सही, को गलत । अथवा भनौँ विभिन्न बहानामा मागेर खानेहरुको शहरकै रुपमा परिचित भइसकेको काठमाडौँमा हृष्टपुष्ट शरीरका ‘भारी’ भएकाहरुलाई गरिखाने बाटो हुँदाहुँदै पनि सडक छेउमै बसेर हात फैलाइरहेकै भेटिन्छन् ।
तर, यही बाटो, जहाँ संसार नदेख्नेहरु पनि आफूमा भएको कलामार्फत मेहेनत गरेर जीवन गुजाराको विकल्प बनाइरहेका छन् । अर्थात् दृष्टिविहीन र सडकले नै ‘कलाकार’को परिचय दिएकाहरु । बाहिरी दुनियाँ नदेखे पनि आफ्नै मेहेनतले सुन्दर जिन्दगी कोरिरहेका हुन्छन् । निजी आवश्यकता र आकांक्षा बन्द आँखाभित्र पालेर रंगीन सपना बुनिरहेका हुन्छन्, ती सपनासम्म पुग्ने बाटो पहिल्याइरहेका छन् र कला अनि गलामा बाँच्ने सपनाको पिङ बुनिरहेका हुन्छन् ।
अपांगताको आडमा हात फैलाएर बाँच्न चाहँदैनन् । भन्छन्, ‘दिनभर सडकमा गीत गाउँदा तीनसयदेखि १ हजार रुपैयाँसम्म कमाइ हुन्छ, समाजले मनोरञ्जन पनि लिन्छ र कलाकारको परिचय पनि दिन्छ अनि स्वाभिमानी भएर डेराको जीवन धानिन्छ भने किन बन्ने माग्ने ?’ उनीहरुलाई सरकारले भत्ताका नाममा चारोझैँ छरेको छ सय र हजार रुपैयाँ भन्दा आफ्नै पौरखको कमाइमा आत्मसन्तुष्टि पनि छ ।
संसार हेर्ने पहिलो माध्यम ‘दृष्टि’ नहुँदाको पीडा बयान गर्न शब्द पर्याप्त छैनन् । तर, त्यही शोकलाई शक्तिमा बदल्दै जीवनमा खुशीको बाटो खनिरहेका छन् दृष्टिविहीनहरु । सेतो छडी उनीहरुको यात्रामा सहारा बनेको छ अनि संगीत जीवन डोहो¥याउने माध्यम । र, यही संगीतले उनीहरुलाई सडक, मञ्च, सञ्चारमाध्यम हुँदै सदनसम्म पनि पु¥याएको छ अपांगता भएकै कारण हात फैलाएर खानुपर्छ भन्ने हिनताबोध चिर्दै ।
दृष्टिविहीनका लागि केही सजिलो पेशा हो शिक्षण । यही पेशामा आवद्ध छन् ४ सय दृष्टिविहीन, तीमध्ये ६० जना त संगीतका गुरु छन् । सडकमा बस्नेहरु पनि धेरथोर संंगीत बुझेका र सिकेका छन् । बाहिरी संसार देख्ने दृष्टि भन्दा भित्री दुनियाँ नियाल्ने मन साँच्चै सुन्दर हुन्छ । अनि, त्यही मनभित्रको आत्मविश्वास उस्तै स्पातिलो । त्यसैले त अवसर पाए आत्मनिर्भरताको जुनसुकै बाटो रोज्न सक्ने साहस स्पष्टै झल्किन्छ, दृष्टिविहीनहरुका अभिव्यक्तिमा । धुप बनाउने, साबुन बनाउनेजस्ता सीप सिक्ने अवसर कसैले अवसर प्रदान गरे सडकमा बसेर मात्रै होइन, हातपाउ चलाएरै गरिखान सक्ने बताउँछन् सडकमा गीत गाउने दृष्टिविहीन कलाकार ।
त्यसैले त अस्तव्यस्त दुनियाँभित्र पनि आशा र अपेक्षा बोकेर जिएका छन् उनीहरु सकारात्मक सोच र कर्मका साथ । अनि सुरिलो आवाज गुञ्जाउँछन्ः फूलको आँखामा फूलै संसार काँडाको आँखामा काँडै संसार .....वास्तवमै, गीतले भनेझैँ फूलको आँखामा फूलैसरी सुन्दर र आनन्ददायी छ संसार । बरु
चित्त शुद्ध होस् मेरो पैतालाले किरै नमरोस्.....भन्ने भावनालाई हामी सबलांग शरीर पर्याप्त सम्भावना भएका हामीले आत्मसात गर्नु जरुरी छ । संसार नदेखेरै पनि संसार बदल्न लागेका यी तमाम दृष्टिविहीन कलाकारहरुमा श्रद्धापूर्वक नमन ।