–अरुणदेव जोशी
माइकल मुर अमेरिकी प्रसिद्ध सिनेमा निर्देशक हुन् । अमेरिकाका गलत नीतिहरुको विरोधमा उनी लगातार सिनेमा बनाउँछन् । उनले सिनेमा बनाउने शैलीलाई पछिल्लो समय हाईब्रिड सिनेमा भनिन्छ । जसमा डक्युमेन्ट्री र फिक्सन सिनेमा दुवैका इलिमेन्ट हुन्छन् । अर्थात उनको सिनेमा डक्युमेन्ट्री पनि हो अनि कथानक पनि, तर सम्पूर्ण रुपमा यर्थाथमा आधारित । अमेरिकी चुनावमा जर्ज डब्ल्यु बुस र अल गोरबीच निकै कडा प्रतिस्पर्धा भएको थियो ।
चुनाव सकिएको कयौँ दिनपछि नतिजा सार्वजनिक भएको थियो । त्यही निर्वाचनमा अलि कट्टरपन्थी छवि नभएका अल गोरलाई हराउन कसरी चलाखीपूर्ण धाँधली गरियो र कसरी सरकारी संयन्त्र प्रयोग भए भन्नेबारे मुरले बनाएको चलचित्र ‘फरनहाइट नाइन इलाबेन’ निकै चर्चित भएको थियो । चलचित्रले अमेरिकाकै प्रतिष्ठित अस्कर अवार्ड पनि जितेको थियो ।
माइकल मुरकै अर्को चलचित्र छ, ‘सिको’ । जसमा अमेरिकी स्वास्थ्य नीतिको धज्जी उडाइएको छ । चलचित्रमा अमेरिकाको स्वास्थ्य नीति तथा आमनागरिकले पाउने स्वास्थ्य सेवालाई अन्य विभिन्न देशहरुसँग तुलना गरिएको छ । तुलनामा क्युवा, बेलायत र युरोपेली मुलुकहरुको स्वास्थ्य सेवा विवेचना गरिएको छ ।
मुनाफा केन्द्रित अमेरिकी स्वास्थ्य व्यवस्थाले गर्दा कसरी आमअमेरिकी नागरिकले उपचार पाउन सकेका छैनन्, जबकि सेवा केन्द्रित क्युबा र युरोपेली मुलुकको स्वास्थ्य सेवामा कसरी आमनागरिक समेटिएका छन् भन्ने तुलनात्मक अध्ययन छ ‘सिको’ मा । सिनेमाले अमेरिकाको न्युयोर्कको ट्वीन टावर आक्रमणपछि उद्धारमा जुटेका फायर फाइटरहरुको परिवारलाई पछ्याएको छ । उद्धारक्रममा प्रदुषित वातावरणसँग जुझ्नु पर्दा स्वासप्रस्वासको रोगबाट ग्रसित फायरफाइटरलाई अमेरिकामा उपचार सम्भव हुँदैन । कारण उनीहरुलाई लागेको रोग अमेरिकी स्वास्थ्य सेवा आधारित रहेको बीमा पोलिसीमा समावेश थिएन । बीमा पोलिसीमा नपरेका कारण उनीहरुले उपचारका लागि चर्को रकम चुकाउनु पर्ने अवस्था देखियो, जुन उनीहरुको आर्थिक अवस्थाका कारण सम्भव देखिएन ।
चलचित्रमा मुरले तीनै फायरफाइटरलाई समुन्द्री बाटोबाट अमेरिकी कोस्ट गार्डलाई झुक्याएर क्युबा पुर्याएका छन् । जहाँको उपचार पद्धति देखेर अमेरिकी नागरिक ती फायरफाइटरसहित माइकल मुरसमेत अचम्म परे । उनीहरुले सन्तोषजनक उपचार पाएपछि त्यसकाे रकम चुकाउन खोजे । तर मानिस बिरामी हुँदा रकम चुकाएर उपचार गर्ने कुराले क्युबालीलाई आश्चर्यमा पा¥यो । त्यस्तो जटिल उपचार निःशुल्क पाउँदा अमेरिकी त आश्चर्यमा पर्ने नै भए ।
माइकल मुरले सिनेमामा युरोपको स्वास्थ्य व्यवस्थाको निकै तारिफ गरेका छन्, जहाँ आमनागरिकले उपचार नपाउने अवस्था नै हुँदैन । सिनेमामा एउटा प्रसंग छ, माइकल मुर बेलायतको लण्डन अस्पतालमा उपचार शुल्क तिर्ने चाहना राख्छन् । अनेकौँ प्रयास गर्दा र अनेकौँ प्रकारका उपचार गर्दा पनि उनले शुल्क बुझाउनु पर्ने कुनै अवस्था नै आउँदैन । अचम्म परेर अस्पतालमा भाैंतारिइरहेका मुरले अस्पतालमा ‘क्यास काउन्टर’ लेखिएको काउन्टर भेट्छन् । उनी अन्ततः क्यास बुझाउने ठाउँ पाएकोमा खुसी हुँदै क्यास बुझाउन दौडन्छन् काउन्टरतिर ।
माइकल मुर क्यास बुझाउने चाहना राख्छन् । काउन्टरका मान्छेले सोध्छन् के को क्यास ? माइकल मुरको जवाफ हुन्छ, जेको क्यास तिर्न मिल्छ, त्सैको तिर्छु । जवाफ पाउँछन्, त्यहाँ क्यास तिर्ने व्यवस्था नै छैन । अनि यो काउन्टर किन त भन्ने माइकल मुरको प्रश्नमा जे जवाफ आउँछ, त्यसमा मुर आश्चर्यमा त पर्छन् नै, उनीसँगै आश्चर्यचकित हुन्छन् सिनेमा हेर्ने आमदर्शक ।
अहिले नेपालका स्वास्थ्य सेवा कस्तो हुन्छ भन्ने बहस चलिरहँदा यो सिनेमा निकै सान्दर्भिक छ । सबैले हेर्नै पर्ने विशेष गरी राज्य सञ्चालनको जिम्मा पाएकाहरुले ।
भिडियो हेर्न तल youtube क्लिक गर्नुहोला ।...
https://www.youtube.com/watch?v=xpk9AuJ4J18