सन्देश पौडेल
लमजुङ । हिमाल बाट बग्ने मस्र्याङदी नदिमा पानीको बहाव अत्याधिक वढेपछि उच्च सतर्कता अपनाइएको छ । नदिमा साविक भन्दा पानीको मात्रा बढेपछि लमजुङ र मनाङका प्रशासनले सम्भावित जोखिमबाट बच्न सर्वसाधरणलाई आग्रह गरेको हो ।
शनिवार साँझ विभिन्न सूचना संयन्त्र प्रयोग गरी दुवै जिल्लाका प्रशासनले सर्वसाधरणलाई जानकारी गराएको हो । “केहिदिन यता पानीको बहाव अत्याधिक भएको छ” मनाङका प्रमूख जिल्ला अधिकारी हरीप्रसाद पन्तले भन्नुभयो “नदि आसपासका बस्तीमा सम्भावित खतराबाट बच्न सतर्क रहन आग्रह गरेका छौँ ।”
माथिल्लो भेगमा रहेका हिमतालका कारण मस्र्याङदी नदिमा खतरा रहेको कतिपयको बुझाई छ । यद्यपी मनाङका कतिपय ठाउँमा अत्याधिक वर्षा हिमालमा चर्को घामका कारण हिम पग्लेर पानीको बहाव बढेको अनुमान गरिएको छ ।
स्थानियका अनुसार मस्र्याङदी नदिमा पानीको बहाव अहिलेसम्मकै उच्च हो । पानीको बहावले मनाङ सदरमुकाम चामेस्थित तातोपानी कुण्डको बाँध समेत भत्काई दिएको छ ।
मनाङबाट खवर आएपछि लमजुङमा पनि सतर्कता अपनाईएको लमजुङका प्रमूख जिल्ला अधिकारी झँकनाथ ढकालले जानकारी दिनुभयो । उहाँले ठूला दुर्घट्ना हुने सम्भावना कम भएपनि नदि वरपर बस्न तथा नजान सर्वसाधरणलाई आग्रह गरेको बताउनुभयो ।
मनाङको चामे, धारापानी, ताल र लमजुङको श्रीचौर, स्याँगे, भुलभुले, खुदी लगायतका बस्ती नदि नजिकै भएकोले सम्भावित जोखिम मानिएको छ । सम्भावित जोखिम बाट बच्न दुवै जिल्लाका प्रशासनले विभिन्न संयन्त्रको प्रयोग गरी सतर्क रहन स्थानियलाई आग्रह गरेको छ ।