दाङ । सञ्चारउद्यमी देवीप्रसाद धिताल ‘हेमराज’को हत्या भएको आज अर्थात् साउन ६ गते आठ वर्ष पुगेको छ । तर, हत्या कसले र किन ग¥यो भन्ने प्रश्न अनुत्तरित छ । हत्याराको पहिचान त क्षितिजपारिको कुरा, हत्यामा संलग्नको ‘स्केच’सम्म तयार गर्न प्रहरी असक्षम छ ।
२०६७ साउन ६ गते सञ्चारउद्यमी देवीप्रसाद धिताल कांग्रेसको जिल्ला अधिवेसनक्रममा साविकको उरहरी गाविसस्थित हेमनगरका गुरुप्रसाद शर्माको घर पुगे । साथमा थिए कान्तप्रसाद वली र घरधनी गुरुप्रसाद रेग्मी । हेमराज कहाँ छन् भन्ने स्वयम् हेमराज, कान्तप्रसाद र गुरुप्रसाद बाहेक अरु कसैलाई थाहा थिएन । उनीहरुबीच कांग्रेस जिल्ला अधिवेसनबारे छलफल भएको थियो । छलफल चलिरहँदा नरेन्द्र बुढाथोकीको कान्तप्रसादलाई फोन गरेर ‘लोकेसन’ मागेका थिए ।
नरेन्द्रसँग मोबाइलमा कुराकानी भएको केही समयमा कान्तप्रसाद र हेमराज गुरुप्रसादको घरबाट निस्किए । कान्त गेटभित्र सूर्ती मिच्न थाले भने हेमराज मोटरसाइकल स्टार्ट गर्नथाले । हेमराज मोटरसाइकलमा चढ्नेबित्तिकै गोली वर्षियो । हेमराज त्यो दिन कहाँ छन् भन्ने स्वयम् हेमराज, कान्ता र गुरुप्रसाद बाहेक अरु कसैलाई थिएन । भेटघाट अत्यन्त गोप्य थियो । गोप्य भेटघाट भइरहेको घरको गेटमा ढुकेर आपराधिक समूहले हेमराजको हत्या कसरी ग¥यो ? प्रश्न गम्भीर छ ।
हेमराज कहाँ छन् भन्ने कुरा कान्तप्रसादलाई फोन गर्ने नरेन्द्र बुढाथोकीले थाहा पाए । स्वयम् हेमराज, कान्ता र गुरुप्रसादसँगै हेमराजको लोकेशन थाहा पाउने नरेन्द्र चौथो व्यक्ति हुन् । नरेन्द्रले लोकेशन मागेको केहीबेरपछि हेमराजमाथि गोली हानिएको छ । तर, प्रहरीले नरेन्द्रले किन लोकेशन मागे ? यो विषयमा अनुसन्धान नै गरिएन ।
गुरुप्रसादको घरमा गेटमै गोली हानिएपछि हेमराज गेटभित्र जान खोजे । तर, गेट लगाएर उनलाई भित्र पस्न दिइएन । आफैँले गेट बन्द गरेका गुरुप्रसाद भने गोली चलेको थाहा नपाएको दाबी गर्नुहुन्छ । प्रत्यक्षदर्शी उमा बस्नेतका अनुसार गेटभित्र पस्न नदिइएपछि हेमराज छेउमै रहेको घरतिर भागे । उनलाई आपराधिक समूहले लखेटेर गोली हानेर ढाल्यो । हेमराज त्यहीँ छट्पटाइरहे ।
हेमराजलाई गोली हानेपछि हत्याराहरु घटनास्थलबाट पूर्वतर्फ भागे । गोली लागेर छट्पटाइरहेका हेमराजलाई उपचारका लागि तुलसीपुर ल्याइँदै गर्दा बाटोमै मृत्यु भइसकेको थियो । उनको हत्या भएको आठवर्ष पुगिसक्यो तर, प्रहरी घटनामा संलग्नको पहिचानमा समेत असफल देखिन्छ ।
परिवार भन्छ, ‘हत्यामा देवराज, गुरुप्रसाद र कान्तको हात’
सञ्चारउद्यमी हेमराज मारिएको ८ वर्षसम्म पनि प्रहरीले हत्यारा पहिचान गर्न नसक्दा उनको परिवारका सदस्यका आँखा ओभाएका छैनन् । हेमराजका भाइ पुष्करका अनुसार, हेमराज हत्यामा संलग्न आरोपमा तुलसीपुर–११ नवलपुरका तुलसीराम विक उर्फ देवराज ठाकुरलाई पक्राउ गर्न नेपालगञ्जमा रहेको उनको होटेल हंगेरीमा छापा हानियो ।
तर, देवराज प्रहरीलाई झुक्याउँदै भाग्न सफल भए । देवराज त्यहीबेला कपडा नै नलगाइ टाबेल र गन्जीमै भागेर भारत पुगी आफूलाई फोन गरेको पुष्कर बताउँछन् । पुष्कर भन्नुहुन्छ, ‘दाइको हत्यामा कुनै न प्रकारले देवराजको हात छ । यदी हत्यामा संलग्न नभएको भए प्रहरीले पक्राउ गर्न खोज्दा किन भाग्यो ?’
प्रहरीले छापा मार्दा भाग्ने देवराज पक्राउ गरी अनुसन्धान गरे हत्यारा पत्ता लाग्ने उनको भनाइ छ । देवराज भारतीय व्यापारी निर्मलसिंह भंगुको घरमा घरेलु कामदार हुँदा त्यहाँबाट दाङका केही युवाले हीरामोतीसहित केही नगदसमेत चोरेर ल्याएपछि हेमराजले ती हीरामोती फिर्ता गराइदिए । हेमराज केही साथी र प्रहरीका साथ भारत पुगेर हीरामोती भंगुलाई बुझाएको जानकारहरु बताउँछन् ।
३२ वर्षमै श्रीमान् गुमाएकी हेमराजकी पत्नी मन्जु हेमराजबारे कसैले सोध्दा भक्कानिनुहुन्छ । बोल्दा आँखाबाट आँशु बग्छ, गला अवरुद्ध हुन्छ । बोल्दा बोली बीचैमा अड्किन्छ । यस्तै अवस्थामा उनले जनता समाचारलाई प्रतिक्रिया दिँदै भन्नु भयो, ‘प्रहरी आर्थिक प्रभाव र राजनीतिक दबाबमा परी श्रीमान्का हत्यारा पक्राउ गरिरहेको छैन ।’
भाइटीका आउन तीनमहिना मात्रै बाँकी रहँदा जेठो भाइ गुमाएकी हेमराजकी दिदी पार्वता हत्यामा संलग्न भएको दाबीसहित गुरुप्रसाद शर्मा र कान्त वलीविरुद्ध किटानी जाहेरी दिँदासमेत प्रहरीले पक्राउ नगरी अपराधीको पक्षपोषण गरेको सुनाउनु हुन्छ ।
दाङका प्रमुख जिल्ला अधिकारी गजेन्द्रबहादुर श्रेष्ठ भने प्रहरी हेमराज हत्यारा पत्ता लगाउन लागिरहेको र अनुसन्धान नसकिएकाले केही भन्न नमिल्ने बताउनु हुन्छ । अनुसन्धान जारी छ भन्ने सुरक्षा संयन्त्रलको पुरानै रेडिमेड जवाफ हो ।
यस्तो हुनसक्छ हत्या कारण
हेमराज त्यतिबेला सामरदायिक रेडियो तुलसीपुरका अध्यक्ष थिए । रेडियोको अध्यक्ष हुँदाहुँदै नेपाली कांग्रेसको महाधिवेसन प्रतिनिधि बन्ने योजनामा थिए । जानकारहरुका अनुसार, महाधिवेसन प्रतिनिधि बनेर केन्द्रीय सदस्य बन्ने उनको मनोकांक्षा थियो । त्यतिबेलै उनको हत्या भयो । त्यतिबेला दाङमा टाइगर ग्रुपले श्रृखलावद्ध आपराधिक घटना दोहो¥याइरहन्थ्यो । कहिले व्यापारीसँग चन्दा आतंक त कहिले अपहरणदेखि व्यक्ति हत्यासम्म ।
हेमराज त्यहीबेला ठेक्कापट्टा पनि गर्थे । तुलसीपुरस्थित–१९ नम्बर बाहिनीको रासनको ठेक्का परेको थियो । टाइगर ग्रुपले सबै व्यापारी र ठेकेदारसँग तोकेरै चन्दा माग्थे । तर, टाइगर ग्रुपको निसानामा हेमराज कहिल्यै परेनन् । अनौपचारिकरुपमा प्रहरी अधिकारीहरु टाइगर ग्रुप सञ्चालनमा उनको पनि हात थियो भन्छन् । उनी तुलसीपुरमा युवाहरुको समूहलाई हातमा लिएर ठेक्कापट्टा मिलाउथे । अझ भनौँ, तुलसीपुरमा एकछत्र राज चल्थ्यो उनको । हेमराज आफैँ पैसावाल मान्छे । त्यसमा पनि चोरी भएका बहुमूल्य हीरामोती फिर्ता गराइदिएपछि भारतीय व्यापारी निर्मलसिंहका विश्वास पात्र भएका । त्यसकारण उनलाई पैसाको कमी थिएन ।
खुमबहादुर खड्का शक्तिमा थिए, खुमबहादुरका दाहिने हात थिए धिताल । दाङ प्रहरी, प्रशासनमा उनकै राज । तुलसीपुरमा सबैका ‘दाइ’ बनेका थिए । तर, खुमबहादुरसँग हेमराज निकट भएको उनका राजनीतिक प्रतिस्पर्धीलाई मन परिरहेको थिएन ।
जानकारहरुका अनुसार, टाइगर ग्रुपको संरक्षण गर्नेमा उनीसँगै तुलसीपुरका अरु व्यापारी र यातायात व्यसायी पनि थिए । उनीहरुसँग हेमराजको अघोषित ‘टसल’ शुरु भइसकेको थियो । त्यही टसलका कारण हत्या योजना बनेको हुनसक्छ । प्रहरी अधिकारीहरुका अनुसार तीन समूहको स्वार्थ बाँधिएपछि हेमराजको हत्या गरियो ।
यद्यपि प्रहरी अधिकारीहरु चेन अफ कमान्डका कारण औपचारिक रुपमा यो कुरा बोल्दैनन् । उनीहरुका अनुसार, दाङमा खुमबहादुरको नजिक को बन्ने भन्ने राजनीतिक प्रतिस्पर्धा, भारतीय व्यापारी निर्मलसिंह भंगुसँग को नजिक बन्ने भन्ने होड र तुलसीपुरका गुन्डा कसले कब्जा गर्ने भन्ने स्पर्धाले तीनवटै समूह मिलेर योजनामै उनको हत्या गरिएको अनुमान छ ।