सल्यान । सल्यानका सात सय बढी घर परिवार पहिरोको जोखिममा रहेको देखिएको छ । वर्षा शुरु भएसँगै ठाउँठाउँमा पहिरो जाने क्रम शुरु भएसँगै जिल्लाका सात सय भन्दा बढी घर परिवार पहिरोको जोखिममा रहेको भूसंरक्षण कार्यालयले सल्यानले जनाएको छ ।
जोखिममा रहेका बस्तीहरुमा कपुरकोट गाउँपालिकाको कपुरकोट बजार, बागचौर नगरपालिकाको बाँफुखोला र कोटबारा, बनगाड कुपिण्डे नगरपालिकाको ब्युरेनी, निगालचुला र भदाले लगायतका छन् । ति बस्तीमा बसोबास गर्ने सात सय बढी घर परिवार पहिरोको जोखिममा रहेको कार्यालय प्रमुख वीरेन्द्र प्रसाद पटेलले बताए ।
जंगल मासेर सडक निर्माण गर्ने क्रम पछिल्लो समय बढ्दै गएका कारण पहिरोको जोखिम बढाएको उनको भनाई छ । चुरे क्षेत्र र पहाडी बस्ती भएकाले पहिरोको जोखिमअनय जिल्लाको तुलनामा यस जिल्लामा बढी छ उनले भने ।
जिललामा जोखिममा रहेका बस्तीहरु मध्ये छत्रेश्वरी गाउँपालिकाको खर्सुबास गाउँ पहिरोको उच्च जोखिममा परेको छ । प्रत्येक वर्ष वर्षायाममा जस्तै यस वर्ष पनि यहाँ पहिरो जाने क्रम शुरु भचएको छ स्थानिय टिकाराम पुनले भने बस्ती बगाउने खतरा बढेकोले हामीहरु त्रसित अवस्थामा छौँ । तीन वर्षदेखि वर्षाको समयमा आफुहरुले पहिरोका कारण ठूलो क्षति बेहोर्नुपरेको स्थानीयले बताए ।
निरन्तर झरिरहेको खर्सुवास पहिरोले बस्ती छुन थालेकाले वर्षातको शुरुवात संगै गाउँ आसपास जान कठिनाइ भएको स्थानीयवासि पुनले बताए । ‘पानी पर्न थालेपछि मनमा चिसो पस्न थाल्छ,’ पुनले भने, ‘पहिरोको डरले कति पानी परेको दिन त रातभर जाग्राम बस्ने गरेका छौं ।’पहिरोको उच्च जोखिममा भएपनि वैकल्पिक व्यवस्था नहुँदा जोखिम मोलेरै गाउँमा बस्न बाध्य भएको उनले बताए । खर्सुवास गाउँमा २०६९ सालमा गाउँको बीच भागबाट ठूलो पहिरो गएको थियो । त्यसपछि बर्सेनी पहिरो खस्ने क्रम नरोकिएको उनको भनाइ छ । पहिरोले गत वर्ष खोला नजिकैका पाँच घट्ट र दुई घर बगाएको थियो ।
पहिरोका कारण कपुरकोट बजार समेत उच्च जोखिममा परेको छ । वर्षात शुरु भएपछि सो क्षेत्रमा जमिन मुनिबाट माटो बग्ने गर्दछ । जस्का कारण कपुरकोट बजारनै पहिरोको जोखिममा रहेको स्थानीयको भनाई छ । गत वर्षको वर्षातमा सो क्षेत्रमा राप्ती लोकमार्गको झन्डै सय मिटर भाग भासिएको थियो भने नजिकै रहेको कालिका मा.बि.का तीनवटा भबन भासिएर भत्किदा एक करोड बराबरको क्षती भएको थियो । वर्षेनीको लगातारको पहिरोले बजार आसपासका ४ हेक्टर खेती योग्य जमिन समेत बगाएको स्थानीय खिमलाल गिरीले बताए ।
यस क्षेत्रमा सबै भन्दा कमजोर र लेसिलो माटो भएको हुदा सानो पानी परेमा पनि बग्ने गरेकाले वर्षतमा खतरा बढ्ने संकेत रहेको उनको दावी छ । प्रत्येक बर्ष भु–संरक्षण कार्यालयले जाली तथा माटो समाउने बिभिन्न खाले बिरुवा रोप्दै आएको छ जस्का कारण यस वर्ष भने केही राहत भएको उनले बताए ।
‘बजारको तल्लो छेउमा पहिला खेतीपाती गर्ने जग्गा मात्र नभएर फुटबल तथा भलिबल खेल्ने मैदान थियो । मैदानमा स्थानियबासिहरु फुटबल, भलिबल खेल्थे । अहिले ती जग्गाको नामै छैन, गत वर्षको पहिरोले सबैै बगिसकेको छ स्थानिय घनश्याम शर्माले भने ।’