पोखरा । गण्डकी प्रदेशका मुख्यमन्त्री एवं नेपाल कम्युनिष्ट पार्टी (नेकपा) स्थायी कमिटी सदस्य पृथ्वीसुब्बा गुरुङले पुष्पलालका विचार वर्तमानमा पनि उत्तिकै सान्दर्भिक भएको बताउनुभएको छ ।
पुष्पलाल अध्ययन केन्द्रद्वारा पोखरा लेखनाथ महानगरपालिका–२१ फेदीपाटनमा ४०औँ पुष्पलाल स्मृति दिवसका अवसरमा आइतबार आयोजित श्रद्धाञ्जलि एवं वृक्षरोपण कार्यक्रममा उहाँले पुष्पलालले नेपाली कम्युनिष्ट आन्दोलनमा गर्नुभएको योगदानको जगमा देश वर्तमान अवस्थासम्म आइपुगेको बताउनुभयो ।
पुष्पलाल समग्र नेपाली कम्युनिष्ट आन्दोलनको नेता भएको उल्लेख गर्दै उहाँले पुष्पलालका सम्बन्धमा सम्पूर्ण कम्युनिष्टको साझा धारणा हुनुपर्नेमा जोड दिनुभयो । देश र जनताको पक्षमा कम्युनिष्टहरु एकाकार हुनुपर्ने बताउँदै मुख्यमन्त्री गुरुङले त्यसले मात्र पुष्पलालप्रति सच्चा सम्मान हुने धारणा राख्नुभयो ।
पुष्पलाल अध्ययन केन्द्रका अध्यक्ष एवं नेकपाका केन्द्रीय सदस्य खगराज अधिकारीले पुष्पलालका विचारका जगमा नै नेपालको कम्युनिष्ट आन्दोलनले सफलता प्राप्त गर्दै गएको बताउँदै अध्ययन केन्द्रलाई पुष्पलालका विचार अध्ययन एवं अनुसन्धान गर्ने स्थलका रुपमा विकास गर्न लागिएको बताउनुभयो ।
गण्डकी प्रदेशका भौतिक पूर्वाधार तथा विकासमन्त्री रामशरण बस्नेतले मुलुकमा वामपन्थी शक्ति र लोकतन्त्रवादी शक्ति एक भएकै कारण राजनीतिक आन्दोलनले सफलता प्राप्त गरेको बताउँदै समृद्धि र विकासका लागि पनि एकजुट हुन आवश्यक भएको औँल्याउनुभयो ।
उहाँले पुष्पलालले नेपालको राजनीतिक परिवर्तनमा पु¥याउनुभएको योगदान चिरकालपर्यन्त रहिरहने बताउनुभयो । कार्यक्रममा नेकपाका केन्द्रीय सदस्य तुलबहादुर गुरुङ, सीता गिरी, भीम कार्की, राजकाजी गुरुङ, बखानसिं गुरुङ, प्रदेश सभासद् कृष्ण थापालगायतले नेपाली राजनीतिमा पुष्पलालले पु¥याउनुभएको योगदानबारे चर्चा गर्नुभएको थियो ।
उक्त अवसरमा चाँप, तेजपात, खयरलगायतका विभिन्न जातका १०० भन्दाबढी बिरुवा रोपिएको थियो ।