काठमाडौं । भारतीय टेलिभिजन जिटिभीले आयोजना गर्दै आएको प्रतिष्ठित ‘जी सिने अवार्ड’ यस वर्ष नेपालमा हुने भएको छ।
यसबारेमा छलफल गर्न नेपाल आएको जी टेलिभिजनका प्रतिनिधिले प्रधानमन्त्री केपी शर्मा ओलीलाई नै भेटेर यस वर्षको ‘जी सिने अवार्ड’ कार्यक्रम नेपालमा आयोजना गर्ने विषयमा जानकारी गराएका हुन् ।
जिटिभीका एमपी सुभाष चन्द्र, डा अमर सिंह, एसेल ग्रुपकी अध्यक्ष तथा जिटिभी नेटवर्ककी संस्थापक एक्स एम पिर तथा नायिका जया प्रदा लगायतको टोलीले प्रधानमन्त्री ओलीसँग भेटवार्ता गरेका हुन् ।
अवार्ड कार्यक्रम सन् २०१८ को अन्ततिर हुनेछ। यसअघि भारतीय कलाकारहरुको मात्र संलग्नता रहने यस अवार्ड कार्यक्रममा यस वर्ष भने नेपाली कलाकारकहरुले समेत स्थान पाउनेछन्। जसका लागि नेपाली फिल्मक्षेत्रको प्रतिनिधित्व गर्दै एक अवार्डको व्यवस्था गरिनेछ।
प्रधानमन्त्री ओलीसँगको भेटअघि भारतीय समूह फिल्मसिटी निर्माणका लागि गोरखाको पालुङटार र धादिङको सल्यानटारको स्थलगत अध्ययन गरी फर्किएको थियो। अध्ययनपछि जि इन्टरटेनमेन्ट इन्टरप्राइजका अध्यक्ष सुवास चन्द्रले पालुङटारको नदीदेखि पहाडसम्मको सुन्दर परिवेशले आफूलाई आकर्षित गरेको जानकारी गराए।
जिटिभीको टोली र प्रधानमन्त्री ओलीबीचको भेटघाट कार्यक्रममा पर्यटनमन्त्री रविन्द्र अधिकारीका साथै कलाकारहरू निर शाह, शिव श्रेष्ठ, भुवन केसी, निखिल उप्रेती, झरना थापा, सञ्चिता लुइँटेल, राष्ट्रियसभा सदस्य एवं गायिका कोमल वली, संगीतकार शम्भुजित बाँस्कोटा, निर्माता केशव भट्टराई, निर्देशक दिनेश डिसी लगायतको उपस्थिति थियो।