बसन्त लिम्बू
ताप्लेजुङ । २ सयभन्दा बढी युवा कर्णालीवाट ताप्लेजुङ आएर शिक्षक सेवा आयोगको प्राथमिक तहको दरखास्त दिएका छन् ।
आयोगले पिछडिएको क्षेत्रका लागि छुट्याएको आरक्षण कोटाका लागि फारम भर्न युवाहरु आएका हुन् ।सरकारले हुम्ला, जुम्ला, मुगु, डोल्पा, कालिकोट, अछाम, जाजरकोट, बझाङ, सुर्खेत र बाजुरा जिल्लालाई पिछडिएको क्षेत्र घोषणा गरेर आरक्षण दिएको छ ।सोहि आरक्षण कोटामा फारम भर्न सुदुरपश्चिम कर्णालीवाट ४–५ दिनको वाटो धाएर ताप्लेजुङ सम्म आईपुगेको उनिहरुको भनाई छ ।
उनीहरुले असोजमा परीक्षा लेख्न ताप्लेजुङ नै आउनुपर्ने भएको छ । यता आयोगले ताप्लेजुङमा पिछडिएको क्षेत्रका लागि चारवटा कोटा छुट्याएको छ । तर, यो पदका लागि फारम भर्नेको संख्या २ सय ४१ पुगेको शिक्षा विकास तथा समन्वय इकाइ ताप्लेजुङले जनाएको छ ।
यहाँ प्राविको खुलासहित आरक्षणका जनजाति, मधेसी दलित, मुस्लिम, अपांगता, महिला कोटामा पनि मागभन्दा धेरै गुणा बढी आवेदन परेको छ ।