प्रेम बुढा
-बर्दिया मधुवनकी सुस्मिता खत्री(नाम परिवर्तन)को एक जना व्यक्तिसँग फेसबुकमा भेट भयो । सामान्य गफ गाफसंगै शब्दबाट सुरु भएको सम्बन्ध ईमो मार्फत आवाजमा जोडियो । लगातार ईमो मार्फत फोन सम्पर्क हुन थाल्यो । सामाजिक सञ्जाल मार्फत जोडिएको सम्बन्धले झण्डै ८ महिना पुरा गर्दै थियो । ती व्यक्तिले आफु बाँके जिल्लाको भनेर चिनाएका थिए ।
त्यस बीचमा ती व्यक्तिले सुस्मितासँग थोरै–थोरै रकम माग्न थाले । घरमा आर्थिक समस्याको परिबन्धमा परेको महशुस गर्ने सुस्मितालाई मिठा कुरा, सुनौला सपनाको जालमा बेरिएको आभाष भयो तर उम्किनै नसक्ने गरी विश्वासले थिच्यो । अपरिचित व्यक्तिले देखाएको सपना साकार हुने विश्वास बढ्यो । ‘मैले गाउँघर र विभिन्न संस्थाबाट ऋण निकालेर त्यसलाई पैसा दिँदै गए’सुस्मिता भन्नुहुन्छ, ‘घरमा कसैलाई थाहा नदिएर मैले उसलाई दिएको रकम झण्डै २ लाख रुपैयाँ पुगिसकेको थियो ।’ सुस्मिताले ती व्यक्तिसँग आफ्नो पैसा फिर्ता दिन आग्रह गर्नुभयो तर उसले पैसा फिर्ता गर्न नसक्ने बरु विदेश जाने भए राम्रो घरमा धेरै तलबमा काम लगाइदिने भन्यो । सुस्मिताले असहमति जनाउनुभयो ।
उसले भन्यो, ‘काठ्माडौंबाट लैजान्छु, कुवेतमा राम्रो काम पाईन्छ, कुनै समस्या हुँदैन ।’
विना कारण घरमा २ लाख रुपैयाँ ऋण लाग्यो । त्यो कुरा श्रीमानलाई समेत थाहा थिएन । सुस्मिताले भन्नुभयो, ‘कुवेत गएर पैसा कमाएर त्यहीं ऋण तिर्छु भनेर त्यसको कुरा मानेकी हुँ’ श्रीमानलाई थाहा नै नदिइ माइति तिरको भाई र त्यस व्यक्तिको सहयोगमा पासपोर्ट बनाएको उहाँको भनाइ छ । जाने निश्चित भएपछि सुस्मिताले गाउँकै नम्रता वि.सी.(नाम परिवर्तन)लाई सबै कुरा भन्नुभयो । घरमा स—साना छोरी तथा कामको शिलशिलामा श्रीमान घर बाहिर थिए नम्रताका ।
सुस्मितासँगै पछि लागिन् नम्रता । अर्कैको पासपोर्टमा फोटो राखेर पठाउने गरी कागजात तयार दलालले तयार पार्यो । गत असार २३ गते दुवैजना घरबाट निस्किए । दलालले भन्यो काठमाडौं विमानस्थलबाट जान समस्या हुने भो दिल्ली भएर जानु पर्नेभो । सुस्मिताले भन्नुभयो, ‘बाँकेमा भएको आफ्नो घर देखाइ दिन्छु भन्थ्यो, तरपछि ढिलो भईसक्यो पछि देखाउँछु भन्दै रुपैडिहा नाकाबाट भारत लग्यो ।’ बनारसको एक घरको कोठामा थुनियो जँहा त्यस्तै प्रलोभनमा परेर आएका १ सय ५० बढी महिला राखिएको थियो ।
सुन्दरी भन्ने नेपाल कै एक महिलाले तिमीहरुलाई ल्याउने व्यक्तिले मोटो रकम लिएर गैसक्यो भनेपछि मात्र त्यो व्यक्ति दलाली भएको थाहा पाएको सुस्मिताको भनाइ छ । उँहाले सम्झनुभयो, ‘सधैं नेपालका महिला ल्याउथ्ये, कसैलाई होटेलमा पठाउँथे, कसैलाई दिल्ली ।’ आफुहरु बेचिएकोमा पश्चाताप भएपनि सजिलै उम्किन सक्ने स्थिति थिएन ।
कसोकसो गरी सुस्मिताले घरमा रहेका श्रीमानलाई फोन गरेर आफुहरु बनारसमा घर भित्र बन्धक बनाइएको खबर गरेपछि घटना बहिरिएको थियो । जनतासमाचारले सुस्मितासँग भएको कुराकानीलाई पुष्टि गर्दै समाचार प्रकाशन गरेपछि बनारसमा रहेका दलालीहरुबीच हलचल भयो ।
माइती नेपाल, जिल्ला प्रशासन कार्यालय तथा परराष्ट्र मन्त्रालयले उद्धारको प्रयास थाले । सुस्मिताले भन्नुभयो, ‘खबर बाहिर पु¥याएको भन्दै सुन्दरी भन्ने महिलाले मार्ने धम्की दिइन् । सबैले सम्झाए पछि रातारात २ जनालाई नेपाल फिर्ता पठाइदिए ।’ साउन १ गते सुस्मिता र नम्रता मात्रै घर फर्किएका थिए ।
प्रशासनको पहल
भारतीय पक्षसँगको लगातारको कुराकानीका आधारमा बन्धक बनाइएका चेलीको उद्धारका लागि नेपाली टोली गत शनिवार बनारसको नटकनियामा प्रस्थान गरेको थियो । रेस्क्यू टोलीले बनारसमा त्यहाँका प्रहरीसँगको सहयोगमा अप्रेसन गर्दा ५ जना भारतीय नागरिक पक्राउ गरेको बर्दियाका प्रहरी नायव उपरीक्षक युवराज खड्काले जानकारी दिनुभयो ।
पक्राउ परेकाहरुको नाम त्यँहाको प्रहरीले गोप्य राखी मुद्धा चलाएको उहाँको भनाइ छ । नेपाली महिलालाई बन्धक बनाइ राखिएको घरबाट दलालहरुले अन्यत्र स्थानान्तरण गरेका कारण नेपाली टोली त्यसै फर्किएको छ । बन्धक बनाई राखिएको स्थान एकिन नहँुदा उद्धार कार्य ढिलो भएको थियो । जसका कारण महिलाहरुको उद्धार गर्न नसकिएको प्रमुख जिल्ला अधिकारी राम बहादुर कुरुम्वाङ्गले बताउनुभयो ।
दलालको को हो ?
नेपाली महिलालाई विभिन्न प्रलोभन देखाई भारत हुँदै कुवेत लैजाने भनि भारतमा नै बेच्ने र अलपत्र पार्ने मध्येका संन्दिप महत सिरहा जिल्लाको गोगनपुरबासी भएको अनुमान गरिएको छ । पीडित सुस्मितालाई नेपाली मुलकी भारत बस्ने एक महिलाले दिएको जानकारीका आधारमा निजको नाम संजिव महतो भएको बताइएको छ ।
दलालका बाजे डाक्टर पेसामा छन्, भने बुवा को ४÷५ महिना अघि मृत्यु भएको बताइएको छ । यता दलाली संन्दिप महतले महिलाहरुलाई बाँकेको नेपालगञ्ज चाँदनी चोक तथा खजुरा जि गाउँ भन्ने फरक–फरक ठेगाना दिने गरेकोे स्थानीय निम बहादुर खड्काले बताउनुभयो ।