काठमाडौं । नेपाली चलचित्र सुश्री सम्पत्तिको पहिलो गीत हुकुम बक्सस्योस् रिलिज गरिएको छ ।
बुधबार राजधानीमा आयोजित पत्रकार भेटघाटमा चलचित्रको गीत रिलिज गरिएको हो । राजन इशानको एरेन्ज, सुरेश अधिकारीको शब्द संगीत रहेको गीतमा मेलिना राई र बिशाल राईको स्वर रहेको छ । गायक राईको पाश्र्व गायनमा यो डेब्यू हो ।
पाटन दरवार क्षेत्रमा छायांकन गरिएको यस गीतमा गम्भीर बिष्टको करियोग्राफी रहेको छ । गीतको भिडियोलाई आकर्षक बनाउन उनले निकै मिहिनेत गरेको देखिन्छ । हुकुम बक्सस्योस् गीतमा सलोन बस्नेत,सारा सिरपाइली र बिनोद न्यौपाने फिचरिङ छन् ।
पहिलो चलचित्र अर्धकट्टीबाट असफलता हात पारेका निर्देशक सुब्रतराज आचार्यको यो दोस्रो चलचित्र हो । यस चलचित्रमा सामाजिक कथाको साथमा भरपुर कमेडी रहेको हुनाले दर्शकहरुले मन पराउने निर्देशक आचार्यले विश्वास व्यक्त गरे ।
नायक सलोन बस्नेतको केही हप्ता अगाडि रिलिज भएको चलचित्र बाबुकान्छा नराम्रोसँग फ्लप भएको थियो । त्यसैले बाबुकान्छा लगत्तै रिलिज हुन लागेको चलचित्र सुश्री सम्पत्तिमा उनको भूमिकाकोबारेमा सञ्चारकर्मीहरुले प्रश्न गरेका थिए । संचारकर्मीको प्रश्न सुश्री सम्पत्तिका टीमलाई भएपनि यसको जवाफ भने कार्यक्रममा आमन्त्रित सलोनका बुबा निर्देशक सोभित बस्नेतले दिएका थिए । उनले कमेडी भूमिका रहेको सलोनका सबै फिल्म हिट भएको र बाबुकान्छामा उनको सिरियस भूमिकालाई दर्शकले खासै मननपराएको स्वीकारे । चलचित्र सुश्री सम्पत्तिमा पनि कमेडी भूमिका नै रहेकोले सलोन र चलचित्र दुवै सफल हुने सलोनका पिता सोभितले दाबी गरे ।
आगामी भदौ २२ गते रिलिज हुने सुश्री सम्पत्ति अर्को प्रतिक्षित चलचित्र रामकहानीसँग जुध्ने भएको छ । तर निर्माता रमेश त्वयनाले चलचित्र सुश्री सम्पत्ति रामकहानीसँग मात्र होइन आइपरे जुनसुकै चलचित्रसँग पनि जुध्न पछि नपर्ने प्रष्ट पारे ।
चलचित्रमा सलोन बस्नेत, सारा सिरपाइली, बिनोद न्यौपानेसंगै राजाराम पौडेल, जयनन्द लामाको पनि मुख्य भुमिका रहेको छ । कार्यक्रममा नायिका सारा भने अस्वस्थताको कारण उपस्थित हुन सकिनन् ।
चलचित्रको निर्माताहरुमा रमेश त्वयना, विज्ञान राई, नुनम सुब्बा,रमन शिलाकार रहेका छन् ।
https://www.youtube.com/watch?v=VFlZtpVbVdw