काठमाडौं । नेपालमा वर्षेनी झण्डै एकसयको हराहरीमा चलचित्र बन्ने गरेका छन् । तर बाल चलचित्रहरु भने खासै निर्माण हुँदैनन् । यही अभावलाई पूरा गर्न ”मेरी मामु” नामक चलचित्र निर्माण गरिएको छ । आसुसेन फिल्मस प्रालीको चौथो प्रस्तुती यही चलचित्र ”मेरी मामु” को शीर्ष गीत शुक्रवार रिलिज गरिएको छ ।
रबि मल्लले रचेको मेरी मामु बोलको गीतमा कल्याण सिहंको संगीत र रोहित जोन क्षेत्रीको आवाज रहेको छ । गीतको भिडियोमा ६ बर्षीय आयुब सेन फिचरिङ छन् । गीतको भाव र मर्म अनुसार स्वभाविक अभिनय गरेका बाल कलाकार आयुबले गीत प्रिमियरमा सहाभागी सबैको मन जिते । उनको अभिनयको सबैले प्रशंसा गरेका थिए ।
चलचित्रलाई यसअघि शंखे चंखे पंखे ,प्रेमगीत र प्रेमगीत २ जस्ता सफल चलचित्रका निर्माता सन्तोष सेनले निर्मण गरेका हुन् । चौथो चलचित्र मेरी मामुमा उनले बालमनोबिज्ञानमा आधारित सामाजिक तथा पारिवारिक कथा बस्तुलाई समेटेका छन् । चलचित्रमा निर्माता सेनका ६ वर्षीय कान्छा छोरा आयुब सेन मूख्य भूमिकामा छन् ।
कार्यक्रममा निर्माता सेनले नेपालमा बाल मनोविज्ञानका चलचित्रहरु निर्माण हुन नसकेको बताए । साथै उनले उल्टै बाल मनोविज्ञानलाई नै खलल पार्ने र बालबालिकाहरुलाई गलत बाटोमा लाग्न प्रेरित गर्ने चलचित्रहरुको निर्माण भइरहेको दाबी गरे । कलिला बालबालिकाहरुलाई लभ गर्ने दृश्यमा प्रयोग गरेर बालअधिकारको हनन भैरहेको उनको तर्क थियो । मेरी मामु विशुद्ध बालमनोविज्ञानमा आधारित रहेको चलचित्र रहेको उनले बताए ।
चलचित्रमा सारुक ताम्राकार,अश्लेषा ठकुरी , कुसुम गुरुङ, दुर्गा मल्लको साथै नेपाली चलचित्र क्षेत्रकी पहिलो नायिका भुवन चन्दको बिषेश भुमिका रहेको छ ।यम थापाको लेखन तथा निर्देशन रहेको मेरी मामु आगामी भाद्र १५ गते अल नेपाल रिलिज हुँदैछ ।
https://www.youtube.com/watch?v=-0RS89XHMQk