सर्वोच्चको निर्णयअनुसार सरकारले जग्गाको मुआब्जा दिन नसक्ने भएपछि २२ मिटर चौडाइको सडक बिस्तार योजना घटाएर सरकारले ८ मिटरमा सीमित गर्ने सोच बनाएको हो
-अर्जुन थपलिया
सर्वोच्च अदालतले सडक बिस्तार गर्न ‘जग्गाधनीलाई मुआब्जा दिएर जग्गा प्राप्ति गर्नू’ भन्ने फैसला दिएपछि कलंकी नागढुंगा ९ किलोमिटर सडकको भविष्य अन्यौलमा परेको छ । सर्वोच्चको निर्णयअनुसार सरकारले जग्गाको मुआब्जा दिन नसक्ने भएपछि २२ मिटर चौडाइको सडक बिस्तार योजना घटाएर सरकारले ८ मिटरमा सीमित गर्ने सोच बनाएको हो ।
सरकारले ७ वर्षअघि कलंकी नागढुंगा ९ किलोमिटर सडकलाई २२ मिटर चौडाइमा बिस्तार गर्ने योजनासहित ठेक्का लगाएको थियो । तर स्थानीयले २२ मिटरभित्र पर्ने घर भत्काउन र जग्गा दिन मानेनन् । सरकारले घर तथा जग्गाको मुआब्जा नदिने भएपछि सडक निर्माण तथा बिस्तारमा स्थानीयले अवरोध गरे । अवरोध हटाउन सरकारले प्रहरी परिचालन गरेपछि स्थानीयले सरकारविरुद्ध सर्वोच्चमा मुद्दा दायर गरे । सर्वसाधारणले हालेको मुद्दामा सुनुवाई गर्दै सर्वोच्चबाट ‘घर नभत्काउनू’ भनेर अन्तरिम आदेश भएको थियो । सर्वोच्चको अन्तरिम आदेशले सडक निर्माणको काम लगभग ५ वर्ष रोकियो । यो साता सर्वोच्चले गरेको फैसलाको पूर्णपाठ आयो । फैसलाको पूर्णपाठमा सडक बिस्तार गर्न जग्गा तथा घरधनीलाई उचित मुआब्जा दिएर जग्गा प्राप्ति गर्नु भन्ने सरकारलाई आदेश गरिएको छ ।
मुआब्जामा अरु ३ वर्ष लाग्नेकाठमाडौं उपत्यका सडक विस्तार आयोजना बानेश्वरका आयोजना प्रमुख दीपक केसी भन्नुहुन्छ, ‘सरकारले फैसलाको न्यायिक पुनरावलोकन गर्न सर्वोच्चमा पुनः निवेदन गर्ने निर्णय गरेको छ । पुनरावलोकन प्रकृयाबाट पुनः न्याय सम्पादित भयो भने सडक २२ मिटर चौडाइमै बिस्तार हुन्छ । अन्यथा सरकारले ९ किलोमिटर क्षेत्रको घर र जग्गाको मुआब्जा दिन नसक्ने भएको छ । सडकको चौडाइ ८ मिटरमा सीमित गरी योजना सम्पन्न गरिने छ ।’ सडकका कारण शहरको सौन्दर्य बढ्ने कुरा त्यागेर जहाँ जति सम्भव छ त्यति नै चौडाइको सडक बनाइने र आवागमन निर्बाध पार्ने योजना बनाइएको छ ।
आयोजना प्रमुख केसी भन्नुहुन्छ, ‘मुआब्जा दिएर जग्गा प्राप्ति नै गर्ने हो भने पनि अर्को २–३ वर्ष प्रक्रिया पु¥याउनै लाग्छ । त्यसकारण एक वर्षभित्र जहाँ जति साइट क्लियर छ, त्यहाँ त्यति नै चौडाइको सडक बिस्तार गरेर ठेक्का टुग्यांउने निर्णय भएको छ ।’
कलंकी नागढुंगा सडक बिस्तार कार्यको ठेक्का शून्यदेखि ३ किलोमिटर सेक्टरको जिम्मा शर्मा सैलुङ कान्छाराम जेभीले, ३ देखि ६ किलोमिटर सेक्टर लुम्बिनी शैलुङ जेभी र ६ देखि ९ किलोमिटर सेक्टर शर्मा शैलुङ कान्छाराम जेभीले लिएको छ ।
सकेजति कालोपत्रे गरः मन्त्रीशनिबार कलंकी नागढुंगा सडकखण्ड अनुगमन गर्न पुग्नुभएका भौतिक पूर्वाधार तथा यातायातमन्त्री रघुवीर महासेठले भदौ १२ गतेसम्ममा दुई लेन सवारी साधन पास हुने ८ मिटर चौडाइको सडकमा खाल्टाखुल्टी, धूलो र हिलो नहुने व्यवस्था गर्न निर्देशन दिनुभयो । मन्त्री महासेठले आगामी एक वर्षभित्र जहाँ जति साइट क्लियर छ, त्यहाँ त्यति नै कालोपत्रे गरिसक्न आयोजना र ठेकेदार कम्पनीहरुलाई निर्देशन दिनुभयो । मन्त्री महासेठले स्थानीय एकत्रित भएको स्थलमै उभिएर निर्देशनबमोजिम समयमा काम सम्पन्न नभए ठेकेदार र आयोजनाका जिम्मेवार अधिकारी कारबाहीको भागिदार हुने चेतावनी दिनुभयो ।
मन्त्रीको चेतावनीमा लुम्बिनी शैलुङ जेभीका ठेकेदार शारदा अधिकारीको जवाफ थियो, ‘मन्त्रीज्यू, साइट क्लियर गरेर दिनुस्, ६ महिनामै सम्पूर्ण काम सकेर जिम्मा लगाउँछौ ।’ भदौ १२ गते सडकलाई धूलोहिलो र खाडलमुक्त बनाउन सम्भव नभएको ठेकेदारको जिकीर छ । सरकारले नै तीन महिनासम्म खोलाबाट गिटी र बालुवा झिक्न प्रतिबन्ध लगाएको ठेकेदारको तर्क छ ।
गर्भपातयुक्त यात्राप्रदेश नम्बर ३ की सांसद रमा आलेले मन्त्री महासेठलाई खाल्टाखुल्टी भएको कलंकी नागढुंगा सडकमा यात्रा गर्दा थुप्रै दिदीबहिनीको गर्भ तुहिएको पीडा दर्शाउनुभयो । सडक निर्माणमा ढिलाई गरे स्थानीयले जनप्रतिनिधिलाई देख्नासाथ ढुंगा हान्ने स्थिति आएको उल्लेख गर्नु भयो ।
ठेकेदारलाई लखेटियोशर्मा शैलुङ कान्छाराम जेभीलेका कोअर्डिनेटर रमेश सुवेदीले भन्नुभयो, ‘सरकारले सम्झौता भएको ६ महिनामा साइट क्लियर गरेर दिने सम्झौताको शर्तमा उल्लेख छ । तर ६ वर्ष बित्दा पनि साइट क्लियर गराउन सकेन ।’ विद्युत्, टेलिफोनका खम्बा र खानेपानीका पाइपलाइन सार्ने कार्यमा पनि सरोकारवाला निकायसँग समन्वय गर्न सरकारलाई २ वर्ष लागेको ठेकेदारको तर्क छ । ‘स्थानीयले मुआब्जा मागेर अवरोध गरेनन् मात्र, साइटमा जाँदा ढुंगा हानेर लखेटियो,’ सुवेदीले भन्नुभयो, ‘तर यहाँ ठेकेदारले काम गरेन भनेर एकोहोरो लखेट्ने काम मात्र भइरहेको छ ।’
ठेक्का लागेको तीन वर्षभित्र कलंकी नागढुंगा सडक निर्माण सम्पन्न हुने सम्झौता थियो । सडक बनाउने नाममा भएको अनेक व्यवधानले कलंकीबाट नागढुंगा ९ किलोमिटर पार गर्न ५ घण्टासम्म लाग्ने गरेको छ । स्थानीयले उस्तै सास्ती पाएका छन् । राजधानी प्रवेश गर्ने मूलनाका कलंकी नागढुंगा सडक कहिले बन्ला ?
तस्बिरः अनुगमनमा पुगेका मन्त्री रघुवीर महासेठ ।