काठमाडौं । बाँकेको नेपालगन्जमा बहुभाषिक कवि गोष्ठीसहित प्रेमप्रकाश मल्ल ‘मधुकर’को ८३ औँ जन्मजयन्ती मनाइएको छ ।
भेरी साहित्य समाजद्वारा आयोजित समारोहमा नेपाल प्रज्ञा प्रतिष्ठानका सदस्य सचिव तथा त्रिभुवन विश्वविद्यालयका प्राध्यापक डा. जीवेन्द्र देव गिरीलाई २५ हजार १ सय ११ रुपैयाँ राशिको प्रेमप्रकाश मल्ल ‘मधुकर’ पुरस्कार प्रदान गरिएको छ । समाजका अध्यक्ष प्राज्ञ हरिप्रसाद तिमिल्सेना र संस्थापक वाणीश्री मल्लले गिरीलाई दोसल्ला ओडाई ताम्रपत्रसहित सम्मान गर्नुभयो ।
सम्मानित स्रष्टा गिरीले बाँके जिल्ला साहित्य, संस्कृति तथा लोकसाहित्यको अपार सम्भावना भएको जिल्ला भएको बताउँदै नेपाली साहित्यको विकासका लागि प्रज्ञा प्रतिष्ठानले गरेका गतिविधिको चर्चा गर्नु भयो । कार्यक्रममा वरिष्ठ कथाकार सनत रेग्मी, महेन्द्र बहुमुखी क्याम्पस नेपालगन्जका क्याम्पस प्रमुख गणेशकुमार रेग्मी, प्रेमप्रकाश मल्ल स्मृति पुरस्कार कोषका संस्थापक छोरी वाणीश्री मल्लले स्वर्गीय मल्लको साहित्यिक जीवनबारे बोल्नु भएको थियो ।
कार्यक्रममा सर्वदा संगम साहित्यका अध्यक्ष खगेन्द्र गिरी कोपिलाले गायक, रचनाकार तथा संगीतकार स्वर्गीय प्रेमप्रकाश मल्ल ‘मधुकर’को जीवनीबारे प्रकाश पार्नु भएको थियो ।
कार्यक्रममा प्रा.डा. गोपालप्रसाद अधिकारी, भेरी साहित्य समाजका सल्लाहकार तथा वरिष्ठ पत्रकार पूर्णलाल चुके, हाम्रो पूर्णिमा साहित्य समाज कोहलपुरका अध्यक्ष महानन्द ढकाल, चरित्रा शाह, कमल विष्ट, जगत तिमिल्सिना, अन्जुमन उर्दू अदबका अध्यक्ष अन्सर नेपाली, बार्दली फाउन्डेसनकी अध्यक्ष ऋचा लुइटेल, ईश्वर रिजाल, अवधी साँस्कृतिक बिकास परिषद्का अध्यक्ष सच्चिदानन्द चौबे, अवधी साँस्कृतिक प्रतिष्ठानका अध्यक्ष विष्णुलाल कुम्हार, करिश्मा योगी, शिशिर सापकोटा, अलाउद्दीन स्मृति साहित्यिक सम्मान प्रतिष्ठानका अध्यक्ष असफाक संघर्ष, सर्वदा साहित्य संगमका सचिव श्रीधर भण्डारी, पूर्ण समीर महतरा, ज्ञानेन्द्र बहादुर सिंह, दलजीत, पुष्पमणि प्रधान, भोजराज प्याकुरेल लगायतले रचना वाचन गर्नुभएको थियो ।