-शिलु अधिकारी
काठमाडौं । काठमाडौंमा राष्ट्रिय सारंगी उत्सव सम्पन्न भएको छ । शनिबार कल्याण शेरचनको ७२ औैं स्मृति दिवसको सन्दर्भमा राष्ट्रिय सारंगी उत्सवको आयोजना गरिएको हो । जमलस्थित सांस्कृतिक संस्थान, नाचघरमा सम्पन्न कार्यक्रममा नेपाल अधिराज्यका ख्यातिप्राप्त सारंगीवादकहरुले बेजोड प्रस्तुति प्रस्तुत गरेका थिए ।
कल्याण शेरचन स्मृति प्रतिष्ठान र साँस्कृतिक संस्थानको सहकार्यमा कार्यक्रमको आयोजना गरिएको कार्यक्रममा ७ वटै प्रदेशका गरी २० जना सारंगीवादकहरुले सहभागीता जनाएका थिए ।
सोही अवसरमा रेडियो नेपालबाट अवकास प्राप्त सारंगीवादक, लोक गायक एवं बाटो छ भिरालो, जिरा मरिच र रेलको ढोका बन्द जस्ता चर्चित गीतका सर्जक÷गायक कृष्णबहादुर गन्धर्वलाई नगद २५ हजार रुपैयाँसहित सम्मान गरिएको थियो ।
कार्यक्रमका प्रमुख अतिथि, संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री रविन्द्र अधिकारीले संस्कृति जगेर्नाका लागि नयाँ पुस्तालाई हस्तान्तरण गरिनुपर्ने आवश्यकता औंल्याउनुभयो । त्यसका लागि मन्त्रालयको साथ रहने मन्त्री अधिकारीले प्रतिवद्दता व्यक्त गर्नुभयो ।
कार्यक्रममा हिमाली साँस्कृतिक परिवारका कलाकारहरुबाट स्रष्टा कल्याण शेरचनको गीतमा नृत्य समेत प्रस्तुत गरिएको थियो । प्रस्तुती हेर्नका लागि लोकगायक बद्रि पंगेनी, बिमाकुमारी दुरा, लोचन भट्टराई, मिथिला शर्मा लगायतका चर्चित कलाकारहरुको समेत उपस्थिति रहेको थियो ।
नेपालीहरुको मौलिक बाजा सारंगी लोपोन्मुख अवस्थामा भएका कारण यसको संरक्षणका लागि राष्ट्रिय सारंगी उत्सवको आयोजना गरिएको प्रतिष्ठानका उपाध्यक्ष ज्ञानबहादुर थापाले बताउनुभयो । प्रतिष्ठानद्वारा शेरचनको जन्मजयन्ती र स्मृति दिवसमा विशेष कार्यक्रमहरुको आयोजना गरिंदै आएको छ । प्रतिष्ठानले शेरचनले अंगालेका विधाहरु लोक संस्कृति, शिक्षा तथा खेलकुद क्षेत्रमा योगदान पु¥याएका विभिन्न व्यक्तिहरुलाई सम्मान गर्दै आएको छ ।
विगत वर्षमा नृत्य प्रशिक्षक भैरवबहादुर थापा, फुटबल प्रशिक्षक डम्बरसिंह गुरुङ, शिक्षाविद् बलवीर सिंह नेगी, संगीतकार प्रकाश गुरुङ र खेलाडी एवं प्रशिक्षक खड्गबहादुर रानाभाटलाई सम्मान तथा अभिनन्दन गरिसकेको छ । यस्तै प्रथिष्ठानले पश्चिमाञ्चलस्तरीय साँस्कृतिक कार्यक्रम, भूकम्पपीडित विद्यालयको पुननिर्माण तथा राष्ट्रिय लोकबाजा मादल बादन प्रतियोगिता जस्ता कार्यहरु पनि सम्पन्न गरिसकेको छ ।